• १२ असार २०८१, बुधबार

अस्ताचलको ढोका सार्वजनिक

blog

टीकापुर समाचारदाता

टीकापुर, असोज २३ गते । आख्यानकार स्वर्गीय गगनसिंह थापाको उपन्यास अस्ताचलको ढोकाबाट सार्वजनिक गरिएको छ । थापाको दोस्रो स्मृति दिवस पारेर शनिबार टीकापुरमा उपन्यासको गृह विमोचन गरिएको हो । लेखक तथा साहित्यकार रामलाल जोशीले उपन्यासको विमोचन गर्नुभएको हो ।

केही स्वैरकल्पना र केही यथार्थता रहेको तेह्र परिच्छेद र ३५१ पृष्ठको उपन्यासमा सुदूरपश्चिमको संस्कृति, पे्रम, पौराणिकता, इतिहास, राजनीति र सामाजिक यथार्थताको सम्मिश्रण भेटिन्छ । सुदूरपश्चिमको आञ्चलिक भाव बोकेको ‘अस्ताचलको ढोकाबाट’ उपन्यास पढ्दा केही उपन्यास र केही आत्मसंस्मरणजस्तो भएकाले यसलाई साहित्यको नृसिंहअवतार भन्न मिल्ने सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. धनकृष्ण उपाध्याय बताउनुहुन्छ । उपाध्यायका अनुसार लेखकलाई चिन्ने पाठकहरू आत्मसंस्मरण र नचिन्ने पाठकहरू उपन्यासका रूपमा बुझ्न सक्नेछन् । 

लेखक तथा साहित्यकार रामलाल जोशीले पहलमानसिंह स्वाँर, लोकेन्द्रबहादुर चन्द, महेशविक्रम शाहजस्तै स्वर्गीय गगनसिंह थापाका रचनाले नेपाली भाषा र साहित्यमा सुदूरपश्चिमका स्थानीय शब्दहरूले नेपाली साहित्यमा प्रवेश गराएको र थापाका प्रकाशन हुन बाँकी कृतिहरूले लेखिन बाँकी सुदूरपश्चिमका धेरै कथा र व्यथा अगाडि ल्याउने अपेक्षा गर्नुभयो ।

“आफ्नै मृत्युको घण्टी बजेको सुनेपछि  पनि हतास नगरी कृति तयार पार्नु असम्भव जस्तै हो,” लेखक जोशीले भन्नुभयो, “क्रान्तिकारी, प्रगतिशील र परिवर्तनकारी विचार बोकेका स्वर्गीय थापाको उपन्यासले पाठकलाई मृत्यु कहिले आउँछ मतलव गर्नुहँुदैन तर मृत्युअघिको जीवन सफल बनाउन के गर्नुपर्दछ भन्ने थाहा पाउन एक पटक पढ्नुपर्छ ।”

स्वर्गीय थापाले जीवनमा शिक्षक, सुरुमा कम्युनिस्ट विचारक, लामो समय काँगे्रसको राजनीतिकर्मी, सामुदायिक वन अधिकारकर्मी, साहित्यकार र विशेष गरी आख्यानकारका रूपमा समाजलाई योगदान दिएको उहाँका समकालीन तथा साहित्यकार कर्ण थापा बताउनुहुन्छ । लेखकका छोरा हिक्मत थापाले स्वर्गीय बुवाले मृत्युबोध गरिसकेपछि मृत्युपछिको परिकल्पनाअनुसार लेखिएको आठौँ कृति भएको र अझै २० वटा कृतिका पाण्डुलिपि तयार रहेको बताउनुभयो ।