• १३ साउन २०८१, आइतबार

कृषि र पशुसेवा कार्यालय खण्डहर

blog

बैतडी समाचारदाता 

बैतडी, असोज ६ गते । स्थानीय तहको पुनर्संरचनापछि पशु र कृषिसेवा दिँदै आइरहेका इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन्। कार्यालयसँगै सेवासमेत बन्द हुँदा पशुमा गर्भाधान गराउने र पशुरोगको उपचार गराउँदै आएका हजारौँ किसान मर्कामा परेका छन्।  बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका–२ मा रहेका कृषिसेवा र पशुसेवा कार्यालय बन्द हुँदा सरकारी भवन खण्डहर बनेपछि यहाँका किसान पशुसेवा लिन छिमेकी पाटन नगरपालिकातर्फ धाउन बाध्य छन्। 

स्थानीय तहको पुनर्संरचनापछि कृषि र पशुसेवाको अधिकार गाउँपालिका केन्द्रमा सरे पनि पशुमा उन्नत कृत्रिम गर्भाधान सेवा र रोगको उपचार सेवा पाउन नसकेको स्थानीय किसान दानसिंह बोहराले बताउनुभयो। 

सात वर्ष मलेसिया बसेर स्वदेश फर्किनुभएका बोहराले गाउँमै बाख्रापालन सुरु गरे पनि पशुसेवा नपाउँदा छिमेकी पाटन नगरपालिका पुगेर बिरामी बाख्राको उपचार गर्नुपरेको गुनासो गर्नुभयो। 

उहाँले भन्नुभयो, “मलेसियाबाट फर्केर मैले बाख्रापालन सुरु गरेको छु। अहिले ८० वटा बाख्रा रहेका छन्। रोग लाग्दा उपचार गर्न समस्या छ। पहिले इलाकामै पशुसेवा पाइन्थ्यो। सङ्घीयतापछि पशुसेवा कार्यालय बन्द हुँदा सिगास गाउँपालिकाका किसानले पाँच वर्षदेखि पशुमा उन्नत जातको कृत्रिम गर्भाधान र पशुरोगको उपचार गराउन पाएका छैनन्।”

इलाका पशुसेवा कार्यालयको सबै अधिकार स्थानीय सरकारमा गएपछि पशुसेवा कार्यालय बन्द भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका पशुविकास अधिकृत गुमानी पन्तले बताउनुभयो।

उहाँले भन्नुभयो, “स्थानीय तहको पुनर्संरचनाअघि पशुसेवा कार्यालय पाटनले बैतडीका १३ इलाकामा सेवा केन्द्र र उपसेवा केन्द्र सञ्चालन गरेर उन्नत जातका बोका, राँगा वितरण गरेसँगै कृत्रिम गर्भाधान र पशुरोगको उपचार गर्ने गरेको थियो। अहिले सबै अधिकार स्थानीय तहको सरकारमा गइसकेपछि सेवा नपाएको किसानको गुनासो आउने गरेको छ।”

स्थानीय तहको सरकारले पशुसेवा कार्यालय र कृषि कार्यालय बन्द नगरी कर्मचारीलाई इलाका कार्यालयमै खटाएर सेवा दिन सकिने भए पनि गाउँपालिकाले चासो नदेखाएको उहाँले बताउनुभयो। 

इलाका कार्यालयबाट पाइँदै आएको पशुसेवा बन्द भएको विषयमा जानकारी लिन खोज्दा सिगास गाउँपालिकाका पशुसेवा फाँटका कर्मचारी सम्पर्कमा आउन चाहनुभएन। पशुपालनका लागि बैतडीको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका भैँसीपालन र घिउका लागि जिल्लामै अग्रणी गाउँपालिकाका रूपमा चिनिए पनि पछिल्लो समय इलाका कार्यालयको सेवा बन्द हुँदा किसानले समस्या भोग्नुपरेको गुनासो गरेका छन्।