• ११ असोज २०८१, शुक्रबार

ताप्लेजुङ पर्यटन महोत्सव सम्पन्न

blog

पर्यटन महोत्सवमा सिँगारिएको फुङ्लिङ बजार। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १४ गते। ताप्लेजुङमा तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ सम्पन्न भएको छ। जिल्लाको पर्यटन प्रवर्द्धन तथा धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) को प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव बिहीबार सम्पन्न भएको हो। 

सदरमुकाम फुङ्लिङमा मङ्गलबार, बुधबार र बिहीबार तीन दिन आयोजना गरिएको पर्यटन महोत्सव हर्षोल्लासका साथ सम्पन्न भएको छ। पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र जिल्लास्थित नेपाली सेनाको भीमकाली गुल्मले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा खेलकुद, मनोरञ्जनलगायत विविध कार्यक्रमका सम्पन्न भएको छ। 

महोत्सव मूल आयोजक समारोह समितिका संयोजक एवं पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले विगतमा भन्दा यसपटक अझ बढी गतिविधिका साथमा महोत्सव सम्पन्न गरिएको बताउनुभयो। उहाँकाअनुसार यस वर्ष साहसिक तथा खेलकुद गतिविधिमा साइक्लिङ, रक क्लाइबिङजस्ता गतिविधि थप गरिएका थिए। 

बाँकी विगतमा झैँ खुला तथा महिला हाफ म्याराथन (दौड), खाद्य परिकार महोत्सव, औद्योगिक प्रदर्शनी मेला, फोटो प्रदर्शनी लगायतका स्टलहरू राखिएका थिए। यस्तै महोत्सवकै अवसरमा अन्तरपालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिता र खुला बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको थियो। यता महोत्सवको तीनै दिन स्थानीय तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहेको आयोजक समिति सदस्य एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। 

महोत्सवमा सहभागी पाहुना तथा पर्यटकले प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुका साथै मिक्वाखोला गाउँपालिकामा रहेको फुङफङ्गे झरनासमेतको अवलोकन गरेका आयोजकले जनाएको छ। यता यस वर्षको महोत्सव अवधिभर करिब एक लाखले सहभागिता जनाएका बताइएको छ।