• १२ असार २०८१, बुधबार

दशैँ मनाएर धमाधम कार्यस्थल फर्किंदै

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज २३ गते । सर्लाहीमा दशैँ मनाउन केही दिनअघि गाउँघर आएका अहिले धमाधम सङ्घीय राजधानी काठमाडौँसहित आ–आफ्नो कार्य क्षेत्रमा फर्किन थालेका छन् । यहाँबाट बीपी राजमार्गसहित अन्य सडक भएर मानिस राजधानी फर्किने क्रम बढ्न थालेको हो । 

दशैँ मनाएर कार्यस्थल फर्किनेको सङ्ख्या शनिबारबाट अझै बढेको स्थानीयले बताएका छन् । दशैँ बिदापछि आइतबारबाट सरकारी कार्यालय खुल्दै छन् । दशैँको नवमीको दिनसम्म काठमाडौँबाट आउने गाडीमा यात्रुको अत्यधिक चाप भए पनि अहिले यहाँबाट काठमाडाँै जाने यात्रुको चाप बढ्न थालेको यातायात व्यवसायीले बताएका छन् । काठमाडौँ फर्किन जिल्लाको लालबन्दी, हरिवन, बागमतीलगायत पूर्व–पश्चिम राजमार्ग क्षेत्र र भित्रि बजारमा रहेका टिकट काउन्टरमा मानिसको भीड देखिन्छ । 

यात्रु लिन गाउँघरसम्मै पुग्ने सवारीमा पनि काठमाडौँ फर्किनेको उत्तिकै चाप बढ्न थालेको छ । दशैँ मनाएर धेरैजसो सहर, बजार फर्किन थालेसँगै गाउँबस्ती भने पुनः सुनसान बन्दै गएका छन् । दशैँको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने गरिए पनि धेरैले विजया दशमी र एकादशीकै दिन टीका लगाएर भ्याइसकेका छन् । टाढा रहेका आफन्त कहाँ भने अहिले पनि टीका, जमरा थाप्न जाने क्रम जारी छ ।