• १९ साउन २०८२, सोमबार

डुम्रे-बेँसीसहर सडकको अँधेरीखोलामा एकतर्फी सञ्चालनमा

blog

बेँसीसहर नगरपालिका–१, उदीपुरस्थित अँधेरी खोलामा लगाइएको ग्याविन जाली । तस्बिर : गोरखापत्र

नवीनराज कुइँकेल

लमजुङ, साउन १९ गते । लमजुङ सदरमुकाम बेँसीसहरदेखि तनहुँको डुम्रे जोड्ने सडक खण्डमा पर्ने लमजुङको बेँसीसहर नगरपालिका–१, उदिपुरस्थित अँधेरी खोलामा अवरुद्ध सडक २६ दिनपछि सञ्चालनमा आएको छ ।

सडक छेउबाट सुख्खा पहिरो खसेपछि गत असार २४ गतेदेखि सडक अवरुद्ध भएको थियो । थप क्षति नहोस् भनेर सवारी आवागमन बन्द गरी पहिरो गएको स्थानमा ग्याविन जालीको टेवा पर्खाल लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले आइतबार साँझदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार सबै प्रकारका सवारी साधन एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । 

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले ग्याविन टेवा पर्खाल लगाउने काम सकिएकोले अब प्लम्बिङ पर्खालसँगै सुरक्षाका लागि प्याराफिट ब्लक राख्ने तयारी भइरहेको बताउनुभयो । अधिकारीका अनुसार सडकको बचाउका लागि ८० मिटर तलबाट ग्याविन जाली लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहराअनुसार, पहिरोले सडक भासिएपछि असार २४ गतेयता नेपाली सेनाको चण्डी प्रसाद गण उदीपुर ब्यारेकमार्फत वैकल्पिक बाटो सञ्चालन गरिएको थियो । अहिले भने मुख्य सडकबाटै सवारी आवागमन सुचारु गरिएको छ ।