• १२ असार २०८१, बुधबार

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज १५ गते । प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् भएको छ । 

सदरमुकाम बेनीमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । म्याग्दीका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद शर्मा नेपालले कार्यालयको उदघाटन गर्नुभयो ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत नेपालले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्न सबैले प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 

‘कानुनको सबैले पालना गरेको खण्डमा समस्या हुँदैन, त्यसैले निर्वाचन कानुन पालना नै स्वच्छ निर्वाचनका लागि पहिलो कदम हो’ मुख्य निर्वाचन अधिकृत नेपालले भन्नुभयो । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनसम्बन्धी सबै काम आजको दिनदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताउनुभयो । 

दलहरुले संयम भएर निर्वाचनमा सहभागी हुनुपर्ने उहाँको भनाइ छ । मनोनयन दर्ताको क्रममा पनि दलहरुले आपसी समझदारी गरेर पालैपालो दर्ता गर्दा राम्रो हुन्छ उहाँले भन्नुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटनपछि निर्वाचन आचारसंहिता सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल गरिएको छ । छलफलको क्रममा असोज २३ गते हुने मनोनयन दर्ताको क्रममा बढीमा २५ जना मात्रै सहभागी हुन मुख्य निर्वाचन अधिकृत नेपालले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी र नेपाली कांग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले धारणा राख्नुभएको थियो ।