स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख ६ गते । मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दुईदिने अभियानमा ३३ हजार तीन सय १० बालबालिकालाई भिटामिन ‘ए’ तथा २९ हजार तीन सय ९९ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिइएको छ ।
जसका लागि जिल्लाभरीमा चार सय ७२ जना स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ ।
मकवानपुरको १० पालिकामध्ये हेटौँडा उपमहानगरपालिकाका १४ हजार पाँच सय ८७ जना, थाहा नगरपालिकाका दुई हजार ६ सय ८३, इन्द्रसरोवरमा नौ सय ४६, कैलाशमा एक हजार चार सय ९८, राक्सिराङमा एक हजार ८ सय २५, मनहरीमा तीन हजार पाँच सय ३९, भीमफेदीमा एक हजार चार सय ७९, मकवानपुरगढीमा एक हजार सात सय ६, बकैयामा दुई हजार नौ सय ६ र बागमतीमा दुई हजार एक सय ४१ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने लक्ष्य लिइएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाका १२ हजार ८ सय ७३ जना, थाहा नगरपालिकाका २ हजार ३ सय ६८, इन्द्रसरोवरमा ८ सय ३५, कैलाशमा १ हजार ३ सय २२, राक्सिराङमा १ हजार ६ सय ११, मनहरीमा ३ हजार १ सय २५, भीमफेदीमा १ हजार ३ सय ६, मकवानपुरगढीमा १ हजार ५ सय ४, बकैयामा २ हजार ५ सय ६५ र बागमतीमा १ हजार ८ सय ९० बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।
कार्यालयका अनुसार दश पालिकामध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ७३ जनालाई जुकाको औषधी र १४ हजार पाँच सय ८७ जनालाई भिटामिन ‘ए’ खुवाइने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका इन्द्रसरोवरमा नौ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र ८ सय ३५ लाई जुकाको औषधी खुवाइने भएको हो ।
सूचना अधिकारी घिमिरेका अनुसार हरेक वर्ष दुई चरणमा सरकारले देशैभरका उमेर लक्षित बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।
यसअघि मकवानपुरमा कात्तिक २ र ३ गते पहिलो चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको थियो । साथै घर नजिकैको खोप केन्द्रमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनसमेत जनस्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।