• १३ साउन २०८१, आइतबार

बैतडीमा एक हजार म्यादी प्रहरीको माग

blog

म्यादी प्रहरीको भर्ना खुलेपछि जिप्रका बैतडीमा आवेदन दिनेको भीड । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, असोज २ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीमा एक हजार म्यादी प्रहरीको माग भएपछि भर्ना हुनेको भीड लागेको छ । निर्वाचन सुरक्षाका लागि बैतडीमा एक हजार ५१ जना म्यादी प्रहरी भर्ना गरिने बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षाका लागि बिहीबारदेखि म्यादी प्रहरीको फाराम लिन सुरु गरेका छौँ । फारम भर्नेको भीड लागेको छ । स्थानीय तहमा म्यादी प्रहरी भइसकेकाले पुनः फारम भरेमा प्राथमिकता दिने मापदण्ड बनेको छ ।”

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातारणमा मतदान गर्ने नागरिकको अधिकारको सुरक्षाका लागि नेपाल प्रहरीले मतदान केन्द्रको अनुगमन गरेर निर्वाचन सुरक्षा रणनीति बनाइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखको संयुक्त टोलीले मतदान केन्द्रको अनुगमन समेत गरिसकेको बैतडी प्रहरी प्रमुख प्रनाउ शाहीले जानकारी दिनुभयो । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बैतडीका १० स्थानीय तहमा १२९ मतदान स्थल र २०५ मतदान केन्द्र छन् । बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार ४१४ पुगेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।  

स्थानीय तहको निर्वाचनपछि बैतडीमा दुई हजार ८०८ नयाँ मतदाता थपिएपछि मतदाताको सङ्ख्या एक लाख ५१ हजार ४१४ पुगेको जिल्ला निर्वाचन कार्यालय बैतडीमा प्रमुख माधवप्रसाद फुयाँलले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा एक लाख ४८ हजार ६०६ जना मतदाता रहेको उहाँले बताउनुभयो  ।