गाईघाट, असोज १५ गते । उदयपुरको त्रियुगा नगरपालिका–१ र २ को जोगीदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण क्षेत्रमा रहेका रुख कटान गर्न सुरु गरिएको छ । उदयपुरवासीको बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि अनेक प्रकारका कानुनी झन्झटहरू पार गरी अब भने बल्ल रुख कटान गर्न सुरु गरिएको हो ।
वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधारहरू निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भनी २०७८ माघ २४ गते सम्झौता सम्पन्न भएअनुसार नागरिक उड्डयन प्राधिकरणले रुख कटानका लागि आह्वान गरेको बोलपत्र स्वीकृत भएपछि निर्माण व्यवसायीले रुख काट्न थालेका हुन् ।
राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम अगाडि बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राखेर काम अघि बढाएको हो ।
सम्झौतामा विमानस्थल निर्माणका लागि वन क्षेत्रमा छुट्याइएको १५६ दशमलव ११ हेक्टर क्षेत्रफलमध्ये १०५ दशमलव १० हेक्टर क्षेत्रफलमा रहेका रुखहरू मात्र काटिनेछ । बाँकी रहेको ५० दशमलव ४१ हेक्टर क्षेत्रफलमा रहेका रुखहरू कटान गर्न नपाउने र यथास्थितिमा हरियाली कायम राख्नु पर्ने उल्लेख गरिएको छ ।
सोअनुसार नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण गरिने क्षेत्रको मोतीयाही सामुदायिक वन उपभोक्ता समूहको ६२.३० हेक्टरको चार हजार ३५७ वटा र कङ सामुदायिक वन उपभोक्ता समूहको ४२.८० हेक्टर क्षेत्रमा रहेको विभिन्न जातको नौ हजार २८० वटा गरी १३ हजार ६३७ वटा रुख कटान गर्न ठेक्का आह्वान गरेको थियो । बिहीबारसम्ममा १६२ वटा सखुवाका रुख कटान गरिएको व्यवसायी खिलाराज पोखरेलले बताउनुभयो ।
‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नेपाल सरकारको पूर्वघोषित नीतिअनुसार नै उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को जोगीदहमा एटीआर ७२ डिजाइनको जेटस्टिम एभ्रो विमान उडान र अवतरण गर्न सक्ने क्षमताको विमानस्थल बनाउन लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यहाँ एक हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, दुई सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी गुड्ने दुईवटा सडकसमेतका लागि १५६.११ हेक्टर वन क्षेत्रको जग्गा अधिग्रहण गरिएको छ । अब रुख कटानसँगै विमानस्थल निर्माणको कामले गति लिएको सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेतले बताउनुभयो ।