• १२ असार २०८१, बुधबार

दलहरू उम्मेदवार टुङ्गो लगाउँदैै

blog

बागमती प्रदेश ब्युरो

हेटौँडा, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरू तय गर्न राजनीतिक दलहरू अन्तिम चरणमा पुगेका छन् ।

सत्ता गठबन्धन गरेका दलहरूबीच भागबन्डा नमिल्दा र दलहरूभित्रै नेता व्यवस्थापन समस्याको किचलोले दलहरूलाई उम्मेदवारी मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म उम्मेदवार तय गर्न सकस भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले गठबन्धन गर्दै छन् । उता नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरू गठबन्धन गरी चुनावमा जाँदै छन् । बागमती प्रदेशका अधिकांश जिल्लामा दलहरूले आफ्नो उम्मेदवार तय गरिसकेका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले पार्टीअनुसार आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता गराउने समय तोकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित क्रियाशील दलहरूलाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउन समय निर्धारण गरेको छ ।

बागमती प्रदेशमा ३३ प्रतिनिधि सभा तथा ६६ प्रदेश सभा सदस्य पदका लागि निर्वाचन हुँदै छ । यस प्रदेशमा आगामी मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाता सङ्ख्या पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य मतदाता २७ जना गरी कुल मतदाता ३४ लाख ७१ हजार ४९२ जना पुगेका छन् । मतदान स्थल एक हजार ८१२ र मतदान केन्द्र चार हजार १४३ रहेको छ । 

दुई दलका उम्मेदवारको टुङ्गो 

दोलखा समाचारदाताका अनुसार दोलखामा नेपाल कम्युनिस्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् । सत्ता गठबन्धनतर्फ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट सङ्घका लागि मात्र टुङ्गो लागेको छ । 

एमालेबाट सङ्घका लागि बालकृष्ण शिवाकोटी, प्रदेश १ बाट नरबहादुर श्रेष्ठ र प्रदेश २ मा भरतबहादुर केसीलाई उम्मेदवारको टुङ्गो लगाएको एमाले जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सङ्घमा विजय खड्का, प्रदेश १ मा होमबहादुर आपागाईं र प्रदेश २ मा राजनबहादुर शिवाकोटी उम्मेदवार तय भएको बताइएको छ । 

गठबन्धनबाट सङ्घमा माओवादी केन्द्रबाट गङ्गा कार्कीको टुङ्गो लागेको छ । दुवै प्रदेश कांग्रेसको भागमा परेको र अहिलेसम्म उम्मेदवारको टुङ्गो नलागेको कांग्रेस जिल्ला पार्टी सभापति बर्मा लामाले बताउनुभयो ।           

कांग्रेसमा रस्साकस्सी   

बनेपा समाचारदाताका अनुसार काभ्रे जिल्लामा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । 

गठबन्धनमा रहेका दलहरूबीच निर्वाचन क्षेत्रको भागबन्डा मिलेर माओवादी केन्द्र र नेकपा एसले उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेसमा शिवप्रसाद हुमागाईं र मधु आचार्यबीच कसले टिकट ल्याउने भन्ने रस्साकस्सी चलेका कारण उम्मेदवारको टुङ्गो लगाउन समस्या भएको हो । गठबन्धनमा रहेका दलहरूबीच काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर १ माओवादी केन्द्र, प्रदेश सभा (१) नेकपा माओवादी केन्द्र र प्रदेश सभा (२) कांग्रेसको भागमा परेको छ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ कांग्रेस, प्रदेश सभा (१) नेकपा एस र प्रदेश सभा (२) कांग्रेसको भागमा परेको छ । 

एमालेले प्रतिनिधि सभा १ मा रेशम लामा, प्रदेश (१) मा दिलीप तामाङ, (२) मा चन्द्रबहादुर लामा, प्रतिनिधि सभा २ मा गोकुल बाँस्कोटा, प्रदेश सभा (१) मा कुमार खकुरेल र प्रदेश सभा (२) मा कुमार थापालाई उम्मेदवारका रूपमा अघि सारेको छ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ पाएको माओवादी केन्द्रले सूर्यमान दोङ र प्रदेश सभा (१) मा रत्न ढकाललाई उम्मेदवार तोकेको माओवादी केन्द्र जिल्ला सचिव दैवलाल घिसिङले जानकारी दिनुभयो । त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (१) पाएको नेकपा एसले लक्ष्मण लम्साललाई उम्मेदवार बनाउने भएको छ । जिल्लामा हालसम्म ३१ वटा राजनीतिक दल क्रियाशील रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

ठूला दलहरूको टुङ्गो 

चितवन समाचारदाताका अनुसार चितवनको सबैजसो निर्वाचन क्षेत्रमा ठूला दलहरूले उम्मेदवार टुङ्गो लगाएका छन् । पाँचदलीय गठबन्धनको सिट बाँडफाँट भए पनि कांग्रेसबाट चितवनमा उम्मेदवार टुङ्गो लागेको छैन । 

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ कांग्रेस, प्रदेश सभा क्षेत्र नं. १ कांग्रेस र २ एकीकृत समाजवादीले पाउने भएका छन् । 

“हाम्रो क्षेत्रमा भागबन्डा भए पनि उम्मेदवारको अझै टुङ्गो लागेको छैन,” कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भन्नुभयो । आइतबार बिहानसम्म प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उम्मेदवार टुङ्गो लाग्नेछ । निर्वाचन क्षेत्र नं. १ को (२) मा एकीकृत समाजवादीका तर्फबाट कृष्णप्रसाद शर्मा खनाल, २ को (१) मा घनश्याम दाहाललाई उम्मेदवार बनाएको माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यमा डा. भोजराज अधिकारीलाई उठाउने अन्तिम तयारी भएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा उहाँका विश्वासपात्र डाक्टर अधिकारीलाई उठाउने तयारी भएको हो । 

त्यस्तै माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. ३ को (२) प्रदेश सभा सदस्यमा ठाकुरप्रसाद ढकाललाई उठाउने निर्णय गरेको छ । 

उता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा सुरेन्द्रप्रसाद पाण्डेलाई, प्रदेश सभा सदस्यमा १ को (१) मा जगन्नाथ थपलिया र (२)मा प्रकाश खनाल (सैलेश), क्षेत्र नम्बर २ बाट कृष्णभक्त पोखरेल, प्रदेश सभातर्फ २ को (१)मा कृष्ण सिलवाल र (२) मा देवी ज्ञवालीलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

एमालेले क्षेत्र नम्बर ३ को उम्मेदवार भने टुङ्गो लगाएको छैन । क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाबीच चुनावमा तालमेल हुने भएकाले राप्रपाका विक्रम पाण्डे र एमालेका रामप्रसाद न्यौपानेमध्ये कसले टिकट पाउने भन्ने टुङ्गो लागिसकेको छैन । एमालेले क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा कृष्ण भुर्तेल र (२) मा सरस्वती विष्ट उम्मेदवार बनाउने भएको छ । 

एमालेले सबै क्षेत्रमा टुङ्गो लगायो

मकवानपुर समाचारदाताका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मकवानपुरमा एमालेले सबै क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा रामेश्वर राना र २ नं. क्षेत्रमा महेशकुमार बर्तौला, प्रदेश सभा सदस्यतर्फ प्रतिनिधि सभा क्षेत्र नं. १ को (१) मा  कमल विष्ट, १ को (२) मा एकालाल श्रेष्ठ, २ को (१) मा विष्णु ढकाल र २ को (२) मा लालबहादुर थापालाई उम्मेदवार बनाउने पार्टी केन्द्रले निर्णय गरेको छ ।

सत्ता गठबन्धनले सिट बाँडफाँट गरे पनि कांग्रेसबाहेक अन्य दलका उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छ । कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १, प्रदेश सभा सदस्यतर्फ क्षेत्र १ को (२) र क्षेत्र २ को (२) पाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार नेकपा एसले पाएको प्रतिनिधि सभा क्षेत्र नं. २ विरोध खतिवडा, प्रदेश सभा सदस्यतर्फ माओवादी केन्द्रले पाएको प्रतिनिधि सभा क्षेत्र नं. १ को (१) बाट प्रेमबहादुर पुलामी र २ को (१) बाट कुमारी मोक्तानलाई उम्मेदवार बनाइने भएको छ ।

एता, प्रतिनिधि सभा क्षेत्र नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा उम्मेदवार हुनुहुने भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभएको छ । एमालेको साथको भरोसासहित सार्वजनिक मञ्चबाट एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गर्दै आउनुभएका थापाले उम्मेदवार बन्ने घोषणा 

गर्नुभएको थियो । 

यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आइतबार हुने उम्मेदवार मनोनयनका लागि सबैजसो तयारी पूरा भएको जनाएको छ । निर्वाचन आचारसंहिता व्यवस्थापन तथा अनुगमन समितिको आयोजनामा शनिबार हेटौँडामा भएको सर्वदलीय बैठकमा आचारसंहिता लागू हुने व्यक्ति, क्षेत्रमा निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयन र पालना गर्ने निर्णय भएको छ । बैठकमा दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन र पालना गर्ने प्रतिबद्धता जनाएको अनुगमन समितिका संयोजक एवं मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । 

बैठकमा नेपाली कांग्रेस, नेपाल एमाले, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राजमो, नेकपा माले, राप्रपा, राप्रपा नेपाल, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, निर्वाचन अधिकृतहरूलगायतको सहभागिता रहेको थियो ।