• १५ असार २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन (फोटो फिचर)

blog

राष्ट्रपति विद्यादेवी भण्डारी पलाञ्चोक भगवतीको दर्शन गर्नुहुँदै । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज १७ गते । बडादशैं अन्तर्गतको नवरात्रीको अष्टमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ मा रहेको पलान्चोक भगवतीको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान उहाँ पाँचखालस्थित वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आउनुभएको थियो । 

बिहान साढे ९ बजे तालिम केन्द्र आइपुग्नुभएकी राष्ट्रपति भण्डारी वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रबाट करिब ९ किलोमिटर कार्गेटमार्फत पलान्चोक भगवतीस्थान पुग्नुभएको हो । पलाञ्चोक भगवती मन्दिर पुग्नुभएकी भण्डारीलाई जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार, पाँचखाल नगपालिका –९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठलगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । 

करिब १० बजे मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीले १५ मिनेट भगवतीको पूजा आराधना गरी बिहान १०ः१५ बजे फर्कनुभयो । राष्ट्रपति नियुक्त हुनु भएपछि उहाँले राष्ट्रप्रमुखको हैसियतले पाँच पटक २०७४, २०७५, ०७६, ०७८ र २०७९ सालमा पलान्चोक भगवतीको दर्शन गर्दै आउनुभएको मन्दिरका पुजारी रविन्द्र बज्राचार्यले जानकारी दिनुभयो । कोभिड १९ का कारण २०७७ सालमा भने उहाँले भगवतीको दर्शन नगर्नुभएको पुजारीले बताउनुभयो । 

पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करिब १६ सय ५४ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको मानिन्छ । पलाञ्चोक भगवतीलाई भवगतीहरुको जेठी दिदीको रुपमा समेत चिनिने गरिएको छ । जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धहरुको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ । 

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजाने कोशिस गर्दा मूर्ति त्यही रही बोक्न नसकेपछि स्थानीय ६० घरधुरीले मद्दत गर्दासमेत भगवतीको मूर्ति बोक्न नसकेपछि सो स्थानमा भगवतीको मूर्ति राखी पूजा आजा गदैँआएको किम्बदन्ती छ । 

पलाञ्चोक भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गरे पनि विशेष रुपमा बडादशैंमा नवरात्रीको समय मन्दिरमा हाँस, बोका, राँगा आदिको बली दिने चलन छ  । दशैं बाहेक मन्दिरमा वैशाख पूर्णिमा माघे सङ्क्रान्ति, जेष्ठ पूर्णिमामा ठूलो मेला लाग्ने गर्छ । वैशाख पूर्णिमा र बडादशैंमा एकादशीको दिन रथ बनाई मन्दिर घुमाउने चलन छ । दर्शनार्थीले चिताएको पूरा हुने भएकाले भगवतीको दर्शनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतलगायतका देशबाट समेत दर्शनार्थीहरु पलाञ्चोक आउनेगरेका छन् ।