• ११ असोज २०८१, शुक्रबार

ढलका लागि भत्केको सडक पिच नहुँदा दमक बजार धुलाम्य

blog

कालोपत्रे भत्काएर बनेको धुलाम्मे सडक।

विष्णुप्रसाद पोखरेल

दमक, असोज १६ गते। ढलमार्फत प्रशोधन गरेर विद्युत् तथा मल उत्पादन गर्ने योजना अन्तरगत पाइप बिछ्याउने क्रममा भत्काइएको दमक बजार तथा चोक आसपासका सडक पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्य बनेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

भत्काइएको सडक पाइप लाउनसाथ पुरेर पिच गर्दा समस्या नहुने भए पनि यसमा ढिलाइ गर्दा समस्या भएको पाइएको हो। सडक धुलाम्य हुँदा बालबच्चा बिरामी परेको दमक ६ का सुयोग खरेलले गुनासो गर्नुभयो। 

दमक ७ का व्यवसायी टीकाराम खतिवडाका अनुसार धुलोका कारण व्यापार पनि चौपट भएको छ। दमक ६ बाट चक्रपथ जानेबाटोको अवस्था पनि धुलोले बिजोग छ।

ढल निर्माणको क्रममा भत्काइएको सडक बनाउने जिम्मेवारी स्वयं ढलको काम गरिरहेको निर्माण कम्पनीको नै रहेको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तरगत दमक नगरपालिका ढल निर्माण योजनाको काम स्वामीनारायण निर्माण सेवा विराटनगरले लिएको छ। एक वर्ष अघि भत्काइएका सडक अहिलेसम्म कालोपत्रे भइसकेका छैनन्।

आयोजना २०७७ असोज २६ गते सुरु भएको हो। आगामी २०७९ चैत २५ गतेसम्ममा यो काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो। दमक नगरपालिकाका प्रमुख राम थापाका अनुसार अहिले धुलाम्मे भएका र भत्काइएको सडक चाँडो बनाउनका लागि निर्देशन दिइएको छ। चाडपर्वको समयमा भत्काएको सडक कालोपत्रे गरिसक्ने जनाएको उहाँले बताउनु भयो।