• ११ असोज २०८१, शुक्रबार

मोरङका पचास निर्वाचन स्थल अति संवेदनशील

blog

रङ्गेली समाचारदाता

विराटनगर, असोज २३ गते । मोरङका राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार ‘निर्वाचन आचारसंहिता २०६९’ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उम्मेदवारसम्बन्धी आयोजना गरेको छलफलमा आचारसंहिता स्वीकार गर्ने बताएका हुन् । 

राजनीतिक दलका नेताले सामाजिक सञ्जालबाट हुन सक्ने आचारसंहिता विपरीतका गतिविधि रोक्न कडाइ गर्नुपर्ने, निर्वाचन प्रयोजनका लागि स्वीकृति लिएका सवारीसाधनको दुरुपयोग रोक्न कडाइ गरिनुपर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि प्रचार–प्रसारमा जान पाउनुपर्ने सुझाव मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिएका छन् । 

नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि प्रचार–प्रसारमा जान पाउने प्रावधानलाई खुकुलो बनाउनुपर्ने माग गर्नुभएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन मितिको १७ दिन अगाडिबाट मात्रै प्रचार–प्रसारमा जान पाउने व्यवस्था छ । यसैगरी नेपाली कांग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले आचारसंहितालाई पालना गर्दै निर्वाचन प्रचार–प्रसारको काम अन्तिम नामावली प्रकाशनपछि थाल्ने कुरालाई सहजीकरण हुनुपर्ने माग गर्नुभएको थियो । 

मोरङमा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र तोकिएका छन् । सात लाख ३५ हजार ५२५ मतदाता रहेको जिल्लामा आवश्यक पर्दा अस्थायी मतदान केन्द्र निर्माण गर्न सकिने प्रावधान छ तर त्यसका लागि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने सुरक्षा अधिकारीहरूको भनाइ छ । मोरङका प्रमुख जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले राजनीतिक दलको सहकार्यबाटै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने बताउनुभएको थियो । उहाँले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितामा मुख्य राजनीतिक दलका केन्द्रीय नेतृत्वले प्रतिबद्धता जनाइसक्नु भएकोले जिल्लास्तरमा पनि त्यहीँ अनुरुप हुने बताउनुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अस्थायी मतदान केन्द्र थप्दा पर्नसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्न आग्रह गर्नुभएको थियो । उहाँले एक मतदान केन्द्रमा चारवटा मत पेटिका हुनेभएकोले त्यसको सुरक्षा प्रबन्धमा सबैले चासो राखेर सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदान स्थलमध्ये ५० वटा अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १४४ मतदान स्थललाई संवेदनशील र अन्य बाँकी सामान्य छन् । 

जिल्ला निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा आएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उहाँले जानकारी दिनुभयो । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार पाँच सय परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी एक हजार एक सय र नेपाली सेना पाँच सय परिचालन गरिनेछ । प्रत्येक मतदान स्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी घेरा बनाएर निगरानी गर्नेछ । त्यसपछि सशस्त्र प्रहरी र मतदान केन्द्रभित्र नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङका छवटा सङ्घीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यतालिकाअनुसार २३ गते मनोनयन दर्ता, सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । मोरङका छवटा सङ्घीय निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले उम्मेदवारले निर्वाचनका खर्च निर्धारण यस पटक निर्वाचन क्षेत्रका आधारमा गरिएको जानकारी दिनुभयो । मतदाता सङ्ख्या, क्षेत्रफल र मतदान केन्द्रका आधारमा खर्च निर्धारण गरिएको हो ।