विष्णुप्रसाद पोखरेल
दमक, असोज १४ गते । केही दिन अघिसम्म अस्तव्यस्त रहेको दमक बसपार्क अहिले स्थानीयहरुको प्रयासमा आकर्षक बनेको छ । चाडपर्वलाई लक्षित गरी साथीभाइ नामक समूहले बसपार्कको स्वरुप नै परिवर्तन गरेको हो ।
बसापर्कभित्रको खाली जमिन झाडीले सर्प लुक्ने र लागुऔषध प्रयोगकर्ताले प्रयोग गरेको सिरिन्ज तथा औषधिको ट्याब्लेट फ्याल्ने ठाउँमा परिणत भएको थियो । साथीभाइ समूहले सरसफाइसँगै विभिन्न प्रकारका फूल रोपेपछि अहिले झाडी फूलबारीको रुपमा विकास भएको छ ।
यातायात व्यवसायी, यातायात मजदुर, स्थानीय सामाजिक सङ्घ संस्थामा क्रियाशील युवाहरु समेतको सहभागितामा एक महिना अघिदेखि निरन्तर बसपार्कमा सफाइ अभियान र फूलबारी निर्माण भइरहेको छ । समूहका अध्यक्ष गङ्गाप्रसाद सिटौलाका अनुसार दैनिक १ देखि २ घण्टासम्म १५ देखि २० जना बसपार्कको सुन्दरता बढाउन लाग्ने गरेका छन् ।
“बसपार्कको रङरोगन, भत्केका यात्रु प्रतीक्षालयको मर्मतसम्भार, कुहिएको फोहोरमैला र अनावश्यक झाडीलाई हटाएपछि अहिले बसपार्कजस्तो बनेको छ” सिटौलाले भन्नुभयो । अब बसपार्कमा जथाभावी फोहोर फाल्ने अभियानमा आफूहरु रहेको उहाँले बताउनुभयो ।
रङरोगन गर्नुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना कार्यक्रमलाई पनि अघि बढाएका छौं, समूहका सदस्य चन्द्र खत्रीले भन्नुभयो । बसपार्कमा यात्रुलाई तानातान गर्ने, एकले अर्को गाडीलाई उछिन्ने, यात्रुमाथि दुर्व्यवहार गर्नेजस्ता कार्य बसपार्कभित्र रोकेर बसपार्कलाई सुरक्षित स्थल बनाइने उहाँको भनाइ छ ।
नेपालको पहिलो अपाङ्गमैत्री बसपार्कको रुपमा यो रहेको र दैनिक करिब १५ हजार यात्रुले ओहोरदोहोर गर्नेगरेको दमक नगरपालिकाको यातायात तथा ट्राफिक व्यवस्थापन समितिका संयोजकसमेत रहेका वडा २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । २ बिघा १ कठ्ठा क्षेत्रफलमा फैलिएको बसपार्क सञ्चालनका लागि नगरपालिकाले कार्यविधि पनि बनाएको छ ।
तीन वर्षअघि करिब १० करोड लागतमा बनेको बसपार्कमा निर्माण भएको टर्मिनलबाट एकीकृत रुपमा टिकट काट्ने गरिएपछि दमकमा रहेका अव्यवस्थित टिकट काउन्टरहरु हटेका छन् । टर्मिनलमा काउन्टरसहित १७ कोठा छन् । यसमा शौचालय, स्नानगृह, रेष्टुरेन्ट लगायतको सुविधा छ ।