• १९ साउन २०८२, सोमबार

सहजरूपमा मल उपलब्ध गराउन किसान महासङ्घको पहल

blog

मल उपलब्ध गराउन पहल गर्दै किसान महासङ्घ बाँकेको टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १९ गते । बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएकोले नेपाल किसान महासङ्घ बाँकेले तत्काल मल उपलब्ध गराउन आवश्यक पहल गरेको छ । नेपाल किसान महासङ्घ बाँकेले विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रूपमा मल उपलब्ध गराउन पहल गरेको हो । 

महासङ्घको एक टोलीले कृषि सामग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेर किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन दबाब दिएको नेपाल किसान महासङ्घ बाँकेका सचिव ललितकुमार रौनियारले बताउनुभयो । उहाँले किसानलाई तत्काल मल उपलब्ध गराउन उपयुक्त सबै कार्य गरिने आश्वासन कृषि सामग्री केन्द्र नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले दिनुभएको बताउनुभयो । 

"समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई, खाद्य सुरक्षामा समेत समस्या नआउला भन्न सकिँदैन । रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रूपमा मल उपलब्ध गराउन माग गरेका छौं", महासङ्घका सचिव रौनियारले भन्नुभयो । 

अनुदानको मल वितरण गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पाँच हजार बोरा युरिया स्टक रहेको तर लिमिटेडको प्रदेश कार्यालयबाट पत्र नआउदाँ वितरण गर्न नपाएको निमित्त कार्यालय प्रमुख ध्रुवमान श्रेष्ठले बताउनुभएको छ । 

केही मल आउने क्रममा रहेको बताउँदै श्रेष्ठले यसका लागि पहल गरिरहेको जनाउनुभयो । कृषि सामग्री केन्द्र नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले बर्षेनि खेती गर्ने क्षेत्रफल बढ्दो र माग अनुसारको मल प्राप्त नहुँदा मलको अभाव देखिएको जनाउँदै मल ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको हुँदा केही दिनमा थप मल आउने र तत्कालै वितरण गर्ने बताउनुभयो । 

किसान महासङ्घको सोही टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरलाई पनि भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकोले त्यसमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । 

प्रहरी प्रमुख घर्ति मगरले जग्गाको लालपुर्जाको फोटोकपी लिएर १–२ बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएको बताउनुभयो । 

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापती गोपालप्रसाद अधिकारी, नेपाल किसान महासङ्घ बाँके क्षेत्र नम्बर–२ का सभापति सुरेन्द्रकुमार श्रेष्ठ र नेपालगन्ज नगर कार्यसमितिका अध्यक्ष लोकबहादुर शाहले सम्बन्धित निकायको ढिलासुस्तीले किसानले सास्ती खेप्नुपरेको भन्दै रासायनिक मलको सहज उपलब्धता र वितरणका लागि माग गर्नुभएको छ ।