• १३ साउन २०८१, आइतबार

नयाँ राजा चार्ल्सका चुनौती

blog

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनपछि उहाँका जेठा छोरा ७३ वर्षीय चाल्र्स तृतीय नयाँ राजा बन्नुभएको छ। बेलायतको इतिहासमा राजगद्दीमा पुग्न चाल्र्सले लामो प्रतीक्षा गर्नुप-यो। चार वर्षको उमेरमा उत्तराधिकारी घोषित उहाँ राजा बन्न ७० वर्ष कुर्नुप‍-यो। बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न पुग्नुभएका चाल्र्ससामु बेलायती राजसंस्थालाई बलियो र लोकप्रिय बनाउने चुनौती खडा भएको छ। 

एलिजाबेथ २५ वर्ष उमेरमा बेलायतको महारानी बन्नुभएको थियो। संसारभरि बेलायतको आधिपत्य हुँदादेखि ब्रेक्जिटका कारण अनिश्चित भविष्यको स्थितिमा आउँदासम्म उहाँले शाही परिवारको गौरवशाली साख कायम राख्नुभयो। आलोचित विगत रहेका चाल्र्सले त्यो साख कसरी जोगाउनुहोला भनी अहिले सर्वत्र चासोको विषय बनेको छ। पत्नी डायनासँगको सम्बन्धविच्छेद र पछि कार दुर्घटनामा डायनाको निधनलगायत कारणले चाल्र्स विवादमा पर्नुभयो। सन् १९९० दशकको मध्यतिर केही आलोचकले उहाँलाई राजा स्वीकार गर्न नसकिने आवाज उठाए। चाल्र्सभन्दा उहाँका छोरा विलियम्सलाई महारानीले उत्तराधिकारी घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।

सन् १९९१ मा गरिएको मत सर्वेक्षणमा चाल्र्स असल राजा हुनेमा ८२ प्रतिशत जनता विश्वस्त थिए। सन् १९९६ को सर्वेक्षणले भने ४१ प्रतिशत जनताले मात्र उहाँलाई राम्रो उत्तराधिकारी माने अर्थात् उहाँको लोकप्रियता निकै घट्यो। लोकप्रियता घटेसँगै डायनाको निधनपछि चाल्र्स आफ्नो छवि सुधार्नमा केन्द्रित हुनुभयो। त्यस निम्ति तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरसँग मिलेर उहाँले काम गर्न थाल्नुभयो। ब्लेयरसँगको सहकार्यले आफ्नो छवि सुधार्न उहाँ सफल हुनुभयो। 

पत्नी डायना हुँदाहुँदै चाल्र्स क्यामिलासँग प्रेममा फस्नुभयो। उहाँको प्रेम सम्बन्धलाई धेरैले राम्रो मानेनन्। सन् १९९७ मा डायनाको कार दुर्घटनामा निधन भएपछि सन् २००५ मा उहाँले क्यामिलासँग विवाह गर्नुभयो। त्यसपछि भने उहाँको धूमिल विगत विस्तारै लयमा फर्कियो। निजी जीवन लयमा फर्किए पनि राजपरिवारलाई लयमा फर्काउने चुनौती चाल्र्सलाई छ। आफ्ना कान्छा छोरा ह्यारी र बुहारी मेगनाको विवाह र शाही उपाधि परित्यागले निम्त्याएको विवाद उहाँले सुल्झाउनुपर्नेछ। त्यस्तै यौन दुव्र्यवहारको आरोप लागेका भाइ एन्डरुसँगको अप्रिय सम्बन्ध उहाँले व्यवस्थापन गर्नु पर्नेछ। महारानी एलिजाबेथको जस्तो लचिलो र दृढ स्वभाव चाल्र्समा नभएकाले बेलायतको राजतन्त्रले अब सङ्क्रमणकाल बेहोर्ने जानकारहरू बताउँछन्। जीवनभर राजा बन्ने तयारी गरेर बसेका चाल्र्स आफ्नो सोच र विचार अरूमाथि लाद्ने स्वभावका कारण राजतन्त्रमाथि नै सङ्क्रमणकालको स्थिति आउनसक्ने सम्भावना नकार्न सकिँदैन तर उहाँ आफ्नी आमाबाट सिकेका कुराले आफ्ना विशेषाधिकारको सीमाबाट अघि नबढ्ने अपेक्षा गरिएको छ।

पृथक् पहिचान बनाउने उद्देश्यले चाल्र्सले परोपकारी संस्था गठन गर्नुभयो। हालैका वर्ष उहाँले महारानी एलिजाबेथका तर्फबाट निर्वाह गर्नुपर्ने काम पनि गर्नुभयो। महारानीका तर्फबाट विदेश भ्रमणदेखि सम्मान अर्पणका काममा उहाँको सहभागिता रह्यो। प्रथम विश्वयुद्धको स्मृति दिवसका अवसरमा महारानीले दिवङ्गत सैनिकको स्मारकमा सम्मान अर्पण गर्ने परम्परा थियो। उहाँले त्यहाँ महारानीका तर्फबाट आफूले माल्यार्पण गर्नुभयो। 

स्पष्ट वक्ता चाल्र्स राजनीतिक मुद्दामा टिप्पणी गर्नसमेत हिच्किचाउनुहुन्न। सन् २००५ मा भएको हमलापछि ‘इस्लामोफोबिया’ बढेको बेलायतमा उहाँले धार्मिक सहिष्णुताको वकालत गर्नुभयो। उहाँको भूमिकाले सम्भावित धार्मिक द्वन्द्व शान्त पार्न मद्दत गरेको थियो। कहिलेकाहीँ कडा विचारका कारण उहाँ समस्यामा पनि पर्नुहुन्छ। सन् १९८४ मा उहाँले नेसनल ग्यालरीको विस्तारको खाकामाथि मजाक गर्नुभयो। उहाँले मजाक उडाएपछि त्यो योजना नै स्थगित हुन पुग्यो। आफ्नो डिजाइन रद्द गर्न चाल्र्स नै लागिपरेको भन्दै एक वास्तुकारले उहाँलाई संवैधानिक जिम्मेवारी मिचेको आरोप लगाएका थिए।

सन् २००६ मा उहाँ बेलायती पत्रिका ‘द मेल’ विरुद्ध खनिनुभयो। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गर्न महारानीको प्रतिनिधि बनेर चाल्र्स हङकङ जानुभएको थियो। चाल्र्सले डायरीमा नोट गरेको वाक्यांशलाई ‘द मेल’ ले जस्ताको तस्तै छापेको थियो। आफ्नो गोपनीयता भङ्ग गरेको भन्दै उहाँले ‘द मेल’ विरुद्ध मुद्दा हाल्नुभयो। त्यो मुद्दा उहाँले जित्नुभयो। 

संवैधानिक भए पनि शक्तिशाली बेलायती राजतन्त्रको नेतृत्वका रूपमा अब चाल्र्सलाई असावधानीको छुट छैन। सार्वजनिक गर्दा असर पर्ने राय उहाँले आफैँसँग सुरक्षित राख्नुपर्नेछ। आफ्नी आमा एलिजाबेथबाटै उहाँले विवेकी बन्न सिक्नुपर्नेछ। युरोपेली सङ्घबाट बाहिरिने बेलायतको निर्णयमा पनि शाही पर्यवेक्षकले महारानी एलिजाबेथको धारणा बुझ्न सकेका थिएनन्। 

चाल्र्स बेलायतको मात्र होइन १४ वटा कमनवेल्थ देशका प्रमुख बन्नुभएको छ। हालैको सर्वेक्षणले उहाँलाई त्यति धेरै लोकप्रिय भने देखाएको छैन। शाही परिवारका सदस्यभित्र छनोट गर्दा उहाँ ११ प्रतिशतको छनोटमा पर्नुभएको छ। चाल्र्सलाई कमैले मन पराए पनि राजतन्त्र भने धेरैले मन पराएका छन्। सर्वेक्षणअनुसार ४३ प्रतिशत जनताले राजतन्त्रबिना मुलुकको भविष्य बिग्रिने प्रतिक्रिया दिएका छन्। त्यस्तै १९ प्रतिशतले राजतन्त्र अन्त्य हुनुपर्ने बताएका छन् भने ३१ प्रतिशतले राजतन्त्र वा नयाँ व्यवस्था जे आउँदा पनि कुनै असर नपर्ने राय दिएका छन्। 

राजतन्त्रको भविष्य सुरक्षित देखिएको बेलायतमा त्यसतर्फ जनतालाई अझै आकर्षित गर्न चाल्र्सले थप काम गर्नुपर्ने देखिन्छ। सङ्कटका बेला बेलायती जनता एलिजाबेथलाई सम्झन्थे। अब चाल्र्स पनि सङ्कटमा स्मरण गर्न योग्य बन्नुपर्छ। केही वर्षयता चाल्र्सले आफ्नो कद बढाउनुभएको छ। 

चाल्र्सले बेलायतको स्थिरतालाई निरन्तरता दिँदै त्यहाँको बहुसांस्कृतिक समाजलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। कतिपयले उहाँलाई बेलायतको भावी पुस्ता निम्ति काम गर्ने राजाका रूपमा देख्न पाइने विश्वास गरेका छन्। विश्वका एजेन्डामा चाख राख्ने र आवश्यकताअनुसार सुझाव दिनसक्ने नेतृत्वका रूपमा पनि उहाँलाई हेरिएको छ। जलवायु परिवर्तनबारे ग्लास्गोमा उहाँको धारणालाई सबैले चाखपूर्वक लिएका थिए। अमेरिका राष्ट्रपति जोए बाइडेनले उहाँका कुराप्रति सहमति जनाउनुभएको थियो। आवश्यकताअनुसार सबै विषयमा उहाँले सही सुझाव दिनसक्ने खुबी राख्नुहुन्छ।

९६ वर्षको उमेरमा सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधन भएपछि सेप्टेम्बर १० मा औपचारिक रूपमा चाल्र्स तृतीया राजा घोषित हुनुभयो। बेलायतको नौ सय वर्षको राजतन्त्रको इतिहासमा उहाँ ४०औँ राजा बन्नुभयो। औपचारिक रूपमा राजा घोषित भएपछि राष्ट्रका नाममा उहाँले पहिलो मार्मिक सम्बोधन गर्नुभयो। उहाँले आमाको पदचिह्नमा देश र जनताको सेवा गर्ने प्रतिज्ञा गर्नुभयो। उहाँले भन्नुभयो, “मेरो जीवन नयाँ जिम्मेवारी निर्वाह गर्दा अवश्य पनि परिवर्तित हुनेछ। मैले असाध्यै मन पराउने मुद्दा र परोपकारी कामका लागि मैले मेरो धेरै समय र ऊर्जा दिन सम्भव हुनेछैन। तर मलाई थाहा छ यो महìवपूर्ण कामको जिम्मेवारी अरूका विश्वसनीय हातमा जानेछ।”

“यो मेरो परिवारका लागि पनि परिवर्तनको समय हो। म मेरी प्यारी पत्नी क्यमिलाको प्रेमिल सहयोगमा भरोसा गर्छु। सत्र वर्ष पहिले हाम्रो विवाहका बेलादेखि उनी आफ्नै बफादार सार्वजनिक सेवाको मान्यतामा मेरी क्विन कन्सोर्ट बनिन्। मलाई थाहा छ– म उनको नयाँ भूमिकाको कर्तव्यप्रतिको अटल समर्पणमा अति भर परेको छु।” उहाँले भन्नुभयो। मेरो हुर्काइ अरूका प्रति जिम्मेवारीबोधबाट ओतप्रोत छ भन्दै चाल्र्सले स्वतन्त्रता र हाम्रो विशेष इतिहासको जिम्मेवारी तथा हाम्रो संसदीय सरकारको प्रणाली हाम्रो मूल्यवान् परम्पराप्रति उच्च सम्मान व्यक्त गर्दछु भन्नुभयो। 

“जस्तो कि महारानी स्वयंले त्यस्तो अटल समर्पणका साथ भूमिका खेल्नुभयो म पनि ईश्वरले प्रदान गर्ने आफ्नो बाँकी समय हाम्रो राष्ट्रका लागि महìवपूर्ण संवैधानिक सिद्धान्त कायम राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।” राजा चाल्र्सले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर नजाने प्रण गर्नुभयो।