• ८ मंसिर २०८१, शनिबार

एएफसी सदस्यमा नेम्वाङको उम्मेदवारी खारेज गर्न माग

blog

फाइल तस्बिर ।

काठमाडौं, असोज २२ गते । एसियाली फुटबल महासङ्घ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङको उम्मेदवारी खारेज गर्न एन्फाकै बहुमत कार्यसमिति सदस्यले माग गरेका छन् ।

एन्फाका तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले नेम्वाङको उम्मेदवारी खारेजका लागि एसियाली फुटबल महासङ्घ (एएफसी) लाई शुक्रबार पत्र पठाएको छ । पदाधिकारीहरूले एन्फामा छलफल नै नगरी नेम्वाङले उम्मेदवारी दिएको भन्दै खारेजीको माग गरेका हुन् । एएफसीको ३३औँ चुनावी साधारण सभा आगामी फेब्रुअरी १ र २ तारिख बहराइनमा हुँदै छ ।

चुनावी साधारण सभामा नेम्वाङले खुला कार्यसमिति सदस्यमा उम्मेदवारी दिनुभएको थियो । एन्फा कार्यसमिति २१ सदस्यीय रहेको छ । नेम्वाङको उम्मेदवारी खारेजका लागि पठाइएको पत्रमा उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दिर्घबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी सदस्यहरू भरतबहादुर थापा, टिकाराम लामा, मनिराज विष्ट, रमेश ब्यन्जनकर, पुरुषोत्तम थापा, महेन्द्र छेत्री, विकासनारायण श्रेष्ठ, रवीन्द्र चन्द, मनिष जोशी, सरिला श्रेष्ठ र रुपेश अधिकारीले पनि हस्ताक्षर गर्नुभएको छ । एएफसीमा पठाइएको पत्रमा नेम्वाङले कार्यसमितिमा छलफल नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारी दिएको उल्लेख छ ।

पत्रमा भनिएको छ–‘‘यो उम्मेदवारीले एक व्यक्तिलाई मात्र होइन । नेपालको प्रतिनिधिलाई पनि प्रतिनिधित्व गर्छ । तसर्थ, यस्तो छलपूर्ण मनोनयन स्वीकार गर्नुहुँदैन। त्यसैले हामी एएफसीलाई नेम्वाङको मनोनयनलाई तुरुन्तै बेवास्ता गर्न र उहाँको मनोनयन रद्द गर्न अनुरोध गर्दछौँ ।’’ एएफसीले हालै जारी गरेको विज्ञप्ति अनुसार २६ सदस्यीय कार्यसमितिमा नौ जना खुला सदस्यका लागि एन्फा अध्यक्ष नेम्वाङसहित १४ जनाको उम्मेदवारी परेको छ । 

एएफसी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बहराइनका शेख सल्मान बिन इब्राहिम अल खालिफाको एक्लो उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेका कारण शेख सल्मान नयाँ कार्यकालका लागि निर्विरोध अध्यक्ष भइसक्नुभएको छ ।