• १३ साउन २०८१, आइतबार

पारिवारिक पुनर्मिलनको चाड दशैँ

blog

दशैँ विशेषतः नेपालीले धुमधामका साथ मनाउने गर्छन्। यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष निकै गहिरो छ। यसले गर्दा दशैँलाई महìवका साथ हेर्ने गरिन्छ । सांस्कृतिक रूपमा हाम्रा हरेक चाडपर्वले दिने सन्देश अर्थपूर्ण मानिन्छ। अतः राष्ट्रिय चाडपर्वमध्ये दशैँलाई विशेष मान्ने गरिएको हो। यसबाट धार्मिक र सामाजिक सहिष्णुता बढाउन यसको भूमिका निकै प्रभावकारी देखिन्छ। 

नेपालमा वर्षको दुई पटक दशैँ मनाउँदै आइरहेका छौँ। नेपाली समाजमा परम्परागत रूपमा मनाइने दशैँका दुई पक्ष छन्। आश्विन शुक्ल पक्षमा मनाइने दशैँलाई बडादशैँ पनि भनिन्छ । चैत्र शुक्ल पक्षमा मनाइने दशैँलाई सानो दशैँ अथवा चैत महिनाको दशैँ भएकाले यसलाई चैते दशैँ भनिन्छ। संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो– ‘दशैँ’ । नेपालमा मनाइने विभिन्न चाडमा प्रमुख राष्ट्रिय चाड भएर नै यसलाई ‘बडा’ अर्थात् सर्वश्रेष्ठ चाड मानी ‘बडादशैँ’ भनिएको छ। संस्कृतिविद् पुण्यरत्न वज्राचार्यका अनुसार दशैँ किन भनियो भन्ने प्रश्नमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन धुमधामका साथ मनाउने भएकाले दशैँ भनिएको हो अर्थात् यो चाड मनाउने बेलामा गर्नुपर्ने दस संयम हो। यही संयम नै दशैँ भएको हुनुपर्छ। चैते दशैँ र बडादशैँ भनेर नेपाली समाजमा मनाइने गरेको चाड कतै चारपल्टसम्म मनाइने गरेको प्रमाण विगतका साहित्यमा भेटिन्छन्। देवीभागवतमा पनि चारैवटा दशैँको उल्लेख छ। भनिन्छ, पहिले चैत्र, आषाढ, आश्विन र पौष महिनामा पनि दशैँ मनाउने चलन थियो।

दशैँ कहिलेदेखि मनाउन थाले भन्ने विषयमा केही अभिलेखले यसो भन्छ, प्राचीन धर्मग्रन्थ र शास्त्रहरूका अतिरिक्त ऐतिहासिक सामग्री पाटन च्यासल टोलको लिच्छविकालका अभिलेखमा समेत ‘दशमी गोष्ठी’ शब्द पाइन्छ। जसअनुसार लिच्छविकालमा पनि दशैँ मनाउने चलन रहेको बुझिन्छ। यस्तै ‘ठ्यासफू’को प्रमाणबाट मल्लकालमा दशैँ धुमधामका साथ मनाइन्थ्यो भन्ने थाहा पाइन्छ। मल्ल राजाहरूका लागि दशैँको महìव कतिसम्म थियो भन्ने कुराको ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ६८६ तद्नुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा पाइएको छ । सो पत्रमा लेखिएको छ, ‘सोही साल आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन श्रीनिवास मल्लले आफ्नो दरबारमा मूलचोक तयार गरे, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाका लागि मन्दिर पनि बनाए।’

दशैँ चाडको उत्पत्ति नेपालमा कहिलेदेखि भए होला भन्ने कुरामा दुई धारणा छन्। एउटा मतअनुसार नेपालमा दशैँ चाडमा खड्ग यात्रा (पायाः वनेगु) चलन भएकाले यो चाड मनाउने चलन नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि नै भएको हो भन्ने एकथरि विद्वान्को छ। अर्को इतिहासले भने सिम्रौनगढका राजा हरिसिंहदेवले ने.सं. ४०४ मा तुलजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दशैँ सुरु भएको अनुमान गरिन्छ। 

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमीसम्म दस दिन मान्ने भएका कारण पनि दशैँ भनेको भन्नेहरू पनि छन्। दशैँको प्रारम्भ प्रतिपदाको दिन घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ। नदीबाट ल्याइएको बालुवाको वेदी बनाई पूजाकोठा वा विशेष दशैँ कोठामा सफासुग्घर गरी टपरी, भिउँट वा भुइँमै राखेर जौ छरिन्छ। विभिन्न जातजातिमा धान, गहुँ, मकैजस्ता अन्य पनि जौमा मिसाएर छर्ने चलन छ। जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आह्वान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ। जमरा राख्ने नेपाली संस्कृति एवं परम्पराको परिपूरक शब्द हो। नेपाली भाषामा घटस्थापना भनिन्छ। घट भनेको कलश हो, कलश थापना गरेर जमरा राख्ने भएको हुनाले घटस्थापना भनिएको हो। यसै दिनबाट दशैँ सुरु भएको मानिन्छ।

यसै दिन स्थानीय नेवार नौ दिनसम्म विभिन्न तीर्थस्थलमा गएर नुहाउने र देवदेवी वा शक्तिपीठको दर्शन गर्ने भएको हुनाले नवरात्रि (नौरथ) पनि भनिन्छ । सहरको टोलटोलमा धर्मावलम्बीहरू जम्मा भएर बाजा बजाउँदै प्रत्येक दिन सूर्योदय हुनुअगावै नुहाउन जाने गर्छन्। त्यसपछि सप्तमीदेखि दशैँको भव्य सुरु हुन्छ। यस दिनलाई फूलपाती भनिन्छ। यस दिन घरघरमा फलफूल र विशेष किसिमका फूल जमरा राखेको स्थान र श्रीभगवतीलाई पूजा गर्ने कोठामा भिœयाइन्छ भने गोरखाबाट ल्याएर जमलमा राखिएको फूलपातीलाई जङ्गी, निजामती कर्मचारीलगायत उपस्थित भई हनुमानढोकामा भित्र्याइन्छ। यसै दिन टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिन्छ। नेपालका केही नेवार समुदायमा सप्तमीको बदला अष्टमीको दिनमा मात्र फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ।

फूलपातीमा नौ प्रकारका बिरुवाका पत्र वा पालुवा हुने हुनाले संस्कृतमा यसलाई नवपत्रिका पनि भनिन्छ। नवपत्रिकाको परिचय दिँदै संस्कृत ग्रन्थमा भनिएको 

छ – ‘वदली दाडिमी धान्या हरिद्रा मानक कचु विल्वाशोकौँ जयन्ती च विज्ञेया नवपत्रिका।।’ अर्थात् नवपत्रिका भनेको केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती हो। यी नौवटा बिरुवाका पत्रलाई महासप्तमीको दिन अपराह्नको शुभसाइतमा भिœयाई बेलुकी नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रमा विभिन्न देवीहरूको पूजा गरिन्छ।

त्यसपछि महाअष्टमी र महानवमीका दिन श्री दुर्गा भवानीको विशेष पूजा हुन्छ। यसै दिन वर्षको एक दिन मात्र सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला गरिन्छ। अष्टमी र नवमीको मध्यरातलाई कालारात्रि भनिन्छ। कालरात्रिमा देवीस्थानमा पहिलेदेखि चलिआएको विधिअनुरूप पूजा र पाठ गर्ने कार्य हुन्छ, यसलाई गुप्त पूजा पनि भनिन्छ। विशेषगरी बलि लाग्ने देवदेवीहरूका स्थान कोट, पीठ र मौलामा बलि दिएर पूजा गर्छन्। उक्त रात महाकाली जागा भइरहने किंवदन्तीअनुसार हनुमानढोका दशैँघरमा पनि ५४ बोका र ५४ राँगाको बलि दिनुका साथै खड्गसिद्धि पनि गरिन्छ।

दशैँको अन्तिम दिन दशमीका दिन विशेष महìवपूर्ण मानिन्छ । यस दिन घटस्थापनामा राखिएको जमरा विसर्जन गरी दुर्गालाई चढाएको रातो र सेतो वस्त्रको कपडालाई प्रसादका रूपमा घाँटीमा लगाइन्छ भने घरको मूली वा मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ। यस दिन मान्यजन, इष्टमित्र, नाताकुटुम्बकहाँ टीका थाप्न जानेहरू उत्तिकै हुन्छन् तर असन, वटु, मूबहालमा भने टीकाको भोलिपल्ट अर्थात् एकादशीको दिनमा मात्र विजय दशमीको टीका थाप्ने गरिन्छ। यसरी टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। पूर्णिमादेखि दशैँ चाडको अन्त्य हुन्छ। दशैँ पारिवारिक एकता, पारिवारिक भेटघाट र पारिवारिक पुनर्मिलनको प्रतीक होभन्दा अत्युक्ति नहोला।