काठमाडौँ, जेठ १ गते । आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।
उपाधिका लागि गोदावरीले शुक्रबार काठमाडौँ महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टीबाट गरिएको हो । निर्धारित समयमा सुरुवाती अग्रता दक्षिणकालीकाले लिएको थियो ।
अमित तामाङले १५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ४९औँ मिनेटमा गोदावरीका पासाङ तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
८३औँ मिनेटमा दक्षिणकालिका नवीन कर्माचार्यले गोल गर्दै टोलीलाई पुन: अग्रता दिलाउनुभयो । खेलको अन्तिम समयमा गोदावरीका अनिल बोम्जनले गोल गर्दै खेललाई बराबरी ल्याउनुभयो । त्यसपछि पेनाल्टीमा गोदावरी भाग्यमानी बन्यो ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै अनुशासित टोलीलाई ६० हजार तथा विधागत उत्कृष्टलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।