• १६ भदौ २०८१, आइतबार

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

blog

फाइल तस्बिर

काठमाडौं, असोज १० गते । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। 

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको राससलाई जानकारी दिनुभयो। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो। मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उहाँले जानकारी दिनुभयो। 

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीन वटा हेलिकोप्टर  पठाइएको छ। यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ। 

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो। गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो। 

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ। मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरूका सहयोगी नेपाली आधार शिविरमा छन्। सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन्। 

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्। यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुली आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन्।रासस