• ११ असोज २०८१, शुक्रबार

आधा शताब्दीपछि शुद्ध पिउने पानी

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज २ गते । मोरङको कानेपोखरीवासीले गाउँ स्थापना भएको आधा शताब्दीपछि शुद्धपानी पिउन पाएका छन्। 

कानेपाखरी–७, हाइवे लाइनमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको शुक्रबार प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गर्नुभयो। १ नं. प्रदेश निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र एक खानेपानी आयोजनाअन्तर्गत निर्माण भएको खानेपानी आयोजना २०७५ को पुस १६ गते राईले नै शिलान्यास गर्नुभएको थियो। खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताउनुभयो। विकासका काममा दलीय दृष्टिले हेर्दा हाम्रा आयोजनाहरू समयमा सम्पन्न हुन नसकेको बताउँदै उहाँले कानेपोखरीका ट्युबवेल र इनार सुकेर यहाँका बासिन्दा काकाकुल बन्न लागेकोले सानो बस्ती भए पनि कानेपोखरी हाइवे क्षेत्र नै रोजाइमा परेको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको कानेपोखरी बजारमा एक सय घर छन्, तिनका लागि करोडौँको खानेपानी आयोजना किन भनेर कुरा उठ्यो। राईले थप्नुभयो। खानेपानी आयोजना जति उच्च स्थानमा राख्न सक्यो त्यति नै लागत खर्च कम र पानीको बहाव बढी हुने भएकोले प्राविधिक हिसाबले नै सानो बस्तीमा राखिएको हो। दुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी तीन हजार मिटर खानेपानी पाइप विस्तार गरिसकिएको छ। जति बढी पाइप विस्तार गर्न सकिन्छ, उति बढी उपभोक्ताको पहुँचमा खानेपानी पुग्नेछ, सांसद राईले भन्नुभयो।   

स्थानीय सामुदायिक वनको पाँच कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो। कूल तीन करोड २७ लाख ९५ हजार रुपियाँको लागतमा निर्माण भएको आयोजनाका लागि प्रदेश सरकारले दुई करोड ३९ लाख ४० हजार ७० रुपियाँ एवं बाँकी सङ्घीय सरकार र कानेपोखरी गाउँपालिकाले अनुदान सहयोग गरेका हुन्। हालसम्म उपभोक्ता समितिले सात लाख रुपियाँ खर्च गरिसकेको छ। 

पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै बस्ती बसेको कानेपोखरीमा तत्कालीन समाजसेवी हरिप्रसाद अधिकारीले २०२५ तिर एउटा इनार खनाउनुभएको थियो। त्यही इनारको पानीबाट कानेपोखरी दक्षिणको गाउँका बासिन्दासमेत लाभान्वित भएका थिए। ५० को दशकमा ट्युबवेलको पानी पिउने प्रचलन आएसँगै कानेपोखरीको इनार मासियो तर नजिकैका खोलामा अत्याधिक उत्खनन् र वन क्षेत्र मासिने क्रम बढेपछि कानेपोखरी आसपासका गाउँमा रहेका ट्युबवेल र इनार सुक्न थालेका छन्। राज्य पुनर्संरचना आयोगले साबिक बयरवन, केरौन र होक्लाबारी गाविस समाहित गरेर गाउँपालिकाको नाम कानेपोखरी राख्यो। पूर्वाधारका आधारमा कानेपोखरीमा केही विकास भएको छैन।