• १३ साउन २०८१, आइतबार

सडकको दुरवस्थाले काठमाडौँ प्रवेशमा कठिनाइ

blog

मुरारी अधिकारी

धादिङ, असोज १० गते । काठमाडौं उपत्यका प्रवेशको मुख्य नाका त्रिभुवन राजपथको सिस्ने खोलादेखि थानकोटसम्म निर्माण गर्न लागिएको सुरुङमार्ग आसपासको सडक भत्किएपछि यात्रुलाई सास्ती भइरहेको छ । 

सधैँ व्यस्त हुने यस खण्डमा सडक व्यवस्थित नहुँदा यात्रा अहिले कष्टकर मात्र बनेको छैन, घण्टौँको जामले यात्रुले थप पीडा व्यहोर्नु परेको छ । चाडपर्व नजिकिएकाले सवारी साधनको चाप ह्वात्तै बढेका बेला सडकको दुरवस्थाले आवतजावतमा कठिनाइ भएको यात्रुले बताएका छन् ।

अझ विभिन्न ठाउँमा सवारी साधन बिग्रँदा लामो समयसम्म सडक जाम हुनेगरेको चालक प्रकाश पाण्डेले बताउनुभयो । सुरुङ मार्ग आयोजना स्थलमा काम भइरहँदा आसपासको सडक डिभिजन सडक कार्यालयले मर्मत गर्ने कि आयोजनाले गर्ने भन्ने विवादका कारण सडक मर्मत हुन नसकेको यात्रु राजन कार्कीले बताउनुभयो ।

सडकको अवस्थाबारे धेरै गुनासा आएपछि समाधानका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । निर्माण कसले गर्ने भन्ने विषयलाई तत्काल सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । 

बिग्रिएको सडकका कारण एकातिर सवारीको गति घट्न जान्छ भने लोड बोकेर आएका सवारी साधन बिग्रिएसँगै राजमार्ग एकातर्फी मात्र सञ्चालन गर्नेगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गणेशराज उप्रेतीले बताउनुभयो ।

सडकको दुरवस्थाले छोटो दूरी पार गर्न निकै समय लाग्नेगरेको उहाँले बताउनुभयो । 

बिरामी बोकेर दैनिक तीन सयभन्दा बढी एम्बुलेन्स राजमार्गमा कुद्ने गरेको र बाटोको समस्याले बिरामीको अकालमै ज्यान जानेगरेको उप्रेतीले बताउनुभयो ।

अहिले दैनिक १६ हजारको हाराहारीमा सवारीसाधन यस सडकमा आउजाउ गर्छन् । चाडबाड नजिकिएसँग यो सङ्ख्या बढेर दैनिक २५ हजारसम्म सवारी साधन गुडिरहेको उहाँको भनाइ छ ।