• १३ साउन २०८१, आइतबार

जलविद्युत्बाटै रूपान्तरण

blog

नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा जलविद्युत् क्षेत्र देखिएको छ। केही समयअघिसम्म देशव्यापी लोडसेडिङको मारमा रहेको मुलुक अहिले लोडसेडिङमुक्त मात्र भएको छैन, उत्पादित विद्युत् छिमेकी मुलुकमा निर्यात गरेर आय आर्जन गर्नसमेत सुरुवात गरेको छ। यसरी छोटो समयमा नै देशले ऊर्जा क्षेत्रमा मारेको फड्कोले मुलुकका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेमा दुईमत रहँदैन। कृषि, उद्योग र सेवाजस्ता हरेक क्षेत्रको विकास र विस्तारका लागि आवश्यक पर्ने ऊर्जाको माग अब देशभित्रै उत्पादित जलविद्युत्ले पूरा गर्नेछ। अर्कोतर्फ चुलिँदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्दै विदेशी मुद्राको सञ्चितिमा समेत टेवा पु¥याउने सम्भावना देखिन्छ। यसबाट मुलुकभित्र उत्पादन र उत्पादकत्वको मात्रामा वृद्धि हुने र समग्र देशको आर्थिक रूपान्तरणमा समेत यस क्षेत्रले महìवपूर्ण भूमिका निर्वाह गर्नेछ। 

नेपाल जलविद्युत्को प्रचुर सम्भावना बोकेको देश हो। यहाँको भौगोलिक धरातल र बाह्रै महिना बग्ने नदीनालाबाट करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता रहेको अनुमान गरिएको छ। योमध्ये करिब ४४ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता रहेको उल्लेख छ। आर्थिक सर्वेक्षण २०७८÷७९ का अनुसार गत फागुन मसान्तसम्म मुलुकमा कुल जडित विद्युत् क्षमता दुई हजार २०५ मेगावाट पुगेको जनाएको छ। जसमध्ये जलविद्युत्बाट दुई हजार २२ मेगावाट विद्युत् उत्पादन भएको छ। 

यसरी हेर्दा कुल क्षमताको तीन प्रतिशतभन्दा कम मात्र उत्पादन हुँदासमेत नेपालले विद्युत् निर्यात गर्ने क्षमता राख्छ भने यसले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको खण्डमा देशको अर्थतन्त्रमा चमत्कारी परिवर्तन ल्याउन सक्नेछ। यसमा आशाका किरण पनि देखिन थालेका छन्। मुलुकभित्र सञ्चालित जलविद्युत् परियोजनाको प्रगति विवरणलाई आधार बनाएर भर्खरै मात्र नेपाल विद्युत् प्राधिकरणले एक वर्षपछि जलविद्युत् उत्पादनको क्षमता वृद्धि भएर ४५ सय मेगावाटसम्म पुग्ने प्रक्षेपण गरेको छ। यस्तै अबको पाँच वर्षमा नेपालको विद्युत् उत्पादन क्षमता करिब १३ हजार मेगावाटसम्म पुग्ने प्राधिकरणको दाबी छ। 

अहिले मुलुकमा सबैभन्दा चिन्ताको विषय भनेको दिन प्रतिदिन बढ्दै गएको उच्च व्यापार घाटा र यसले देशको समग्र अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई लिने गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। मुलुकको वार्षिक बजेटकै हाराहारीमा व्यापार घाटा पुग्नुलाई सुखद मान्न सकिँदैन। यसको न्यूनीकरणका लागि तुलनात्मक लाभ लिन सक्ने नयाँ वस्तुको निर्यात बढाउनुपर्ने आवश्यकता छ। यसको एउटा विकल्प जलविद्युत्लाई लिन सकिन्छ। यसैकारण लामो प्रयासबाट नेपालले गत वर्ष कात्तिक १७ मा पहिलो पटक भारतको इन्डियन इनर्जी एक्स्चेन्ज (आईईएक्स)लाई विद्युत् बेच्ने अनुमति पाएको थियो। आईईएक्सलाई विद्युत् बेच्ने अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट विद्युत् गत वर्ष नै भारत जान थालिसकेको थियो। यसपछि गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएलगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युत् गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो। 

सहमतिअनुसार नेपालले १४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५२ मेगावाटको लिखु–४ सहित कुल छवटा आयोजनाबाट हाल दैनिक करिब ३६४ मेगावाट विद्युत् भारत निर्यात गर्दै आएको छ। यसका साथै अर्को छिमेकी मुलुक बङ्गलादेशमा समेत आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने योजना सरकारले बनाएको छ। 

विश्वभर रणनीतिक महìवको वस्तु बन्दै गएको विद्युत् क्षेत्रमा नेपाल दक्षिण एसियाको प्रतिस्पर्धी बन्न सक्ने विज्ञहरूले अनुमान लगाएका छन्। अहिले विद्युत् प्राधिकरणले विद्युत् निर्यातबाट मासिक करिब दुई अर्ब रुपियाँसम्म कमाइरहेको छ। यही रफ्तारमा उत्पादन र वितरण हुँदै गए पाँच वर्षपछि विद्युत् निर्यात गरेर मात्रै दुई अर्ब डलर कमाउन सक्ने प्राधिकरणको दाबी छ। यसबाट व्यापार घाटाको समस्यालाई केही हदसम्म सम्बोधन गर्नेछ। 

नेपाल जलस्रोतको धनी देशका नाममा परिचित रहे पनि यहाँको अधिकांश ऊर्जाको माग भने पेट्रोलियम पदार्थ, कोइला, काठ दाउरा आदिले परिपूर्ति गर्दै आएको छ। पेट्रोलियम पदार्थ र कोइलामा हामी शतप्रतिशत आयातमा निर्भर छौँ। देशले बर्सेनि अर्बौं रुपियाँ खर्च गरेर यी वस्तु आयात गर्छ। मुलुकको व्यापार घाटा उच्च हुनुको प्रमुख कारक तìव पनि यसैलाई मानिन्छ। 

यसैगरी यी वस्तुको उच्च आयातले गर्दा विदेशी मुद्रा सञ्चितिमा समेत असन्तुलन देखिएको मानिन्छ। अर्कोतर्फ काठ दाउराको उच्च प्रयोगले वनजङ्गल विनाश भइरहेको छ। यसबाट जलवायु परिवर्तनले गर्दा हुनसक्ने विभिन्न प्रकारका प्राकृतिक प्रकोपको जोखिम पनि बढ्दै गएको छ। यी र यस्तै प्रकारका समस्यासँग जुध्ने उपयुक्त उपाय जलविद्युत्को प्रयोग नै हो। जलविद्युत्बाट हरित ऊर्जा उत्पादन हुन्छ, जसले गर्दा जैविक एवं वातावरणीय असन्तुलनबाट उत्पन्न हुनसक्ने समस्या न्यून हुँदै जानेछन्। यसैगरी देशको आन्तरिक ऊर्जाको मागलाई जलविद्युत्ले परिपूर्ति गर्न सकेमा अर्बौं रुपियाँ बाहिर जानबाट जोगिनेछ। यसबाट बचत हुने रकम अन्य विकासनिर्माणका लागि आवश्यक भौतिक एवं सामाजिक पूर्वाधार निर्माणमा प्रयोग गर्न सकिनेछ। 

वर्तमान समयमा विद्युत् व्यापारले जगाएको उत्साह आफैँमा प्रशंसनीय छ। यो सँगसँगै आन्तरिक खपतमा पनि वृद्धि गर्दै जानुपर्ने आवश्यकता देखिएको छ। मुलुकमा प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गर्न सकेमा विद्युत् निर्यातको तुलनामा दुई गुणाभन्दा बढी फाइदा लिन सक्ने विज्ञको भनाइ छ। आन्तरिक खपत वृद्धि हुनुको अर्थ आन्तरिक उत्पादन वृद्धि हुनु हो। यसले नयाँ रोजगारी सिर्जना, आम्दानीका स्रोत र बचतको मात्रा वृद्धि गर्छ। यसको निरन्तरताले मुलुकमा पुँजी निर्माणको ढोका खुल्नेछ र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जान्छ। यसको प्रभावले देशको कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ। अहिले विद्युत्को आन्तरिक खपतमा वृद्धि गर्नका लागि नयाँ–नयाँ उपाय खोजी भइरहेको छ। यसै सिलसिलामा नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रयोगलाई बढावा दिन देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ। 

यसैगरी घरघरमा इन्डक्सन चुलो प्रयोगलाई प्रोत्साहित गर्न सहुलियत मूल्यमा वितरण गर्ने योजना बनाएको छ। यो योजना काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशव्यापी रूपमा लैजानु पर्नेछ। यस्तै उद्योग एवं कलकारखानामा विद्युत् आपूर्ति सहज बनाउन आवश्यक पूर्वाधारसमेत निर्माण हुनु आवश्यक छ। यसबाट घरेलु तथा साना उद्योगको विकास र विस्तारमा टेवा पुग्नेछ। यसैगरी कृषिक्षेत्रको विकासका लागि आवश्यक औजारको प्रयोग एवं सिँचाइ सुविधाका लागिसमेत जलविद्युत्को प्रयोगले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छ। यसको प्रयोगबाट शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, पर्यटनसँग सम्बन्धित सेवा पनि सहज र सर्वसुलभ बन्नेमा दुईमत छैन। यसर्थ जलविद्युत्को प्रयोगबाट अर्थतन्त्रका प्रमुख तीन क्षेत्र कृषि, उद्योग र सेवाको रूपान्तरण गर्न सकिने सम्भावना छ।  

कुनै पनि मुलुकको आर्थिक रूपान्तरणमा त्यहाँ उपलब्ध साधनस्रोतले महìवपूर्ण भूमिका निर्वाह गर्ने गर्छ। मुलुकमा भएका साधनस्रोतको आदर्शतम प्रयोगबाट मात्र आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तन ल्याउन सकिन्छ। नेपालले समेत जलस्रोतको आदर्शतम प्रयोगबाट देशमा आर्थिक रूपान्तरण ल्याउन सकिनेछ। जलस्रोतबाट उत्पादित विद्युत्ले नागरिकको घरघरमा रहेको अँध्यारो चिर्दै उज्यालो बनाएजस्तै देशका आर्थिक परिसूचकमा देखिएको निराशालाई आशाको किरण देखाउन सक्छ। जसरी अरबी मुलुकले आफ्नो देशमा रहेका खनिज सम्पदा प्रयोगबाट देशको आर्थिक अवस्था बलियो बनाउन सफल भए, त्यसैगरी नेपालले पनि आफूसँग भएको सेतो सुनको उचित प्रयोगबाट यहाँको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।