• १५ असार २०८१, शनिबार

खड्ग जात्रा चलाउन गाह्रो हुँदै

blog

बाबुराम शर्मा

दोलखा, असोज २३ गते । आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदै आएको छ । देशमा गणतन्त्र स्थापना भएपश्चात् गुठियारहरूले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब छ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको सचिव सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।  

दोलखाली राजा इन्द्रदेव सिंहको कान्छो छोराको सन्तान भएको दाबी गर्नेवाला भन्छन्, पुर्खाको वि.सं. १५९० मा मृत्यु भएपछिदेखि यो जात्रा गुठियारकै कुतबाट चल्दै आएको थियो । कुत आउन छाडेपछि केही समय व्यक्तिगत पैसा उठाएर जात्रा चल्यो । अहिले भीमेश्वरमा चढाएको बलीपूजाको पैसाले मुस्किलले चलेको छ । समितिबाट सहयोग नहुने हो भने कुनै दिन परम्परा तोडिन सक्ने आशङ्का रहेको छ ।

दोलखा मात्र नभएर देशकै परम्परा थेगिराखेको यो जात्रा सञ्चालन गरिरहन हामीलाई हम्मेहम्मे परिरहेको छ । दायित्व वहन नगरी सरकारबाट बेवास्ता हुँदा यो जात्रा थेग्न गाह्रो भएको श्रेष्ठले दुखेसो पोख्नुभयो ।

परम्परागत सांस्कृतिक परम्परानुसार विजया दशमीको भोलिपल्ट (एकादशीका दिन) बिहानदेखि बेलुकासम्म मनाउने यो जात्रामा सेतो दौरा, जामा र सेतै फेटा गुथेका पहिरनमा पहेँलो जमाराको माला लगाई स्थानीय कुसुले बाजाका साथ स–साना बालकदेखि निकै वृद्ध उमेरका व्यक्ति तल–माथि खड्ग नचाउँदै नाच्ने गर्दछन् । 

किंवदन्तीअनुसार दानवहरूले देवीदेवता एवं मानिसलाई विभिन्नखाले दुःख–कष्ट दिन थालेपछि दानवराज महिषासुरको कसरी बध गर्ने भन्ने विषयमा देवताको बैठकपछि दानवमाथि युद्ध गर्ने निर्णयमा पुगी सोही मुताविक साइत जुराई युद्धको आरम्भ भएको हो ।

युद्ध प्रारम्भको पहिलो दिन देवदेवीहरू विभिन्न बाजागाजाका साथ पूजासामग्री लिएर युद्ध निमन्त्रणाका साथै सहायताका लागि कालिन्चोक भगवतीसमक्ष पुगी त्यहाँबाट आश्वासन पाएको बताइन्छ । 

यसरी आश्वासन प्राप्त भएपछि देवदेवीहरूले दोलखा सहरको राइती भन्ने ठाउँमा तीन धारा अगाडि यज्ञको सुरुवात गरेका थिए । यसै समयमा दानवहरू त्यहाँ आइपुगी यज्ञमण्डपलाई कुल्ची ध्वस्त पारे । यसपछिबाट नै देवीदेवता र दानवबीच युद्धको थालनी भएको मानिन्छ । 

यो युद्धको अन्तिम दिन विजयादशमीको दिन दानवराज महिषासुरको शिर छेदन गरी देवीदेवताहरूले विजय प्राप्त गरेकाले सोको खुसीयाली तथा सम्झनाका निमित्त यो जात्रा मनाइने प्रचलन रहेको बताइन्छ । 

यो जात्रा मनाउनका लागि यहाँको राजकुलेश्वर निमाविको स्थानदेखि केही तल रहेको चक्र डबलीमा नवमीका दिन पुजारीहरूबाट चामलको भातबाट चक्रेश्वर बलिराजाको मूर्ति बनाई स्थापनासमेत गरेर स्थानीय कुसुलेहरूबाट विधिपूर्वक राँगाको बलि दिइन्छ । कालरात्रिका दिन यहाँको प्रसिद्ध भीमेश्वरमा चारवटा राँगा बलि चढाइन्छ । 

टीकाको दिन साइत पारी युद्धमा जानुपर्ने तर त्यस दिन टीका थाप्ने कार्यमा व्यस्त हुनुपर्ने भएकाले बेलुका बाजागाजाका साथ युद्धको अभिनय गर्दै महिषासुरको नाममा कुभिन्डो काटिन्छ । एकादशीका दिन बिहानदेखि नै पुनः युद्ध थालिन्छ । युद्धनाचमा सामेल हुनेहरूमा मूल खड्गधारी र उनका अङ्गरक्षक दुई जना युद्धका निमित्त बोलाइएका चेलीबेटीका तर्फबाट तीन जना, मन्त्री तथा सेनापति हुने याकरगठ्ठा बसल र उनका साथ भीमवली बोक्नेसमेत रहन्छन् । याकरगठ्ठा सेनापतिले उनीहरूलाई खड्ग थमाई युद्धमा प्रस्थान गर्न सङ्केत गरेपछि बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच सुरु हुने गर्छ । 

युद्धका क्रममा थाकेको अनुभव भएपछि आफ्ना दलबलसहित सेना पिङ्गल टोलको बालकुमारीसमक्ष सहायता माग्न जान्छन् र बालकुमारीबाट सहायता मिलेपछि योद्धाहरू भीमेश्वर डोबर डबलीमा पुग्छन् र पुनः युद्ध सुरु हुन्छ । त्यहाँ चार जना दानवसेना फेला पर्छन् । तिनीहरूको प्रतिकस्वरूप चारवटा राँगालाई सबै मिलेर खड्ग प्रहार गरी मार्ने चलन अद्यापि छँदैछ । 

स्थानीय तीर्थनारायण जोशी करिब पाँच सय वर्षअघिको मल्लकालीन जस्तो, किराँतकालीन जस्तो पनि लाग्ने यो जात्रा पौराणिक जात्रामध्येको जेठो भएकाले यसको संरक्षणमा सरकारले पनि चासो राख्नुपर्ने बताउनुहुन्छ ।