• १३ साउन २०८१, आइतबार

दलित बस्तीमा पुस्तौँदेखि खानेपानी अभाव

blog

जगनाथ गाउँपालिका –६ ओबाबका दलित परिवारले प्रयोग गर्दैआएको खानेपानीको धारा । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज १८ गते । जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौँ दलित बस्तीमा बर्खामै खानेपानीको अभाव देखिएको छ ।  

सो दलित बस्तीमा पुस्तौँदेखि अहिलेसम्म गाउँमा खानेपानी नहुँदा यहाँका दलित परिवारका स्थानीय घण्टौँ बाटो हिँडेर खोलाको पानी खान बाध्य हुँदैआएका छन् ।

जगनाथ गाउँपालिका –६ ओबाबका स्थानीय काँशीचन्द्र सार्कीले गाउँमा खानेपानी नहुँदा यहाँका दर्जनौँ दलित परिवार अहिले खोलाको पानी खान बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा एक घर एक धारा भन्ने कार्यक्रम छ, तर जगनाथ गाउँपालिका –६ ओबाबका दलित बस्तीमा खानेपानीको एक धारा पनि नहुँदा अहिले त्यहाँका दर्जनौँ घरपरिवार खोलाको पानी खान बाध्य भएका छौँ ।”

काँशीचन्द्र सार्कीका अनुसार खोलाको धमिलो पानी खाँदा अहिले त्यहाँका अधिकांश दलित परिवारमा रुघाखोकी ज्वरोका बिरामी प्रकोप बढ्दैगएको छ ।

बिरामी हुँदा गाउँमा स्वास्थ्यकर्मी आएर सफा स्वच्छ पानी पिउनु पर्छ भनेर जानु भयो, तर गाउँमा खानेपानी नहुँदा मासिनहरुले अहिले पनि खोलाको धमिलो पानी खान बाध्य भएका छन् सार्कीले बताउनुभयो । 

गत बर्खाको बाढी पहिरोका कारण गाउँमा खानेपानीको मुहान सुक्दै गएपछि बाजुराका अधिकांश स्थानीय अहिले खोलाको पानी खान बाध्य भएका हुन् । खोलाको पानी खाँदा स्थानीयलाई झाडापखाला, आँउमासी, रुघाखोकी लगायतका विभिन्न रोग लाग्नेगरेको स्थानीयको भनाइ छ ।

केही वर्ष पहिला जगनाथ गाउँपालिका –६ को चौगाड खोलाबाट गाउँमा खानेपानीको तीन वटा धारा निर्माण गरिएका थिए । गत बर्खाको बाढी पहिरोले ती सबै धारा भत्किएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीय महिला हिउँकला सार्कीले बताउनुभयो ।

खोलामा राति पानी ल्याउन जाँदा ज्यान जोखिममा पर्ने गरेकाले पानीको उचित व्यवस्था गरिदिन यहाँका महिलाको माग छ । बेलुकी पानी बोक्नकै चिन्ता हुन्छ, सार्कीले दुखेसो पोख्नुभयो ।