• ९ मंसिर २०८१, आइतबार

राम्दीको पुलसँगै जोडिएको महँगी

blog

वालिङ, असोज ६ गते । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रूपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ ।

भारत सरकारको सहयोगमा विसं २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माणकार्य सुरु भएर विसं २०२८ मा निर्माण सम्पन्न भएको थियो । पहाड र तराईलाई जोडेसँगै आवतजावत र व्यापार व्यवसायका लागि कोशेढुङ्गा साबित भएको यस पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले १० टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।

डुङ्गाको सहारामा जोखिम मोलेर वारपार गर्नेहरूलाई पुल निर्माण भएसँगै सहजता भए पनि भारवहन क्षमताका सवारी साधन चल्न रोक लगाउँदा ढुवानीको खर्च बढ्न गई उपभोग्य वस्तुको लागत महँगो पर्न गएको व्यवसायी तथा उपभोक्ताहरूको भनाइ छ । निर्माण सामग्रीहरू बुटवलतिरबाट राम्दीको पुल हुँदै वालिङ आउने हुँदा पुलमा बढीमा १० टन मात्रै समान बोकेका मालवाहक गाडीहरू आउनसक्ने भएकाले ढुवानीमा समस्या भएको  वालिङ–८ जैसीपधेँरामा हार्डवेयर व्यवसाय गर्दै आउनुभएका गाह्रो कालिका डुम्रे हार्डवेयरका सञ्चालक शिवलाल डुम्रे बताउनुहुन्छ । डुम्रेले भन्नुभयो, “पुलमा आएर रोकिनभन्दा कि त कम्पनीबाट नै थोरै सामान लिएर आउनुपर्‍यो कि त  वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता रहेको छ ।”

मालवाहक गाडीले समान कम ल्याए पनि भाडा दर एउटै हुने भएकाले थोरै सामान ल्याएर धेरै मूल्य ढुवानीमा खर्च हुँदा समान महँगो पर्न जाने गरेको व्यवसायी डुम्रे बताउनुहुन्छ ।

बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ–पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ । “पहिला–पहिला वालिङमा सामान सस्तो पाइन्थ्यो, यहीँबाट स्याङ्जासहित दक्षिण पर्वतका विभिन्न ठाउँमा सामानहरू जान्थ्यो”, उहाँले भन्नुभयो, “अहिले एकातिर पुलकै कारण पनि ढुवानी बढ्यो भने अर्कोतिर नयाँ निर्माण गरिएका सडकहरूले यहाँको व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ ।”

“धेरै भारवहन क्षमताको मालवाहक साधनमा ढुवानी गर्दा मूल्य कम पर्न जान्छ” उहाँले भन्नुभयो, “एकैपटक आउने सामग्रीलाई दुईपटक गर्नुपर्दा ढुवानीमा लागत बढ्न गई उपभोक्तामा मार पर्न गएको छ ।”  छ चक्के मालवाहक साधनभन्दा अरूलाई पुलमा रोक लगाउँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माणजन्य सामग्रीको ढुवानी मूल्य बढ्न गई महँगी बढेको उहाँ बताउनुहुन्छ ।

हाल सञ्चालनमा रहेको पुल मर्मत गरी भारवहन क्षमता वृद्धि गर्न सकिने भए अध्ययन गर्न र नहुने भए विकल्पको रूपमा अर्को पुल निर्माणका लागि तीन वर्षअघि जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए । गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रसाद अर्यालले भन्नुभयो, “स्थानीय उपभोक्ता तथा व्यवसायीहरूले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीहरूको ढुवानीमा पुलका कारण महँगो पर्न गएको गुनासो बढ्न थालेपछि सम्बन्धित निकायसम्म दबाब दिनका लागि सबै वाणिज्य सङ्घ एकमत भई ज्ञापनपत्र बुझाएका हौंं ।”

पुल जीर्ण हुँदा बुटवलबाट तानसेन, राम्दी हुँदै स्याङ्जा जिल्ला प्रवेश गर्ने १० टनभन्दामाथि भारवहन क्षमता भएका सवारी साधनहरू आउनमा रोक लगाइएकाले विशेषगरी स्याङ्जा जिल्लाका उपभोक्ता तथा व्यवसायी बढी प्रभावित भएको वालिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । “पुलका कारण निर्माणजन्य सामग्रीहरूको ढुवानीमा असर गरेको छ भने दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समस्या भएको छ” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि निरन्तररुपमा पहल ग-यौँ । ढिलै भएपनि निर्माण कार्य थालनीको प्रक्रिया अगाडि बढेको छ ।”

निर्माण प्रक्रिया अगाडि बढेपछि उपभोक्ता तथा व्यापारी व्यवसायी वर्ग आशावादी देखिएका छन् । पुल निर्माण भई सञ्चालनमा आएपछि ढुवानी मूल्य घट्न गई सस्तो र सहजरूपमा सामग्रीहरू पाइने विश्वास खनालको छ । सामग्री सस्तो भएसँगै व्यापार व्यवसाय फेरि फस्टाउनुका साथै यहाँ उत्पादन भएका सामग्रीहरूको निर्यात र उद्योग तथा कलकारखाना खोल्नका लागि पनि सहजता हुनसक्ने उहाँको भनाइ छ ।

कतिपय १०/१२ चक्के सवारी साधनले पनि भारवहन क्षमताभन्दा कम सामग्री ल्याउन सक्ने भएपनि चक्काकै आधारमा कहिलेकाहीँ प्रहरी प्रशासनले दुःख दिने गरेको सवारी चालकहरुको गुनासो छ । सवारी साधनमा कति भार रहेको छ त्यो नभई सवारी साधनको चक्का हेरेकै आधारमा पनि रोकेर दुःख दिने गरिएको छ । धेरै भार बोक्न सक्ने सवारी साधनमा पनि अड्कलेर थोरै सामग्री ढुवानी गर्दा भाडा स्वाभाविक धेरै पर्ने स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका स्थानीयवासी शिवहरि अमात्य बताउनुहुन्छ । पुलमा १० टनभन्दा धेरै समान बोकेको सवारी साधन चल्न नदिने हो भने यसको सूक्ष्म ढङ्गबाट अनुगमन तथा निरीक्षण गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि हाल रहेको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल बनाउन लागिएको हो ।

विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधनहरू आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर नवराज बास्तोला बताउनुहुन्छ ।

हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा ५/७ मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरेर ठेक्का सम्झौता गरिसकेको सनियर डिभिजनल इन्जिनियर बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ” उहाँले भन्नुभयो, “कूल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” एकसय ८ मिटर लम्बाई, ११ मिटर चौडाइको हुने सो पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने उहाँले बताउनुभयो ।

सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माण स्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घरटहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । देशकै पर्यटकीय सहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक सहर बुटवल तथा भारत जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । भारत सरकारको सहयोगमा निर्माण भएको यो राजमार्ग साँघुरो, घुमाउरो तथा घुम्तीहरू धेरै रहेका छन् । पुरानो यो सडक साँघुरो र धेरै घुमाउरो छ भने स्तर वृद्धि हुन सकेको छैन ।

कालीगण्डकी नदीको किनारैकिनार भएर कालीगण्डकी कोरिडोर सञ्चालनमा आएपछि पनि यो सडक केही ओझेलमा पर्ने हो कि भन्ने चिन्ता छ । यस सडकलाई आर्थिक उपार्जनसँग जोड्नका लागि पनि सिद्धार्थ राजमार्गसँग जोडिएका जतिपनि पालिकाहरू छन्, तिनीहरूले सिद्धार्थ आर्थिक कोरिडोरसम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै आएका छन् । पुल निर्माण सँगसँगै साँघुरो सडकलाई चौडा गर्ने र घुम्तीहरू कटान गर्न सके मात्रै यो सडकमा सवारी साधनहरूको चाप बढ्छ । मुग्लिन–नारायणगढ सडक बन्द हुँदा पश्चिम नेपालबाट आउने सवारी साधनहरू यही पुल हुँदै पोखरा, काठमाडौँलगायत गन्तव्यमा पुग्ने गर्छन् ।