• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिसमक्ष उच्चपदस्थ व्यक्तित्वहरूद्वारा दशैंको टीका र प्रसाद ग्रहण

blog

तस्बिर : रासस

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा आम सर्वसाधारणलाई दशैंको टीका लगाइदिनुभएको छ । बुधवार राष्ट्रपति निवास शीतल निवासमा  राष्ट्रपति भण्डारीले दशैंको टीका जमरा लाइदिनुभएको हो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधान सेनापति प्रभुराम शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेना तथा प्रहरीका उच्चपदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरूलाई टीका लगाइदिनुभएको हो ।

राष्ट्रपति भण्डारीले विजयादशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टीका लगाइदिनुभयो । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुभएको शीतलनिवासले जनाएको छ । टीका लगाउन सर्वसाधारणहरू राष्ट्रपतिको सरकारी निवास शीतलनिवास पुग्नुभएको थियो । 

सोअघि विजयादशमीको शुभ साइतमा राष्ट्रपति भण्डारीले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यस्तै उहाँले विजया दशमीको दिन गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा दशैंको टीका ग्रहण गर्नुभयो ।