• १९ साउन २०८२, सोमबार

यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔँ : मन्त्री दाहाल

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । फाइल तस्बिर ।

काठमाडौँ, साउन १९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी आज आयोजित कार्यक्रममा उहाँले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो । छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । 

अब परम्परागत रूपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रूपान्तरणलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । 

यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई बढाउनु सक्नु बताउनुभयो । मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जापानी सहयोग नियोग (जाइका) तथा दातृनिकायहरूले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा  सहयोग र सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो । 

जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा सहयोग निरन्तर रहने उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार जाइकाले तीन वर्षभन्दा लामो समय लगाएर काठमाडौँको सहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन गरेको हो । ट्राफिक लाइट तथा इन्टरसेक्सन व्यवस्थापनलगायत बारेमा जाइकाले विभिन्न गाइडलाइनसहित सुझाव दिएको छ । रासस