• १२ मंसिर २०८१, बुधबार

तिनकुनेमा पार्क! तर कस्तो ?

blog

ञेँ, येँ, कान्तिपुर, काष्ठमण्डप अर्थात् काठमाडौँ। यो केवल नाम मात्र होइन, एउटा विशिष्ट पहिचान हो। काठमाडौँ कान्तिपुर नगरीमा काष्ठमण्डपको विरासत थामेर पाएको पहिचान हो। त्यसअघिको कुरा गर्ने हो भने यो ‘येँ’ र अझै अगाडि जाँदाको ‘ञेँ’ नगरबाट भएको पहिचान परिवर्तन हो। यस्ता स्मृतिरमण (नोस्टाल्जिया) मा रहेको काठमाडौँ आफ्नै भविष्य र पहिचान परिवर्तनको खोजीमा छ। 

त्यसो त काठमाडौँले आफ्नो र महानगरबासीको मात्र होइन, समग्र नेपाल र नेपालीकै पहिचान दिलाउन सक्ने क्षमता राख्छ। काठमाडौँ महानगर मात्र होइन, काठमाडौँ नेपालको शासकीय शक्तिको केन्द्र हो। त्यसैले देश र नागरिकको पहिचान बदल्ने सामथ्र्य यसले राख्दछ। 

मल्लकालमा मन्दिरै मन्दिर र कलाकारिताको नगर कान्तिपुर काठमाडौँको अहिलेको सिमेन्ट र छडको जङ्गल देख्दा रुन्छ। निसास्सिएको बेला खुला ठाउँमा सास फेर्न छटपटिन्छ पनि। तर टुँडिखेल नै खुम्चिएको अवस्थामा भावुक भएर मात्र के काम ? कतै खुला ठाउँ देखियो भने अहिले काठमाडौँ स्वच्छ हावामा सास फेर्ने कल्पना गर्छ। त्यस्तैमध्ये एउटा ठाउँ हो तिनकुने।

तिनकुनेका घटनाक्रम 

तिनकुने काठमाडौँ जिल्ला र काठमाडौँ महानगरमा पर्दछ। तर यो काठमाडौँ उपत्यकाका तीन जिल्लाको र स्थानीय तहहरूलाई रणनीतिक रूपमा जोड्ने क्षेत्र हो। करिब ४६ रोपनी रहेको अनुमानित जग्गा सुरुमा २०३१ मा अधिग्रहण भएको हो। तर त्यसपछि यसको क्षेत्रफल, अधिग्रहण र स्वामित्वमा विवाद छ। २०५२ मा लगत कट्टा गरी सबै जग्गा सरकार र सडक विभागको नाममा दर्ता भयो तर २०५७ सरकारी लगत कट्टा साबिकमै फिर्ता हुने आदेश सर्वाेच्च अदालतले दियो। २०५९ मा सरकारले प्रतिरोपनी ५१ लाख २० हजार मुआब्जा दिने निर्णय गरी २०६४ मा मुआब्जाका लागि १५ करोड रुपियाँ काठमाडौँ महानगरलाई निकासा दिइएको थियो। २०६५ देखि २०७० सम्म महानगरले १० करोड ८० लाख मुआब्जा वितरण ग¥यो। केही जग्गाधनीले नबुझ्दा बाँकी रहेको चार करोड १९ लाख सरकारलाई फिर्ता गयो। 

वि.सं. २०७६ मा जग्गा र मुआब्जा वितरणको विवरण यकिन गरी विवाद समाधान गर्ने मन्त्रिपरिषद्को निर्णय अनुसार २०७७ मा जग्गा पुनः नापजाँच प्रक्रिया सुरु भयो तर त्यसपछिका योजना छैनन्। 

खहरे योजना

विशिष्ट समयमा तिनकुनेले आवरण पाउँछ तर बर्खाका खहरे जस्तो। खासगरी नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलनको आयोजना हुने भयो वा कोही अतिविशिष्ट विदेशी वा अन्तर्राष्ट्रिय संस्थाका प्रमुख नेपाल भ्रमणमा आउँदा तिनकुनेको कायापलट हुन्छ। राज्यको तहबाट तिनकुनेले सजिने वा छोपिने मौका पाउँछ। 

सार्क शिखर सम्मेलन, बिम्स्टेक शिखर सम्मेलन, भारत र चीनका राष्ट्रपति आदिको भ्रमणका बेला तिनकुने वरिपरि दुबो र अन्य वनस्पतिको सुन्दर बगैँचा बनाइयो। तिनकुनेको आन्द्राभुँडीलाई भने रङ्गिन जस्तापाताले बाहिर  निस्कन नदिई अड्याइयो। २०५८ पुसमा काठमाडौँमा सम्पन्न ११औँ सार्क शिखर सम्मेलनमा तिनकुनेमा रातारात रुख, फूल र दुबो रोपियो। आँखामा छारो हाल्न बनाइएको पार्क सम्मेलन सकिएसँगै बिलायो। 

२०७१ असोजमा भएको सार्ककै १८औँ शिखर सम्मेलनका बेला पनि सडकछेउमा दुबो र रुख रोपियो र तिनकुने वरिपरि जस्तापाताको बार लगाइयो। सम्मेलन सकिने बित्तिकै बार हट्यो, रुख र दुबो मरे।

२०७३ कात्तिकमा भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौँ आउँदा फेरि जस्ताको बार लगाएर तिनकुनेको आन्द्राभुँडी छोपियो। पाहुना जानेबित्तिकै जस्तापाता पनि हटाइए। २०७५ भदौमा बिम्स्टेक सम्मेलनका लागि तिनकुने नेपालको प्रतिनिधित्व गर्ने सुन्दर र अमूल्य रङ्गिन तस्बिरका फ्लेक्स बनाई सिँगारियो र तारबार लगाइयो। तर सम्मेलन सकिने बित्तिकै ती सबै गायव भए।

पछिल्लो पटक २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको एकदिने भ्रमणका बेला नेपालमा छ हजारभन्दा बढी दुबोका चपरी राखिए, वरिपरि बिरुवा रोपिए। तर ती पनि हराए।

यी सबैमा काठमाडौंँ महानगरपालिका र सङ्घीय सरकारको लगानी थियो। त्यो भनेको करदाताको पैसा हो। राज्यले पूर्ण रूपमा अधिग्रहण गरिनसकेको जमिनमा त्यसरी अस्थायी नै भए पनि संरचना बनाउन हुन्थ्यो कि हुँदैनथ्यो ? प्रश्न बेग्लै छ। हुन्थ्यो भने अहिले चाहिँ त्यसलाई व्यवस्थित गर्न किन नहुने ? हुँदैनथ्यो भने त्यतिबेला जग्गाधनीको स्वीकृति वा सहमति थियो कि थिएन ? 


बालेनको नयाँ शैली

तिनकुनेको व्यवस्थापनबारे काठमाडौँ महानगरका पनि योजना नबनेका होइनन्। तर ती सबै कार्यान्वयन नहुने वा नगरिएका मात्र थिए। महानगरको नेतृत्वमा आउने व्यक्तिको लहडमा त्यस्ता योजना आम उपभोगका लागि प्रस्तुत हुन्छन्। सपना बाँडिन्छ। 

हालै मात्र पनि काठमाडौँ महानगरका पिता (महानगर प्रमुख) बालेन्द्र शाहले तिनकुनेको दुरवस्थाबारे तिनकुने रहेको निर्वाचन क्षेत्रबाट विधायिकामा निर्वाचित भई राष्ट्रप्रमुख र कार्यकारी प्रमुख भइसकेका दुई जनालाई दोषारोपण गर्नुभयो। फेसबुकमा तिनकुनेको चित्रसहित उहाँले पोस्ट्याएको सामग्रीमा उहाँले तिनकुनेको दुरवस्थाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा कसरी मत माग्ने ? भनी प्रश्न गर्नुभएको छ। उहाँले अझै दुई महिना बाँकी रहेका र ‘सरकार तपाईंकै हो’ भन्दै समस्या समाधानको आशा राखेको बताउनु भएको छ।

अहिलेका काठमाडौँका महानगर प्रमुखमा बेग्लै ‘एक्सन’का योजना देखिन्छन्। नारायणहिटी दरबार छिचोलेर निस्कने बित्तिकैको टुकुचा जय नेपाल सिनेमा घरदेखि हराएकोमा उक्त सिनेमा घरको आँगन खोतलेर फेला पारेको चर्चा र स्याबासी पाइरहेका बेला उहाँले फेसबुकमा टुकुचाबारे नभई तिनकुनेको चिन्ता जाहेर गरेकोमा पक्कै केही अर्थ र योजना रहेको छ। यो आम जनताको विश्वास हो। 

अधिग्रहण, मुआब्जा र स्वामित्व विवाद रहेको महानगरको क्षेत्राधिकारको खालि जग्गामा पक्कै पनि केही भौतिक योजनाका संरचना देख्ने विश्वास धेरैको छ। यसमा बालेनले भर्खरै मात्र सुरु गरेको अवैध संरचना भत्काउने अभियानले नै मानिसमा यस्तो आत्मविश्वास पैदा गरिदिएको हो। तिनकुनेभन्दा केही सय मिटर मात्र पर रहेको नेपालकै सबैभन्दा चौडाईको छ लेनको सडक अधिग्रहण, मुआब्जा र स्वामित्व विवादकै कारण अनिर्णयको कवचले संरक्षित एउटा कच्ची घरले अवरुद्ध भएकोमा त्यो हटाएर अर्को शक्ति आर्जन गरेका बालेनले त्यस्तै काम गर्ने विश्वास धेरैको छ। 

अवैध संरचना भत्काएर राम्रो काम गर्दै गरेका बालेनलाई अपजस पनि लाग्न थालेको छ। त्यो हो ‘भत्काउनु सजिलो हुन्छ तर बनाउनु कठिन काम हो। बालेनले भत्काउँदै मात्र छन् बनाउन थालेका छैनन्’ भन्ने। बालेनलाई त्यसको जवाफ दिने गतिलो ठाउँ पनि तिनकुने भएको छ। त्यहाँ बालेनले केही भत्काइरहनु पनि पर्दैन केवल बनाए मात्र पुग्छ। तिनकुनेमा भत्काउने काम काठमाडौँकै अघिल्ला प्रमुख केशव स्थापितबाट भइसकेको छ।  हरेक मान्छेका आआफ्ना सपना हुन्छन्, सोचाइ र योजना हुन्छन्। सबैका सपना, सोचाइ र योजना लागु हुन सक्दैनन्। जब त्यस्ता सपना, सोचाइ योजना सामूहिक बन्दै राज्यको तहमा पुग्छन् अनि तिनको कार्यान्वयनको दृढ इच्छाशक्ति भए मात्र मूर्त रूप पाउने हुन्। तिनकुनेकै कुरा गर्ने हो भने पनि त्यहाँ के कस्ता संरचना बनाउँदा उपयुक्त होला भन्ने हरेक व्यक्तिका सपना र सोच हुन्छन्। बालेनले उक्त पोस्ट गरेपछि कतिपयले त्यहाँ कस्ता संरचना बन्नु उपयुक्त हुन्छ भन्ने धारणा फेसबुकमै राखे। केहीले यसअघि काठमाडौँ महानगरपालिकाले नै योजना गरे जस्तै धारणा राखे, केहीमा नयाँपन पनि देखिए। 

नयाँ योजनामा तिनकुनेमा जलक्रीडास्थल बनाउनु पर्छ भन्ने पनि थियो। ती सोचाइ फेसबुकमा लेखिनुअघि नै मैले गोरखापत्रको समाचार कक्षमा साथीहरूसँग सामान्य सोच सुनाएको थिएँ। मेरो प्रस्ताव जलक्रीडास्थल जस्तै त थियो तर त्यसमा अरु धेरै कुरा समेटिएका थिए। 

हरेक योजना, निर्णय र कार्यान्वयनमा धेरैभन्दा धेरैको अपनत्व पनि भयो भने त्यसले आम स्वीकृति पाउँछ। मेरो योजनाबारे लेख्दा राम्रै होला भनेर नमागेको सल्लाह स्वरूप यहाँ केही खाका कोरेको छु। 

यी कुरा ख्याल गरौँ

कुनै पनि योजना बनाउँदा त्यसको व्यापक अध्ययन अनुसन्धान गरी प्राविधिक र आर्थिक रूपमा सम्भाव्यता अध्ययन भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुपर्ने हुन्छ। त्यसका लागि योजना कार्यान्वयन गर्न लागिएको भूक्षेत्रको अवस्थितिलाई हेर्नु उपयुक्त हुन्छ। 

१. तिनकुने जमिनको सारै नै अभाव रहेको र ज्यादै महìव तथा मूल्य रहेको भूक्षेत्र हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको यस क्षेत्रले अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा वा विशिष्ट पाहुना आउँदा उनीहरूले देख्न नहुने भनी कलङ्कको पर्दामा समेटिनु परेको छ। अर्थात् यो नेपालको मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा पनि महìव राख्ने भूक्षेत्र हो। र यसलाई त्यसै अनुरूप व्यवस्थापन गरिनु पर्दछ।

२. तिनकुने क्षेत्र वर्षयाममा डुबानको क्षेत्र पनि हो। त्यस क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी क्षेत्र, सिनामङ्गल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै दक्षिणी भाग र कोटेश्वर, महादेवस्थानलगायतका ठुलो क्षेत्रको पानी जम्मा हुन्छ। तिनकुनेको व्यवस्थापनमा यसको व्यवस्थापनका लागि पनि योजना बनाउनु पर्दछ।

३. काठमाडौँ उपत्यका कङ्क्रिटको जङ्गल बनिसकेको छ। सानो पानी पर्दा पनि जमिनका त्यो नसोसिई भलबाढीका रूपमा होचो तह खोज्दै बग्छ। तिनकुनेमा डुबानको समस्या यो पनि हो। तिनकुनेको व्यवस्थापनमा यसलाई पनि ध्यान दिनु पर्दछ।

४. काठमाडौँ उपत्यका कङ्क्रिटको जङ्गल बन्दा यहाँको जमिनमा पानीको पुनर्भरण हुन सकेको छैन। जमिनमुनि रहेको जलसतह पनि अव्यवस्थित र अनियन्त्रित रूपमा पानी तान्ने गरेका कारण या त सुक्दै छ या तलतल सर्दैछ । यसले गर्दा उपत्यकाको भूभाग धस्ने जोखिम पनि बढेको छ। पानी पुनर्भरणका लागि खुला क्षेत्रको अभाव रहेको अवस्थालाई पनि ख्याल गर्दै उक्त खाली जमिन त्यसका लागि सदुपयोग गर्ने गरी योजना बनाइनु पर्दछ। 

५. काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको सहरी विकास हचुवाको र तदर्थ प्रकृतिको छ। साना सडकमा गाँसिएका घरले आगलागीको जोखिम धेरै नै बढाएको छ। तीनवटै जिल्लाका स्थानीय तहहरूले सम्भावित आगलागी नियन्त्रणका लागि दमकलको बन्दोबस्त गरेका छन् तर आगलागी भएका बेला तिनमा पानी भर्ने समस्या ठुलो छ। त्यसैगरी, ठुला सडक र खुला क्षेत्रमा तिनलाई राख्ने ठाउँ अभाव छ, सबैजसो साना गल्ली रहेका व्यस्त क्षेत्रमा अवस्थित छन्। तिनकुनेको क्षेत्रलाई यस समस्यालाई पनि निराकरण गर्ने गरी व्यवस्थापन गर्नुपर्दछ। 

यसअघिका योजना

यसअघि तिनकुनेको व्यवस्थापनका लागि काठमाडौँ महानगरका केही योजना चर्चामा आएका थिए। करिब दुई अर्ब रुपियाँको लगानीमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने महानगरको एउटा विकल्प थियो। हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी पार्क बनाउने र तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै बुद्ध, धर्म र संघलाई आधार मानेर प्रारम्भिक डिजाइन पनि तयार गरिएको थियो।

तिनकुनेको बीचमा भने १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचनामा करिब १६ मिटर अग्लो बुद्धको मूर्ति राख्ने योजना थियो। तिनकुनेको तीनवटा कुनामा शङ्ख आकारको पार्क, भूमिगत पार्किङ र अन्य तलामा व्यापारिक कक्ष राख्ने महानगरको योजना थियो। 

काठमाडौँ महानगरकै अर्को योजनाका नाम कहिले पार्क कहिले आधुनिक बगैँचा र शान्ति मण्डला, आधुनिक स्तूपका थिए। ती कुनैमा पनि माथि उल्लेख गरिएका समस्या समाधान गर्ने र तिनकुनेको अमूल्य सम्पत्तिको व्यवस्थापन गर्ने सोच थिएन। पानीको थोरै व्यवस्थापन गर्ने गरी फाउन्टेनको योजना देखिन्थ्यो। 

कस्तो बनाउने त ?

ढिलोचाँडो तिनकुनेमा केही न केही भौतिक संरचना नबनाई सुखै छैन। अवश्य बन्ने नै छ। तर त्यहाँ कस्तो बनाउने भन्ने प्रश्न महìवपूर्ण हो। अब त्यसबारे चर्चा गरौँ।


१. तिनकुने अन्तर्राष्ट्रिय महìवको स्थल हो भन्ने यकिन भइसकेपछि कोही पनि विदेशी पाहुना आउँदा त्यस स्थललाई छोप्नेभन्दा त्यहाँ घुमाउने गरी संरचना बनाउनु पर्दछ। त्यहाँ घुमाउने मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप र व्यस्तताको समेत समस्या समाधान गर्ने गरी अतिथिलाई राज्यको वा महानगरको स्तरबाट त्यहीँ नै औपचारिक स्वागत गर्ने गरी संरचना बनाउनु उपयुक्त हुन्छ।

२. तिनकुनेमा वर्षायाममा काठमाडौँको ठुलो भूभागको पानी बगेर आउने हुँदा त्यसमा ठुलो पोखरी बनाएर भण्डार गर्न सकिन्छ। त्यसरी भण्डार भएको पानी प्रशोधन गरी विविध प्रयोजनमा उपयोग गर्न सकिन्छ । पाहुनालाई जलघडाबाट स्वागत गर्ने हाम्रो संस्कार हो। विदेशी पाहुना आउँदा सो क्षेत्रमा प्रवेश गराई सोही पानी प्रयोग गरी फोहोराबाट स्वागत गर्न सकिन्छ। यसैमा जलक्रीडाका अरु संरचना बनाउन सकिन्छ ।

३. पोखरीमा जम्मा भएको पानी काठमाडौँ उपत्यकाका सबै वारुणयन्त्र (दमकल)ले उपयोग गर्न सक्ने स्थायी जलस्रोतका रूपमा उपयोग गर्न सकिन्छ। पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर र मीनभवनको बर्खाको पानी तिनकुनेमा लैजान सकिन्छ। बर्खाको पानीले अभाव हुने भए मेलम्चीको पानी वा अन्य स्रोतको पानीबाट न्यूनतम सञ्चित भण्डार कायम राख्न सकिने गरी संरचना बनाइनु पर्दछ।

४. तिनकुने पोखरीमा जम्मा भएको पानीलाई काठमाडौँ उपत्यकाको भूमिगत जलसतह पुनर्भरण गर्ने गरी उपयोग गर्न सकिन्छ। त्यसका लागि आवश्यक प्राविधिक र भौतिक संरचना पनि एकसाथ बनाउनु पर्दछ । नजिकै रहेको वाग्मतीको सफाइमा पनि यो पानी उपयोग गर्न सकिन्छ।

५. तिनकुनेमा कुनै धर्म वा सम्प्रदायगतभन्दा पनि राष्ट्रिय सम्पदा, विविधता, विभूति आदिलाई स्थान दिनसक्नु पर्दछ। त्यस आधारमा सात प्रदेशका महìवपूर्ण स्थान, विभूति, सम्पदा आदिलाई प्रदर्शन गर्ने गरी मिनी नेपालको संरचना तयार पार्नु उपयुक्त हुन्छ।

      यसरी तिनकुनेको व्यवस्थापन गर्दा काठमाडौँ जिल्ला, महानगर मात्र होइन, समग्र नेपाल र नेपालीको अपनत्व स्थापित हुन्छ। तिनकुने झन्डै ५० वर्षदेखि भत्किइसकेको छ अब बनाउन मात्र बाँकी हो । तर अझै कति कुर्ने ?