• ९ मंसिर २०८१, आइतबार

अर्घाखाँचीमा रायमाझी र भुषालको उम्मेदवारी दर्ता

blog

गणेश खनाल

अर्घाखाँची, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट अर्घाखाँचीमा टोपबहादुर रायमाझीले मनोनयन दर्ता गर्नुभएको छ । 

प्रतिनिधि सभाको सदस्यमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव रायमाझीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले जानाकारी दिनुभयो ।

एमालेले प्रदेशसभा (क) मा पूर्व प्रदेशमन्त्री तथा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा निवर्तमान प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।  

२०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा रायमाझी माओवादी केन्द्रबाट, घिमिरे र आचार्य एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । 

कांग्रेसबाट भुसालको उम्मेदवारी

यसैबीच नेपाली कांग्रेसको तर्फबाट अर्घाखाँचीको प्रतिनिधिसभा सदस्य पदमा केन्द्रीय सदस्य पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धन दलको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

प्रदेश सभाको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुरकुमार विकले प्रदेश (क) मा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेश सभा (ख) मा नेपाली कांग्रेसको तर्फबाट पूर्व जिल्ला सभापति तथा निर्वतमान सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।