• ८ मंसिर २०८१, शनिबार

घुमघाममै रमाइलो

blog

जीवन एक प्रकारले यात्रा हो । घुमन्ते, फिरन्ते जीवनशैलीबाटै मानिस उन्नत समाजमा आइपुगेको हो । त्यो गुण मानव समाजमा अहिले फरक ढङ्गले अघि बढिरहेको छ । नयाँ ठाउँ, फरक परिवेशका प्राकृतिक, सांस्कृतिक सम्पदाको अवलोकनमा मानिस रमाउँछ किनकि मानिस जिज्ञासु स्वभावको छ । मानिस फिरन्ते मनोवृत्तिको हुन्छ । मानिस नयाँ नयाँ अनुभव, अनुभूति सँगाल्न चाहन्छ । 

वर्षा सकिएर शरद् यामको समयमा नेपालको भौगोलिक वातावरण पनि स्वच्छ, सफा र हरियाली देखिन्छ । बगरमा सेताम्य काँस फुल्न थालेका छन् । तराईतिर धान फुल्न थालेको छ । यो त दशैँ नजिकिएको सङ्केत हो । यस्तो मौसमबीच घुमघाममा रमाउने कतिपय नेपालीलाई दशैँको बिदा एउटा मौका बन्दै आएको छ । दशैँपछि लगत्तै तिहार र छठले नेपाली समाज पर्वमय बन्छ । 

दशैँ आफैँमा घुमफिर गर्ने पर्व हो । परिवारका ज्येष्ठ सदस्यबाट दशैँको टीका ग्रहणपछि माइती, मावली, ससुराली तथा आफन्तजनका घरमा टीका ग्रहणका लागि जाने प्रचलन छ । त्यति मात्र होइन देशविदेश पुगेका लाहुरे दशैँका बेला लर्को लागेर घर फर्कन्छन् । यद्यपि, बदलिँदो परिदृश्यचाहिँ के भने दशैँ मनाउन नेपालबाट विश्वका अन्य देशतिर जाने चलनसमेत सुरु भएको छ । दशैँ बिदामा घुम्न र विदेशमा रहेका आफन्त तथा परिवारजनसँग यो चाड मनाउन जाने चलन पछिल्लो समय नेपाली समाजमा देखिएको छ । यसले नेपाली र नेपालको घुफफिर संस्कृतिमा टेवा पु¥याएको छ । यद्यपि, नेपालीको विदेश घुम्न जाने बढ्दो क्रमले नेपालमा डलर सञ्चितिमा चाहिँ प्रभाव पर्दै गएको यसका विज्ञहरूको धारणा छ ।

नेपालीको घुमुवा जीवन

घुमन्ते संस्कृति नेपाली समाजमा नयाँ होइन । जाडोमा हिमालतिरबाट बेँसीतिर झर्ने र गर्मी सुरु भएपछि बेँसीबाट लेकतिर उकालो लाग्ने नेपाली जीवन प्रवृत्ति पुरानै हो जुन अहिले पनि कायमै छ । बजारको विस्तार भई नसकेको अवस्थामा कुम्लो बोकेर गाउँगाउँमा व्यापार गर्न जाने प्रचलन हाम्रो समाजमा थियो । दशैँ सुरु हुनुअघि तराई मूलका कुम्ले व्यापारी गाउँगाउँ डुल्थे । हिमालतिरबाट राडीपाखीको व्यापार चल्थे । राँगा, खसी, बोका, भेडा, च्याङ्ग्राको व्यापार बढ्थे । 

यस्ता घुमफिरले नयाँ ठाउँको रहनसहन, जीवनशैली, फरक संस्कृति र परम्परा बुझ्न मानिसलाई सहयोग पु¥याउँछ । यसले मानिसलाई सामाजिकीकरण हुनसमेत सहयोग पुग्छ । समाज र प्रवृत्ति बुझ्न मानिसलाई सघाउँछ । त्यसकै विकसित रूपमा आज घुमफिर संस्कृति विकास भइरहेको छ । यसले गाउँगाउँमा घरबासको विकासमा टेवा पु¥याएको छ । यसले ग्रामीण अर्थतन्त्रमा सहयोग पु¥याएको छ । नयाँनयाँ पर्यटकीय गन्तव्यको विकास भइरहेको छ । साइकलबाट नेपालका हिमाल, तराई र पहाड नापिसकेका देवेन्द्र बस्न्यातका अनुसार नेपालको जहाँ पुगे पनि फरक आनन्द आउँछ । साइकलमा घुमे पनि, मोटरसाइकलमा डुले पनि या पदयात्रामा हिँडे पनि घुम्नुको आनन्द शब्दमा बाँड्न नसकिने साइकलयात्री बस्न्यातको धारणा छ । घुमन्तेका लागि दशैँ नै पर्खन नपर्ने तर चाडबाडका बेला नेपालमा घुमफिर संस्कृति बढ्दै गएको बुझाइ उहाँको छ ।

यात्रा सिर्जना

दशैँ घुमफिरलाई सिर्जनात्मक कलाका रूपमा समेत उतार्न सकिन्छ । तस्बिर र भिडियोग्राफीमा रुचि हुनेले घुमघाम र घुमिएका क्षेत्रका महìवपूर्ण समय र दृश्यलाई सङ्ग्रह गर्न सकिन्छ । 

नेपाली साहित्यतिर फर्केर हेर्ने हो भने नियात्रा अर्थात् यात्रा संस्मरणको ठूलो क्षेत्र छ । नियात्राकार तारानाथ शर्मा (ताना शर्मा) ले बेलायत घुमेर फर्केपछि लेख्नुभयो, ‘बेलाईततिर बरालिँदा’ । यो चर्चित कृतिले २०२६ सालमा मदन पुरस्कार नै पायो । उहाँको ‘पाताल प्रवास’ पनि उत्तिकै रोमाञ्चक छ । त्यसो त २०२४ सालतिर डोटीमा एसएलसी परीक्षा सञ्चालन गर्न पुगेका ताना शर्माले त्यही यात्राको वर्णनका रूपमा ‘घनघस्याको उकालो काट्दा’ निबन्ध लेख्नुभयो । यो निकै चर्चित निबन्धका रूपमा लिइन्छ । कक्षा १२ को नेपाली पाठ्यक्रममा अहिलेसमेत ‘घनघस्याको उकालो काट्दा’ रहेको छ । 

त्यसो त श्री ३ जङ्गबहादुर राणा युरोप भ्रमणबाट फर्केपछि ‘जङ्गबहादुरको बेलायत यात्रा’ लेखियो जुन पुस्तकले १७१ वर्षअघिको यात्रा वर्णन बुझ्न मद्दत गर्दछ । लैनसिंह वाङ्देलका रोमको एउटा फूल र प्यारिसको एउटा काँडा, युरोपको चिठ्ठी, मञ्जुलको सम्झनाका पाइलाहरू, नारायण ढकालको शोकमग्न यात्रीहरू, मोहन मैनालीको मान्छे डराएको जुग, धच गोतामेको तीन बास, युवराज नयाँघरेको घामको चुम्बन, अनाम पहाडमा फनफनीलगायत सयौँ नियात्रा पुस्तक नेपाली साहित्य भण्डारमा छन् । यी सबै घुमघामका प्रतिफल हुन् । घुमघामबाट स्थानीय कला, संस्कृति, सभ्यता, भाषा, जनजीवन, प्राकृतिक सौन्दर्य, जनताका दुःख सुखजस्ता विषयलाई उजागर गर्छ । यसले नेपाली साहित्यको भण्डारमा एउटा कृति मात्र होइन, नेपाली समाज बुझ्नसमेत आमपाठकलाई सहयोग पु¥याउँछ ।

घुमघाम कहाँ गर्ने ? 

घुमघाम भनेपछि खर्चको जोहो र समयको व्यवस्थापन आवश्यक हुन्छ । के उद्देश्यका लागि घुम्ने ? कति खर्च गर्नसक्ने क्षमता छ ? समय कति निकाल्न सकिन्छ ? यस्ता प्रश्नको सम्बोधनपछि घुमघाम कहाँ गर्ने भनेर निक्र्योल गर्नुपर्ने हुन्छ । साथीभाइ वा परिवार कोसँग घुम्न जाने हो ? त्यसमा समेत कहाँ जाने भन्ने निर्णय गर्न सजिलो हुन्छ । सरकारले घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यलाई समेत ध्यानमा राखेर घुमघामका योजना बनाउन सकिन्छ । जसअनुसार सात प्रदेशका एक महìवपूर्ण स्थानका रूपमा इलामको सन्दकपुर, धनुषाकोे जनकपुरधाम, मकवानपुरको इन्द्रसरोवर, कास्कीको पञ्चासे, कपिलवस्तुको निग्लिहवा, कर्णालीको मुगु रारा र सुदूरपश्चिमको कैलालीको भादागाउँ रहेका छन् । जुन ठाउँलाई घुमघामको रोजाइ बनाउन सकिन्छ । 

हिमाली भेग या पहाडी गाउँतिरका जनजीवन नियाल्न मन छ कि ? तराईको जीवनशैली र संस्कृति बुझ्न मन छ कि ? इतिहासका कथा पछ्याउँदै गढी किल्लातिर चढ्न मन छ कि ? जातीय विविधतायुक्त गाउँबस्तीका कला र संस्कृतिका भेदहरू खोज्न मन छ कि ? प्रकृतिका सुन्दर दृश्यतिर मन लोभिएका छन् कि ? त्यो घुमुवाको रोजाइको विषय हुन् । त्यसमाथि परिवार, साथीभाइ कोसँग जाने हो ? यिनै आधारमा ठाउँको छनोट गर्नुपर्ने हुन्छ । हामीले घुम्ने भनेपछि पोखरा, इलाम र लुम्बिनी बुझ्छौँ । तर, नेपालको भौगोलिक, भाषिक, सांस्कृतिक विविधताले घुमघामका लागि धेरै विकल्प दिएको छ । 

दुई दशकदेखि घुमघाममा रमाउँदै आउनु भएका राजाराम फुयालका अनुसार नेपालका हरेक गाउँबस्ती, खोलानाला, वनपाखा र हिमालका फरक फरक विशेषता छन् । काठमाडौँ वरपरकै डाँडापाखा घुम्दा पनि फरक जीवनशैली, संस्कृति र सौन्दर्य देख्न सकिन्छ । कहिले एक्लै त कहिले समूहमा नेपालका ५० भन्दा बढी जिल्ला घुमिसक्नु भएका फुयाँल पदयात्राका लागि नेपाल विश्वकै गन्तव्यस्थल बन्न सक्ने बताउनु हुन्छ । 

यद्यपि, बिनायोजना वा एक्लै घुमघाममा निस्कने प्रवृत्तिसमेत युवा पुस्तामा चल्तीमा छ । युवा पुस्ताको घुम्ने संस्कृतिले साहसिक पर्यटनको विकासमा समेत टेवा पुगेको छ । बन्जी, जिपलाइन, राफ्टिङ, साइक्लिङ, बाइकिङ, जङ्गल सफारी, पदयात्राजस्ता साहसिक यात्रामा युवापुस्ता आकर्षित छन् । नेपालमा घुम्ने संस्कृति बढेको छ । यद्यपि, कहाँ जाने, कहाँ बस्ने ? पथप्रदर्शक लिनेजस्ता व्यवस्थित घुमघाम संस्कृतिको विकासचाहिँ हुन सकेको छैन ।

नेपाली पर्यटक खोज्दै

खैरा वर्णका मानिस मात्रै पर्यटक हुन् भन्ने भ्रम नेपाली पर्यटन व्यवसायीमा लामो समयसम्म रह्यो । यद्यपि, कोभिडपछिका दिनमा आन्तरिक पर्यटकका लागि समेत पर्यटन व्यवसायीले प्याकेज ल्याउन थालेका छन् । त्यसो त कोभिडपछि नेपालको पर्यटनलाई चलायमान बनाउन कर्मचारीलाई बिदासहित बजेटको व्यवस्था गर्ने नीति सरकारले बजेटमार्फत ल्याएको हो । तर त्यो कार्यान्वयनमा लैजान सरकारले त्यति इच्छा देखाएन । यद्यपि, कतिपय व्यावसायिक संस्थाहरूले आफ्ना कर्मचारीका लागि बजेटसहित पर्यटन बिदा दिने गरेको पाइन्छ । यसले मुलुकको आन्तरिक पर्यटनमा महìवपूर्ण टेवा पुर्याउने विश्वास गरिन्छ । सिन्धुली मुल्कोटका होटल व्यवसायी मनोज श्रेष्ठ आफ्नो रिसोर्टका अधिकांश पाहुना स्वदेशी नै हुने गरेको बताउनु हुन्छ । चाडबाडका बेला घुमफिरको संस्कृति बढ्दै गएको बुझाइ उहाँको छ ।

Author

दीपक श्रेष्ठ