काठमाडौँ, असोज १२ गते । काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिनुभयो ।
कार्यालयले दसैँ, तिहार, छठलगायत
चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन
गरिएको छ ।
खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन
गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको
प्रवक्ता भट्टले जानकारी दिनुभयो । आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन
गर्ने ९८ लाई कारबाही गरिएको छ । कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम
नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उहाँले बताउनुभयो । उहाँले
भन्नुभयो, “पाङ्ग्रा नै प्वाल पर्न
लागेको अवस्थामा समेत चलाएको पाइएको छ ।”
कार्यालयले यातायात व्यवस्था विभाग, यातायात
व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको
छ । आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताउनुभयो
। लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका
छन् ।
उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा
जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले
जनाएको छ । उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र मादक
चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकाहरुको
सवारी साधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने स्थानमा
सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा
नचलाएको, दुई
जना चालक राखेका वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र
सवारीसधनको अवस्था कस्तो छ जाँच गरिरहेको उहाँले जानकारी दिनुभयो ।
दैनिक एउटा एउटा गरी नाकामा लागुपदार्थ
सेवनसम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले बताउनुभयो । आज तीन जना चालक फेला परेर
कारबाही अघि बढाइएको छ । तीव्र गतिमा सवारी साधन चलाएको जाँच भइरहेको छ ।
क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने सवारी
साधनलाई कारबाहीका लागि ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारी
साधनको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको
प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । न्युरोड क्षेत्रका लागि त्यहाँ जाने
सवारीसाधनलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कार्यालयले उपत्यकाबाट बाहिर जाने
सवारीसाधलाई पनि मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको जाँच गरिरहेको छ ।
चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी, बागमती किनार, बल्खु दोभानलगायत स्थानमा सवारीसाधन डाइभर्ट
गरिएको छ भने त्यहाँ आउने सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइने उहाँले
बताउनुभयो ।
उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सवारी
साधनलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि
विगतका वर्षहरुमा दसैँमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहले बढी
गतिमा चलाउने, मापसे
गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो ।
चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन
बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारी साधन
व्यवस्थापन गर्ने र उपत्यका बाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक
व्यवस्थापन कार्यालयले गर्छ । चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर
सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ ।
सडकमा सवारी साधन व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दसैँ, तिहारलगायत
चाडका समयमा सोत ड्युटी गर्दै आएका छन् । उहाँले भन्नुभयो, “थोरै सङ्ख्यामा घर गए पनि
धेरै दसैँभर पनि खटिने गरिएको छ ।”