• १६ भदौ २०८१, आइतबार

पूर्वका विभिन्न हलमा ‘के’ प्रदर्शन गरिँदै

blog

फिदिम, असोज १५ गते । ‘के’ अर्थात् च्याब्रुङ याक्थुङ लिम्बू जातिको भाषा, कला र आयसँग जोडिएको लोकप्रिय परम्परागत बाजा हो । ‘के’ गाई गोरुको छाला विना बनाउन सम्भव छैन । कानुनतः नेपालमा गाई गोरु मार्न पाइँदैन । यो प्रावधानले  ‘के’ बाजा संरक्षण र जीविकोपार्जनमा बाधा उत्पन्न हुनुका साथै सांस्कृतिक अधिकार हनन भइरहेको छ । यही मुख्य र यथार्थ विषयवस्तुमा आधारित भएर बनाइएको चलचित्र ‘के’ पूर्वका विभिन्न हलमा प्रदर्शनरत छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कृत ‘के’ बिहीबार फिदिमको छाब्दी वाराही चलचित्र मन्दिरमा विशेष प्रदर्शन गरियो । शनिवार झापाको कर्खा र कात्तिक ७ गते भद्रपुरमा देखाइने निर्देशक सागर केरुङले बताउनुभयो । दसैँ तिहार अवसरमा इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरीमा पनि देखाइने ‘के’ का कथाकार पनि रहेका सागरले सुनाउनुभयो । पाँचथरका विभिन्न ठाउँमा खिचिएको लिम्बू नेपाली भाषामा आधारित ‘के’ याक्थुङ फिल्म प्रालि व्यानरको हो । बुद्धराज लिम्बूको प्रस्तुतिमा टाइसन केरुङद्वारा निर्मित ‘के’मा सङ्गीत प्रेम पन्धाक, छायाङ्कन सञ्जय आचार्य, ड्रोन सञ्चालन मेघराज मगरातीको छ । यसमा मुख्य सहायक निर्देशक डिआर हाङ्सरुम्बा, सहायक निर्देशक सन्देश सुब्बा र शृङ्गार कर्मीमा अनुपा नेम्बाङ हुनुहुन्छ । कलाकारहरू मधु केरुङ, प्रेम ओझा, सुकमिता केरुङ रुपा आङ्बुहाङ, मनकुमार केरुङ, सुदर्शन थेबे, कमल घिमिरे, बबिता फोम्बो, लगायत हुनुहुन्छ । 

‘के’मा झन्डै एक हजार कलाकारले ‘के’ बाजा नै बजाउँदै नृत्य प्रस्तुत गरेको रोमाञ्चक दृश्य देख्न पाइन्छ । नेपाल आदिवासी चलचित्र महोत्सव–२०७६ विजेता, फाल्गुनन्द लिङ्देन फिल्म प्रतियोगिता–२०२० मा जुरी एवार्डसहित विजेता बन्दै ‘के’ पुरस्कृत भएको हो । पाटाया थाइल्यान्डमा भएको जोमो गान चलचित्र महोत्सव–२०१९ मा शीर्ष पाँचौँ र अमेरिका न्यूयोर्कमा–२०२१ मा सम्पन्न प्रतियोगितामा उत्कृष्ट कथा पुरस्कार पायो ।

लिम्बू बहुल पाँचथरमा बनाइएको ‘के’ चलचित्र पुरापुर मोफसलबाट बनेको निर्माण पक्षको दाबी छ । ‘के’ चलचित्र निर्माण गर्ने सम्पूर्ण जनशक्ति पाँचथर ताप्लेजुङवासी रहनुका साथै सम्पादन समेत फिदिममा गरिएको हो । अस्ट्रेलिया, युके, हङ्कङ, मलेसियामा विशेष प्रदर्शन भएको ‘के’ काठमाडौँ, पोखरामा पनि देखाइएको प्रस्तोता बुद्धराज लिम्बूले बताउनुभयो । कोरोना प्रकोप प्रभावले आम दर्शकलाई देखाउन ढिलो भएको ‘के’ पूर्वमा विशेष प्रदर्शन गरिसकेपछि युट्युबमार्फत सार्वजनिक गरिने पनि उहाँले सुनाउनुभयो ।

Author

नारायण तुम्बापो