सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, असोज १४ गते । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को साँगाचोक आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न पाठेघर स्वास्थ्य शिविरमा ग्रामीण भेगका २२६ महिला लाभान्वित भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा शिर मेमोरियल अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा पाठेघरको समस्या भएका महिलाले उपचार पाएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले शिविरमा पाठेघरको मुखको क्यान्सर, पिसाब चुहिने रोगको पहिचान र उपचार, भिडियो एक्स–रेलगायतका विभिन्न रोगको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो । नगर स्वास्थ्य प्रमुख शिव पुरीले २६ जना महिलाले आङ खस्ने उपचार, १२ जनाले रिङ प्रेसर उपचार पाएको बताउँदै २०१ जनाको भीआईए परीक्षण गर्दा सात जनामा पोजेटिभ देखिएको बताउनुभयो ।
ग्रामीण महिलामा पाठेघरको सुरुवाती क्यान्सर, आङ खस्ने, सेतो पानी बग्ने समस्या र विभिन्न यौनरोग बढी पाइएको उपचारमा संलग्न परोपकार प्रसूति सेवा केन्द्रकी डा. सुनिता थापाले जानकारी दिनुभयो । उपचार गर्न आएका महिलामध्ये पाठेघरमा घाउ भएका र क्यान्सरका लक्षण देखिएका महिलालाई थप उपचारको व्यवस्था गरिने नगरप्रमुख सापकोटाले बताउनुभयो । कम उमेरमा विवाह गर्ने, खानपान र सरसफाइमा ध्यान नदिने, धैरै बच्चा जन्माउने र रोग प्रतिरोधात्मक क्षमता कम भएका महिलालाई पाठेघरको क्यान्सर हुने देखिएको डा. थापाले बताउनुभयो ।