• १६ भदौ २०८१, आइतबार

एक सय ४४ घर परिवार विस्थापित

blog

डुवानमा परेकालाई सुरक्षित स्थानमा सारिँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असोज २२ गते । पूर्वी नवलपरासीमा लगातार चार दिनसम्म परेको झरीका कारण १४४ घर परिवार बाढीको डुबानमा परी विस्थापित भएका छन् । नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका सो परिवार विस्थापित भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सन्तोष पाठकका अनुसार अविरल वर्षाका कारण गैँडाकोटमा ८० घर, मध्यविन्दुका २० घर, विनयी त्रिवेणीका २८ घर, हुप्सेकोटका १६ घर गरी एक सय ४४ घर बाढीले गर्दा डुबानमा परी विस्थापित बनेका छन् ।

विस्थापितहरू क्याम्पस, विद्यालय, सार्वजनिक भवन तथा वन क्षेत्रका खाली चौरमा त्रिपाल टाँगी आश्रय लिएका छन् । नारायणी नदी, विनयी खोलासहितका खहरे खोलामा आएका बाढीका कारण र पहिरोको जोखिममा भएका परिवार विस्थापित बनेका हुन् ।

अविरल वर्षाले घरपरिवार विस्थापितसँगै जिल्लाको मुख्यगरी सडक पूर्वाधारमा ठूलो क्षति भएको छ । अविरल वर्षाले पहाडी क्षेत्रको बाटोहरू अस्तव्यस्त बनेका छन् । ठाउँ ठाउँमा गएका पहिरोका कारण नवलपुरको पहाडी क्षेत्रको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । जिल्लाको बौदिकाली, बुलिङटार दुई पालिकाको यातायात सम्पर्क पूर्णरुपमा टुटेको छ ।

पहाडी क्षेत्रको लागि मुख्य नाका मानिने कुमसोत–पोखरी खण्ड अन्तर्गत हुप्सेकोट –५ पाङ्गे्रमा गएको पहिरो अझै हटाउन नसक्दा यातायात सञ्चालन पूर्ण रूपमा अवरुद्ध बनेको छ । जिल्लाको कालिगण्डकी कोरिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको सूचना अधिकारी पाठकले बताउनुभयो । बुलिङटार –६ फुलमती भन्ने स्थान र बौदिकाली –३ मा झरेको पहिरोले सो खण्डमा समेत यातायात अवरुद्ध भएको छ ।