• ११ असोज २०८१, शुक्रबार

इलामबाट खनाल र नेम्वाङको उम्मेदवारी दर्ता

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), असोज २३ गते । आउँदो मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि इलाममा आइतबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दुई वटा क्षेत्रमा गठबन्धन र नेकपा (एमाले) बीच इलाममा रोचक भिडन्त हुने देखिएको छ ।

एमाले नेता तथा पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ र नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँहरूसँग भिड्न काँग्रेस र एमालेले नयाँ अनुहारलाई मैदानमा उतारेका छन् । 

इलाम क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवार झालनाथ खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले प्रतिस्पर्धा गर्नुहुने भएको छ । क्षेत्र नम्बर २ बाट भने पूर्वसभामूख सुभाष नेम्बाङसँग कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का मैदानमा उत्रनु भएको छ । खड्का गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । 

आइतबार पूर्व सभामुख नेम्वाङले इलाम क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा नेता कार्यकर्तासहित पुगेर मनोनयन दर्ता गराउनुभयो । उहाँले मनोनयन दर्ता गराउँदै आफ्नो जित निश्चित भएको प्रतिक्रिया दिनुभयो ।

यस्तै इलाम क्षेत्र नम्बर १ मा गठबन्धनका नेता खनाल आफ्नो कार्यव्यस्ताले उपस्थित हुन नसकेपछि नेकपा (एस) का युवा नेता दिपक पौडेलले वारेसनामामार्फत मनोनयन दर्ता गराउनुभयो । खनालसँग प्रतिस्पर्धा गर्न आउनुभएका बस्नेत एमाले इलामका युवा नेता हुनुहुन्छ । 

प्रदेश सभामा इलाम क्षेत्र नं १ (क) का १ नम्बर प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा र सन्दपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष शोभा पराजुलीबीच प्रतिस्पर्धा हुनेछ । क्षेत्र नं १ (ख) बाट कांग्रेस क्षेत्रीय सभापति शम्सेर राई एमाले नेता दिपक थेवेबीच प्रतिस्पर्धा हुनेभएको छ ।  

त्यसैगरी इलाम क्षेत्र नं २ (क) बाट कांग्रेस प्रदेश कार्य समिति सदस्य गोविन्द गिरी र एमाले प्रदेश सदस्य गणेश बरालबीच प्रतिस्पर्धा हुनेछ । इलाम क्षेत्र नं २ (ख) बाट माओवादी केन्द्र इलाम सह इन्चार्ज हर्क लावती र एमाले इलामका निवर्तमान अध्यक्ष राम रानाबीच प्रतिस्पर्धा हुनेछ ।