सुरेश धामी
बझाङ, वैशाख १५ गते । बझाङको बुंगल नगरपालिका–१ गोइचनमा रहेको गोइचनगाड लघु जलविद्युत आयोजना विगत तीन वर्षदेखि बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । वि.स.२०६५ सालमा निर्माण गरेको १६ किलोवाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट गोइचनका करिब २०० परिवार लाभान्वित हुँदै आएका थिए ।
उक्त जलविद्युत आयोजना निर्माणमा गरिबी निवारण कोष र सप्रोज नेपाल र एन्साप नेपाल संस्थाको २७ लाख लगानी रहेको र बाकी स्थानियले जनश्रमदान गर्नुभएको थियो ।
तीन वर्षअघि आएको बाढीका कारण आयोजनामा प्रयोग हुने मेसिनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । आर्थिक अभाव तथा मर्मत सामग्री अभावका कारण विद्युत पुनः सञ्चालनमा आउन सकेको छैन । विद्युत बन्द भएपछि दैनिकी निकै कष्टकर बनेको स्थानीय बिर्ख बोहराले बताउनुभयो ।
“अन्धकारमा रात बिताउनु त सामान्य भयो, मोबाइल चार्ज गर्न, विद्यार्थीले पढ्न, घरायसी काम गर्न पनि समस्या भएको छ,” उहाँले भन्नुभयो । साथै, स्थानीयले सञ्चालन गर्दै आएका अन्नपेल्ने मिल, आरा मिल, र अन्य साना घरेलु उद्योगसमेत विद्युत नहुँदा पूर्ण रूपमा बन्द भएका छन् ।
निर्माण समितिका निवर्तमान अध्यक्ष रामबहादुर बोहराले विकट स्थानका कारण मर्मत सामग्री ल्याउन गाह्रो हुने, सामान नपाइनु र बजेटको अभावले समस्या समाधानमा ढिलाइ भएको बताउनुभयो। मर्मतका लागि वडा कार्यालय, बुंगल नगरपालिका र अन्य सम्बन्धित निकायमा पटक–पटक अनुरोध गरिएकोभए पनि कुनै सुनुवाइ नभएको आयोजनाका अध्यक्ष नरसिंह बोहराले बताउनुभयो ।
यस विषयमा वडा नम्बर १ का वडा अध्यक्ष कस्वा बोहराले वडामा बजेट अभाव भएको कारण तत्काल बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले गोइचन क्षेत्रका बासिन्दालाई अन्धकारमा राख्न नहुने उल्लेख गर्दै हाल कालंगा हाइड्रोपावरबाट विद्युत विस्तार गर्न पहल भइरहेको जानकारी दिनुभयो । बुंगल नगरपालिकका नगर प्रमुख जयबहादुर धामीले भने विद्युत मर्मत गर्ने कि कालंगा हाइड्रोपावरसँग समन्वय गरेर गोइचनमा विजुली बाल्ने भन्ने बिषयमा उक्त वडाका वडाध्यक्षसँग छलफल गरिरहेको र छिट्टै समस्या समाधान गरिने बताउनुभयो ।