• १२ साउन २०८१, शनिबार

संस्कृति

संस्कृति समाजको प्राण

blog

‘संस्कृति’ समाजको पहिचान हो । हामीसित छ हजार वर्ष पुरानो ‘सांस्कृतिक’ पहिचान छ । संस्कृतिका माध्यमबाट प्रेम, सद्भाव, एकता, सदाचार, सहकार्य, मेलमिलाप, सहिष्णुता, हार्दिकता, धार्मिकता, परोपकारिता, मानवता, सिर्जना, आविष्कार, उपलब्धि, समृद्धि र श्रेष्ठताजस्ता कुरा हासिल हुन्छन् । मनुष्य सभ्यता, यिनै सांस्कृतिक कर्मबाट विकसित भएको संस्कृति हो । संस्कृति मनुष्य जीवन र समाजको प्राण हो । राष्ट्रको आत्मा हो । 

नेपाली संस्कृति विश्वमै उत्कृष्ट मानिन्छ । यसका आफ्नै मौलिक गुण र विशेषता छन् । नेपालमा विभिन्न जातजाति, भाषाभाषी, वेषभूषा, धर्म, संस्कृति, प्रथा–परम्परा, रहन–सहन, आचार–विचार, गीत–नृत्य, साहित्य र कलाकौशल छन् । 

समाजलाई डोर्‍याउने प्रत्येक व्यक्ति एक सांस्कृतिक धरोहर हो । यो धरोहरसित विशिष्ट मूल्य, मान्यता र आदर्श हुन्छन् । भाइबहिनीहरू, यस्ता व्यक्तित्वले आफ्नो जाति र संस्कृतिको विकासमा साधना र कर्मशीलताबाट आफू बाँचेको समाजलाई रूपान्तरण गराउन ठूलै भूमिका निर्वाह गरेका हुन्छन् 

भक्तपुरको बजलालस्थित खौमामा वि.सं. १९९२ कार्तिक कृष्ण एकादशीका दिन जन्मनुभएका तेजेश्वरबाबु ग्वंगः एक सांस्कृतिक नेतृत्वशास्त्री हुनहुन्छ । नेपाली, नेपाल भाषा र अङ्ग्रेजीमा प्रशस्त कृति रचना गर्नुभएका तेजेश्वरबाबु ग्वंगः शिक्षाविद्, संस्कृतिविद्, वरिष्ठ साहित्यकारका अतिरिक्त नेपाल सरकारका प्रमुख प्रशासनिक पदहरूमा लामो समयसम्म रहेर बटुल्नुभएका ज्ञान र अनुभवबारे जानकारी लिन्छौँ:

संस्कृतिका प्रणेता तेजेश्वरवावु ग्वंगः भन्नुहुन्छ, “जीवन बाँच्न प्रेम, मेलमिलाप, सामीप्यता, अङ्कमाल, सामाजिकता सँगसँगै नाचगान, उत्सव, मनोरञ्जन, ज्ञान विज्ञान, हास परिहास आवश्यक हुन्छ। एक अर्काप्रति गरिने प्रेमानुभूति, आदर, सम्मान र श्रद्धा भाव संस्कृति हो। युद्धलाई संस्कृति भनिँदैन। सिर्जना र मानवता संस्कृतिका अङ्ग हुन्। संस्कृतिको क्षेत्र र विषय व्यापक र बहुआयामिक हुन्छ।” 

उनान्नब्बे वर्षको उमेरमा टेक्दै गर्दा पनि नेपाली संस्कृतिको संरक्षण र संवर्द्धनमा उल्लेखनीय काम गर्दै आउनुभएको छ । उहाँले  नेपालको समृद्ध मौलिक संस्कृतिको (विशेष नेवारी संस्कृतिको) व्याख्या र विस्तार गर्ने क्रममा प्रख्यात संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको बिँडो थाम्दै आउनुभएको छ ।

उहाँ, तेजेश्वरवावु ग्वंगः, ले भक्तपुरस्थित सूर्यविनायकमा पितापुर्खाको थलोमा रहेर समृद्ध नेवारी संस्कृतिमाथि महत्वपूर्ण प्रकाश पार्नुभएको छ । उहाँले संस्कृतिका प्रकारलाई विश्लेषण गर्दै स्वाद संस्कार, समय संस्कार, विवाह संस्कार, जयन्ती मङ्गलाबारी संस्कार, कौमार्य, सौर्य र वीर्य सञ्चय संस्कारलगायत, प्रकृतिपूजा र पर्यावरण पालना, धार्मिक सामञ्जस्यता, पर्यावरणका पृष्ठभूमिमा चाड पर्व, भुजंगशयनम्, सगुनको सुवासमा म्हपूजा, जटा वर्षा, धनधान्यपूर्ण योमरी पूर्णे, नृसिंह अवतार, हालिमाली पूर्णिमा, नौ अङ्कअन्तर्गत नवरस, लक्ष्मी वाहन, शिरपोष, उपासनाका त्रिमार्ग, बेलविवाह प्रथा, ढोगभेट प्रकरण, नारी स्वतन्त्रता र शुद्धीकरण संस्कार–तीज, बासनाका विम्बयात्रा बिस्केट, गाईजात्रा रहस्य, दौरा सुरुवाल, जागराम शिवरात्रिजस्ता विशिष्ट संस्कृतिको उद्भव र विकासबाट नेपाल र नेपालीलाई उन्नत तुल्याएको कुरा पुष्टि गर्दै आउनुभएको छ । 

यस्ता संस्कृति, प्रथा–परम्परा हिन्दु, बौद्ध अनुयायीबाहेक अन्य नेपाली जातजातिमा मौलिक रूपमै ओझेलमा परेका छन् । तिनको अध्ययन, अनुसन्धान र उन्नयन गर्न राष्ट्रियस्तरमै लागिपर्न आह्वान गर्नुभएको छ उहाँले । 

संस्कृति, प्रथा–परम्परा हिन्दु, वौद्ध अनुयायीवाहेक अन्य नेपाली जात जातिमा मौलिक रुपमै ओझेलमा परेका छन्।

उहाँ भन्नुहुन्छ, ‘वि.सं. १८२६ मा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक एवं राजनीतिक एकीकरणबाट निर्माण गरेको नेपाललाई ‘सांस्कृतिक एकीकरण’बाट सबल र समृद्ध तुल्याउन अनिवार्य भइसकेको छ किनभने राष्ट्रिय स्तरमा सांस्कृतिक एकतामूलक संस्कृति सिर्जना गर्दा जातीय भेदभाव र सङ्कीर्णता निवारण भई राष्ट्रिय एकता सुदृढ हुन्छ ।” 

संस्कृति के हो 

जीवन बाँच्न प्रेम, मेलमिलाप, सामीप्यता, अङ्कमाल, सामाजिकता सँगसँगै नाचगान, उत्सव, मनोरञ्जन, ज्ञान विज्ञान, हाँस परिहास आवश्यक हुन्छ । एक अर्काप्रति गरिने प्रेमानुभूति, आदर, सम्मान र श्रद्धा भाव संस्कृति हो । युद्धलाई संस्कृति भनिँदैन । सिर्जना र मानवता संस्कृतिका अङ्ग हुन् । संस्कृतिको क्षेत्र र विषय व्यापक र बहुआयामिक हुन्छ । 

बालबालिकामा संस्कृतिको प्रभाव 

शिशुहरू जन्मनासाथ आमालाई चिनेर मुस्कुराउन थाल्छ । शिशुको त्यो मुस्कान नै पहिलो संस्कार हो । आमाबाट ग्रहण गरेको सकारात्मक प्रभाव क्रमशः विकसित हुँदै जान्छ । शिशुको सांस्कृतिक प्रभाव आमाबाबुबाट विकसित हुँदै गएपछि उसले अन्य प्रभाव हासिल गर्दै जान्छ । शिशुको चेतनाको उत्सुकताले ज्ञानको द्वार खोल्न थाल्छ । 

मनुष्यले सांस्कृतिक गतिविधिबाट हासिल हुँदै गएका उपलब्धिहरू मनुष्य सभ्यता हो । हामी यसबेला ‘विश्व एउटा गाउँ’ अर्थात् ‘ग्लोबल भिलेज’तर्फ उन्मुख भइसकेका छौँ । तेजेश्वरवावु ग्वंगः ले भनेजस्तै संस्कृति पनि गतिशील हुन्छ । 

संस्कृति र सभ्यतामा फरक 

संस्कृति पुर्ख्यौलीबाट आएको रीतिरिवाज, प्रथा परम्परा हो । सभ्यता चाहिँ अन्तर सांस्कृतिक विनिमयमा आधारित हुन्छ । पहिले मेच–टेबुल थिएन । हाम्रो सभ्यता सुकुल, चकटी हो । आविष्कार हुन थालेपछि सभ्यताको विकास भएको हो । पहिले पहिले सल्लोको खोटो बालिन्थ्यो । पछि बिजुली आविष्कार भएपछि बिजुली बत्तीको प्रकाशमा बस्ने बानी भयो । यसरी सभ्यता पनि गतिशील भएकाले परिवर्तन भइरहन्छ । बिजुलीको आविष्कारबाट हामी ‘डिजिटल युग’मा प्रवेश भइसकेका छौँ । 


Author

महेश प्रसाईं