• १२ असार २०८१, बुधबार

मुस्ताङमा बाढीपहिरो रोकिनुप-यो तीर्थालु र पर्यटक

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज २३ गते । पछिल्लो पाँच दिनदेखि अविरल वर्षासँगै आएको बाढीपहिरोले पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ जाने सडकका विभिन्न स्थानमा पहिरो गएको छ । 

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोराला सडक खण्डअन्तर्गत मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा बाढीपहिरोले सडक सञ्जालमा क्षति पु¥याएको छ ।  

अविरल वर्षाले गर्दा सडकमा ढुङ्गा, लेदोमाटो र गेगरसहितको भल बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा तथा बाढीपहिरोकै कारण सडक यातायात ठप्प हुनुका साथै हवाई उडानसमेत बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । 

उहाँले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र कामदार दशैँ मनाउन बिदामा गएकाले व्यक्तिको मेसिन प्रयोग गरेर फाराम खोलाको बाढी तर्काउने काम गरिए पनि सार्थक हुन नसकेको जानकारी दिनुभयो । 

प्रतिकूल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान हुन सकेको छैन । खराब मौसमले गर्दा हवाई उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटकहरू, पदयात्रीहरू मुस्ताङमै रोकिएको प्रजिअ शर्माको भनाइ छ ।

बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकहरूलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिइएको प्रजिअ शर्माले बताउनुभयो । 

वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको रघुगङ्गा गाउँपालिकाको बैंसरी, अन्नपूर्ण गाउँपालिकाको नैनीबगर र रुप्से खोलामा सडकभन्दा माथिबाट पहिरो खसेर सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । 

पश्चिम म्याग्दी भेग भएर जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीर र बाङ्गेपहिरोमा पनि पहिरो खसेर सडक बन्द भएको छ । वर्षाले म्याग्दीका ग्रामीण क्षेत्रका सडक पनि हिलाम्मे हुनुका साथै अस्तव्यस्त बनेका छन् । 

पर्यटकीय क्षेत्र खोप्रालेक, गुर्जाखानीलगायत उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । मुस्ताङको मुक्तिनाथको डाँडाकाँडासहित धौलागिरि र नीलगिरि रेन्ज तथा चौंरीखर्क क्षेत्रमा हिउँ परिरहेको मुस्ताङ प्रहरीले जनाएको छ । 

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा अहिले दैनिक एक सय जनाको हाराहारीमा विदेशी पर्यटकहरू भ्रमणमा आएको इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । आजबाट पानी पर्न केही बन्द भए पनि जनजीवन भने सहज बनेको छैन । 

बागवानी विकास केन्द्रमा लाखौँको क्षतिमार्फाको फारम खोलामा आएको बाढी पस्दा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

शीतोष्ण बागवानी विकास केन्द्रको (बी) र (सी) ब्लकमा क्षति भएको प्राविधिक सहायक भीमसेन भण्डारीले बताउनुभयो । मार्फाको बागवानी विकास केन्द्रको २१ रोपनी क्षेत्रफलको (बी) ब्लक र (सी) ब्लकको ३७ दशमलव ५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी र फलफूललगायत बीउबिजनमा बाढी पस्दा लाखौँ मूल्य बराबरको क्षति पुगेको छ । गत आर्थिक वर्षमा उक्त केन्द्रले ब्लक ए, बी, सी र डी मा उत्पादन भएको स्याउलगायतका तरकारी तथा अन्य उत्पादन बिक्रीबाट ६९ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको थियो । चारवटा ब्लकबाट उक्त आम्दानी गरेको बागवानी विकास केन्द्रका दुईवटा ब्लकमा क्षति पुग्दा निकै ठूलो मूल्य पर्ने सामग्रीहरू नष्ट भएको केन्द्रले जनाएको छ ।

ब्लक (बी) मा पाँच रोपनी क्षेत्रफलमा ओखरको नर्सरी, ११ रोपनी क्षेत्रफलमा स्याउको बगैँचा, तीन रोपनी क्षेत्रफलमा कागजी बदाम र दुई रोपनी क्षेत्रफलमा आवास तथा कुलो र बाटो गरी कुल २१ रोपनी क्षेत्रफल रहेको केन्द्रले जनाएको छ । त्यस्तै (सी) ब्लकमा अर्गानिक स्याउ चार रोपनी, स्याउ बगैँचा २१ रोपनी, आरू बगैँचा पाँच रोपनी, आरूबखडाको बगैँचा दुई रोपनी, खुर्पानी साढे एक रोपनी, अङ्गुर बगैँचा आधा रोपनी, हेजलनट बगैँचा एक रोपनी र दुई रोपनी क्षेत्रफलमा आवास तथा कुलो र बाटो गरी कुल ३७ दशमलव पाँच रोपनी क्षेत्रफल रहेको शीतोष्ण बागवानी विकास केन्द्रका प्राविधिक सहायक भीमसेन भण्डारीले बताउनुभयो ।

फाराम खोलाको बाढीले स्थानीय गोपाल गौचन, राम परियार, शेषबहादुर गौचन, गोपाल गौचन, विमल लालचन, दीपक लालचनको स्याउ बगानमा क्षति पुगेको अगुवा कृषक दीपक लालचनले बताउनुभयो । उहाँका अनुसार छ जना कृषकको २५ रोपनी क्षेत्रफलको स्याउ बगानमा बाढीले क्षति पु-याएको छ । घरपझोङ गाउँपालिका–२ बाट १ मा जाने कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुल पनि फाराम खोलाले बगाएको लालचनले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार बेनी–जोमसोम सडक खण्डअन्तर्गतको मुस्ताङ खण्डमा अवरुद्ध हुँदा पर्यटकहरूलाई सास्ती भएको छ । मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा नजिकै सामग्री भन्ने स्थानमा सडक अवरुद्ध भएको छ । त्यस्तै मार्फा र टुकुचेको बीचमा, कोबाङको खन्ती क्षेत्रमा समेत सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।