• ९ मंसिर २०८१, आइतबार

पाल्पामा पहिरोले गाउँ नै विस्थापित

blog

रेखीराम राना

पाल्पा, असोज २२ गते । पहिरोको जोखिममा परेपछि पाल्पाको निस्दी –३, स्थित क्याङ्रुङ् गाउँका बासिन्दा विस्थापित बनेका छन् । वर्षातले क्याङ्रुङ्मा गएको पहिरोले गाउँ नै लग्न थालेपछि सो गाउँका ४५ घरधुरी गाउँबाट विस्थापित भएर सुरक्षित स्थानमा सरेका हुन् । 

पहिरो गाउँ पसेपछि ४०–४५ घरधुरीका बासिन्दा सुरक्षित स्थानमा सरेको स्थानीयले बताएका छन् । “शुक्रबार दिउँसोदेखि गएको पहिरोले गाउँ नै लग्न थालेपछि सुरक्षित स्थानमा सरेका हौं” स्थानीय बासिन्दा किसान सारुले भन्नुभयो । पहिरोले क्याङ्रुङ् गाउँको महिला समूहको भवन र स्थानीय बेगबहादुर पल्लीको घर छोएको सारुले बताउनुभयो । 

उहाँका अनुसार अहिले पनि पहिरो झर्न रोकिएको छैन, पानी पनि परिरहेको छ । पहिरो नरोकिएमा ४५ घर बगाउने सारुको भनाइ छ । पहिरो गाउँमा आइसकेकाले शुक्रबार दिउँसोदेखि नै सबै परिवारले आफ्नो लत्ताकपडा, खाद्य सामग्री तथा अन्य सामग्री सुरक्षित स्थानमा सारेको स्थानीयको भनाइ छ । 

यसअघि नै गएको पहिरो केही दिनदेखि परेको अबिरल वर्षाका कारण गाउँतिर सरेको छ । पहिरोले गाउँ नै लान थालेको विषयमा पालिकामा जानकारी गराएको स्थानीय बासिन्दाको भनाइ छ । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले दशैंअघि स्थानीय तहलाई राहतका सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले निस्दीको पहिरोको विषयमा हालसम्म जानकारी नआएको बताउँदै बुझेर तत्काल राहत र उद्धारको कामलाई अगाडि बढाइने बताउनुभयो ।