• १५ असार २०८१, शनिबार

चाडबाड मनाउन बालुवाको भर

blog

सन्तोष सिग्देल

सिन्धुपाल्चोक, असोज १७ गते ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ११ का रामबहादुर माझी इन्द्रावती नदीको बगरमा टिप्परमा बालुवा लोड गर्दैगर्दा भेटिनुभयो । बालुवा चाल्नु र सो बालुवा बेच्नु उहाँको दैनिकी हो । उहाँले चालेर जम्मा गरेको बालुवा लिन टिप्परसमेत आइसकेको थियो । दिनभरि बालुवा जम्मा गरेर नबेचे बेलुका उहाँको घरको चुलोमा आगो बल्न गाह्रो हुन्छ ।

आर्थिक रूपमा विपन्न परिवारका माझीले बगरमा दशकौँदेखि बालुवा चालेर जीविकोपार्जन गर्दै आउनुभएको छ । बालुवा चालेर बिक्री गरी आएको रकमले उहाँको परिवारको घरखर्च चल्दै आएको छ । सिजनमा ५०–६० हजार रुपियाँसम्म आम्दानी गर्ने उहाँले बताउनुभयो ।

आठ जनाको समूहमा बगरमा काम गर्दै आउनुभएको उहाँले एक टिप्पर लोड गरेको तीन हजार पाँच सय रुपियाँ पाउने गर्न‘भएको छ । एक दिनमा तीन गाडीसम्म लोड गर्न सकिने उहाँको भनाइ छ । जिरा, मसला किन्न, विवाह, छेवारलगायतका पर्वमा खर्च गर्न र घरखर्च चलाउनसमेत बालुवा बेचेको रकमले नपुग्ने उहाँले बताउनुभयो । “रोजगारी नभएर यो काम गरेको हो,” उहाँले भन्नुभयो, “अरू काम गर्न पढेको छैन ।”

रोजगारी नहुँदा इन्द्रावती–११ का माझी समुदायका व्यक्तिहरू नदीको बगरमा बालुवा चाल्ने काममा संलग्न हुँदै आएका छन् । इन्द्रावती–११ कै लुकुन माझीसमेत बालुवा चाल्दै आउनुभएको छ । बालुवा चालेर एक दिनमा चार सयदेखि पाँच सयसम्म कमाउने गरेको उहाँ बताउनुहुन्छ । “असार १ गतेको बाढीले खेत बगायो,” उहाँले भन्नुभयो, “कमाइखाने भाँडो नभएपछि अहिले बालुवा चालेर गुजारा गर्ने गरेको छु ।” ‘चाडपर्वमा बालबच्चालाई लुगा, कपडा किन्दिनै प¥यो, अलिअलि खर्च हुन्छ कि भनेर बालुवा बेच्न लागेका छौँ,” उहाँले थप्नुभयो ।

विशेषगरी असारदेखि असोज महिनासम्म यहाँको माझी समुदायले बालुवा चालेर बेच्ने गरेका छन् । बालुवा चाल्ने सिजन सकिएलगत्तै उनीहरूको दिनचर्या जाली भर्ने काममा बित्ने गरेको छ । दशैँको रमझममा अन्य व्यक्तिहरू किनमेलमा व्यस्त भए पनि उनीहरू भने दशैँलगत्तै आउने तिहारको समेत तनावमा थिए । तिहार खर्चका लागि समेत अहिलेदेखि नै जोहो गर्दै गरेको उनीहरूको भनाइ छ ।

माझी समुदायमा सीप र शिक्षा नभएका कारण बालुवा चालेर गुजारा गर्न बाध्य भएको वडाध्यक्ष रामझी माझी बताउनुहुन्छ । असार १ गतेको बाढीपछि बगरमा काम गरेर गुजारा गर्ने व्यक्ति बढेको उहाँले बताउनुभयो । “पहिला दुई हजार रोपनी खेत थियो । बाढीले सबै खेत बगर बनायो,” वडाध्यक्ष माझीले भन्नुभयो, “पहिला धान, आलु लगाउने गरिएको थियो ।” दशकौँ पहिला माझी समुदायको पेसा बिहान ५, ६ बजे उठ्ने, बगरमै खाने, बस्ने, बगरमै सुत्ने थियो । बिरामी भयो भने उपचार गर्न र घरखर्च चलाउन सो पेसा अँगाल्दै आएका थिए । “यो पेसा दिगो होइन, हामी विकल्पमा केही उपाय सोचिरहेका छौँ,” वडाध्यक्ष माझीले भन्नुभयो, “जिन्दगी चलाउने हिसाबले यो काम नगर्न‘स् भनेर भनेका छौँ ।”

अहिले पनि माझी समुदायका चार सय घरधुरीका ९५ प्रतिशतले यस पेसाबाट गुजारा गर्दै आएका छन् । वडाबाट बङ्गुरपालन, कुखुरापालनलगायतमा जोड्ने काममा अनुदान दिइरहेको उहाँले बताउनुभयो । कृषिमा आधुनिकीकरणसँगै केही किसानलाई अनुदानका रूपमा टनेल र तरकारीको बीउ वितरण गरेको उहाँको भनाइ छ ।