• १२ असार २०८१, बुधबार

दर्जनौँ बस्ती डुबानमा, पाकेको धानबालीमा क्षति

blog

परासी समाचारदाता 

नवलपरासी, असोज २३ गते । पछिल्लो चार दिनदेखिको अविरल वर्षाका कारण नवलपरासीको दक्षिण क्षेत्रका दर्जनौँ बस्ती डुबानमा परेका छन् भने सयौँ बिघा धानबालीमा क्षति पुगेको छ । 

स्थानीय झरही खोलाको पानी बस्तीमा पसेपछि पाल्हीनन्दन गाउँपालिका र सरावल गाउँपालिकाका दर्जनौँ बस्ती डुबानमा परेका छन् । बस्तीसँगै धानबालीमा क्षति पुगेको पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर १ महेशपुरका स्थानीयवासी लक्ष्मी हरिजनले बताउनुभयो । त्यसैगरी चुरेबाट भएर बग्ने भरही, तुरिया र धनेवालगायतका खोलाको पानी बस्तीमा पस्दा पश्चिम नवलपरासीको दक्षिण भागमा सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबेको छ ।

पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट भएर बग्ने झरही खोला र सरावल गाउँपालिकाबाट भएर बग्ने धनेवा खोलाको बाढी खेतमा पस्दा सयौँ बिघा क्षेत्रफलमा रहेको धानबाली डुबेको स्थानीयले बताएका हुन् । 

पाल्हीनन्दन गाउँपालिकाका कार्यवाहक प्रमुख फागुमा अन्सारीले झरही खोला र धनेवा खोलाको बाढीबाट शङ्करपुर, सनही, पडरी, रगरगञ्ज, लौडिहवा, मधौलिया, खडौना, प्रसौनी, धड्डा र बर्जटोललगायतका क्षेत्रमा क्षति पुगेको बताउनुभयो । पश्चिममा झरही खोला र पूर्वमा धनेवा खोलामा आएको बाढी खोलामा भरिएर खेत र बस्तीमा बगेको छ । पाल्हीनन्दन १ शङ्करपुर, महेशपुर, सुनरीका १० घर डुबानका कारण विस्थापित भएका छन् । 

बस्तीहरू डुबान परेपछि स्थानीयलाई अग्लो स्थान, आफन्त वा विद्यालयमा आश्रय दिएको बताइएको छ । सरावल गाउँपालिका वडा नम्बर ५, ६, ७ का बस्ती पनि ढुबानमा परेको  बताइएको छ ।