• १८ साउन २०८२, आइतबार

सामाजिक सुरक्षा भत्ता लिन सास्ती

blog

मन्थलीस्थित एक बैङ्कमा सामाजिक सुरक्षा भत्ताको प्रतीक्षामा नागरिक । तस्बिरः गोरखापत्र

रामेछाप, असोज १५ गते । सामाजिक सुरक्षा भत्ता लिने नागरिकले सहजै रूपमा आफ्नो रकम लिऊन् भन्दै सरकारले बैङ्कमार्फत भुक्तानीको व्यवस्था मिलाएको छ । रामेछापमा भने बैङ्कहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा नागरिकले सास्ती बेहोर्नु परेको छ । 

दशैँको मुखमा स्थानीय तहले ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका तथा लोपोन्मुख समुदायका लागि सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ तर लक्षित समुदायलाई बैङ्कमा गएर भत्ताबापतको रकम निकाल्न मुस्किल परेको छ । रामेछाप जिल्लाका सबै बैङ्कमा भत्ता लिनेको भीड लागेको छ । बैङ्कहरूले व्यवस्थापन गर्न नसक्दा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू घण्टौँ लाम लाग्न बाध्य छन् । 

चर्काे घाममा लामो समयसम्म लाम लागेर भत्ता लिनुपर्ने बाध्यता रहेको रामेछापको मन्थली नगरपालिका–९, पुराना गाउँकी ७५ वर्षीया धनमाया श्रेष्ठले बताउनुभयो । “वृद्धावस्थामा गाउँबाट सदरमुकाम मन्थली आउन नै समस्या छ, भनेको बेला बस पाइँदैन । बैङ्कमा वृद्धवृद्धालाई बस्ने ठाउँसमेत छैन । वृद्धावस्थाका अशक्त नागरिकहरू तातो घाममा घण्टौँ खाली भुइँमा बस्न बाध्य छन्,” उहाँले भन्नुभयो । भत्ता निकाल्न बैङ्कमा दिनभरि लाममा बस्नुपर्नेलगायतका समस्या हुँदासमेत सम्बन्धित निकायले सहज बनाउनेबारे केही ध्यान नदिएको मन्थली नगरपालिका–३ की ७३ वर्षीया हीरादेवी बरुवाल बताउनुहुन्छ । “गलेको शरीर झनै गल्छ, बूढाबूढीको यो दुःख कसैले देखेनन्,” उहाँले भन्नुभयो । 

मन्थली नगरपालिकाका पाँच हजारभन्दा बढी नागरिकलाई दशैँअघि सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको छ । नगरपालिकासँग सम्झौता गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सदरमुकाम मन्थलीका १३ वटा बैङ्कले उचित व्यवस्थापन गर्न नसक्दा नागरिक सास्ती बेहोर्न बाध्य छन् । नगरपालिकाका पञ्जीकरण शाखाकी एमआईएस अपरेटर सबिना श्रेष्ठले अहिले नगरपालिकाका पाँच हजार १६६ जनाका लागि सामाजिक सुरक्षा भत्ता निकासा भएको बताउनुभयो । ८० वर्ष कटेका वृद्धवृद्धा र अशक्त नागरिकलाई वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।