• १३ साउन २०८१, आइतबार

महारानीको अन्त्येष्टि सोमबार

महारानी एलिजाबेथको सात दशक

blog

संसारभर सबैकी प्रिय र अत्यन्त सम्मानित बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन ९६ वर्षको उमेरमा गत भदौ २३ गते बालमोरल दरबार, स्कटल्यान्डमा भयो। सत्तरी वर्षभन्दा बढी बेलायतमा शासन गर्नुभएकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्त्येष्टि आगामी सोमबार लन्डनस्थित वेस्टमिन्सटर एव्वे (चर्च)मा गरिने भएको छ। सो अन्त्येष्टि समारोहमा संसारभरका राजा, महाराजा, राष्ट्रप्रमुख तथा सरकारप्रमुखका साथै विभिन्न देशका ५०० भन्दा बढी प्रतिनिधि उपस्थित हुनुहुने भएको छ। नेपालबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको प्रतिनिधित्व गर्दै अन्त्येष्टि समारोहमा उपस्थित हुनुहुने भएको छ। 

समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँकी पत्नीलगायतका विश्वका नेताहरू सो समारोहमा बेलायती महारानीलाई अन्तिम बिदाइ गर्न उपस्थित हुनुहुने भएको छ। अन्य राष्ट्रका सरकारप्रमुखहरूमा क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्डका प्रधानमन्त्रीहरू हुनुहुनेछ। साथै बेल्जियम, नेदरल्यान्ड, स्विडेन र स्पेनका राजारानीहरूले पनि कार्यक्रममा भाग लिनुहुने भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। 

सन् १९२६ को अप्रिल २१ मा लन्डनको ब्रुटन स्ट्रिट, मेफेयरमा जन्मनुभएकी महारानी संसारकै सबैभन्दा बढी समय शासन गर्ने शासकमध्येमा पर्नुहुन्छ। उहाँ विश्वभर महिलामा सबैभन्दा बढी र समग्रमा दोस्रो लामो शासन गर्ने राष्ट्रप्रमुख मानिनुहुन्छ। उहाँभन्दा बढी शासन गर्नेमा फ्रान्सका लुई चौधौँ मात्र हुनुहुन्छ। उहाँले ७२ वर्ष शासन गर्नुभएको थियो। महारानी एलिजाबेथले थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजलाई लगभग तीन महिनाले उछिन्नुभएको छ। बेलायतमा भने उहाँ नै सबैभन्दा बढी शासन गर्ने राष्ट्रप्रमुख हुनुभएको छ। बेलायतमा महारानी भिक्टोरियाले ६३ वर्ष शासन गर्नुभएको थियो।

महारानी एलिजाबेथ ड्युक अफ योर्क जर्ज छैटौँ र डचेस अफ योर्क मुमाबडामहारानी एलिजाबेथकी जेठो सन्तानका रूपमा जन्मनुभएको थियो तर उहाँका ठूलोबुबा एडवर्ड आठौँ जो राजा हुनुभएको थियो, कारणवश राजगद्दी त्याग गर्नुभएकाले उहाँका बुबा अर्थात् जर्ज छैटौँ राजा र उहाँकी मुमा एलिजाबेथ रानी हुनुभयो। यसपछि एलिजाबेथ द्वितीया स्वतः गद्दीको हकदारका रूपमा देखिनुभयो। यदि एडवर्डले राजगद्दी त्याग गर्ने अवस्था नआएको भए एलिजाबेथ राजगद्दीको उत्तराधिकारी हुने अवस्था नआउन सक्थ्यो।

एलिजाबेथको पूरा नाम एलिजाबेथ अलेक्जान्ड्रा म्यारी विन्डसर रहेको छ। एलिजाबेथ उहाँकै आमाको नामबाट आएको हो तर उहाँको प्रचलित नाम एलिजाबेथ द्वितीया नै रहन गयो। उहाँको जन्म सिजरिन अपरेसनबाट भएको बताइएको छ। उहाँलाई परिवारमा माया गरेर ‘लिलिवेट’ भनिने गरिएको थियो। यो नाम उहाँकै हजुरबुबा जर्ज पाँचौँले राखिदिनुभएको हो। महारानी एलिजाबेथ सानै हुँदा आफ्नो नाम उच्चारण गर्न नजानेर ‘लिलिवेट’ भन्ने गरेकाले परिवारका अन्य सदस्य खासगरी हजुरबुबाले सो नाम राखिदिनुभएको थियो। 

उहाँ र उहाँकी बहिनी मार्गरेटको शिक्षादीक्षा घरमै आफ्नी आमा र शिक्षिका म्यारियन क्रफोर्डबाट भएको थियो। उहाँलाई इतिहास, भाषा, साहित्य र सङ्गीतको शिक्षा दिइएको थियो। उहाँको जीवनी लेख्नेहरूले उहाँलाई घोडा र कुकुरजस्ता पाल्तु जनावर मन पर्ने, व्यवस्थित दैनिकी बिताउने र जिम्मेवारीलाई गम्भीर रूपमा लिने भनी प्रशंसा गरेका छन्। बेलायतका पूर्वप्रधानमन्त्री विन्सटन चर्चिलले एलिजाबेथ एकदमै सानैमा पनि खरो रूपमा आफ्नो प्रभाव देखाउन सक्ने भनी प्रशंसा गर्नुभएको थियो। उहाँका हजुरबुबा जर्ज पाँचौँ राजा हुँदा एलिजाबेथ गद्दीको तेस्रो क्रममा हुनुहुन्थ्यो र राजा हुने सम्भावना थिएन तर उहाँका ठूलोबुबा राजा भएपछि उहाँ आफ्नो बुबापछिको रोलक्रममा राजा हुने दोस्रो क्रममा पर्नुभएको थियो। उहाँका ठूलोबुबा एडवर्डबाट गद्दी परित्याग गरेपछि भने उहाँ आफ्ना बुबापछि राजा हुने क्रममा पर्नुभयो। उहाँलाई १४ वर्षको हुँदा उत्तराधिकारीका रूपमा मानिएको थियो तर उहाँका बुबा जर्ज छैटौँ सन् १९३६ मा राजा भएर सन् १९५२ को फेब्रुअरीमा मृत्यु भएपछि एलिजाबेथ फेब्रुअरी ६, १९५२ मा बेलायतकी महारानी हुनुभयो। उहाँको विवाह सन् १९४७ को नोभेम्बर २० मा वेस्टमिन्स्टर एव्वेमा राजकुमार फिलिप माउन्टवेटनसँग भएको थियो। 

विवाहको दिन फिलिपलाई ड्युक अफ एडिनवर्गको उपाधि दिइएको थियो। विवाह गरेपछि उहाँहरूले सामान्य रूपमै जीवन बिताउन थाल्नुभयो। सन् १९५२ मा त्यसबेलाकी युवराज्ञी एलिजाबेथ केन्या भ्रमणमा गएका बेला उहाँका पिता राजा छैटौँको निधन भएपछि उहाँ महारानी घोषित हुनुभयो। त्यसपछि भने राजकुमार फिलिपले नौसैनिक सेवाबाट अवकाश लिनुभयो र महारानीलाई राजकीय काममा सघाउन थाल्नुभयो। महारानीको राज्याभिषेक भने सन् १९५३ को जुन २ मा भएको थियो। 

राजकुमार फिलिप ग्रिसमा जन्मेका विदेशी मूलका भएकाले पहिले उहाँसँग एलिजाबेथको विवाह गर्न दिने÷नदिने सम्बन्धमा केही विवाद भएको थियो। मुमाबडामहारानी एलिजाबेथले पनि विदेशी भनेर विवाह गरिदिन चाहनुभएको थिएन। विवाहको पाँच वर्षसम्म पनि उहाँलाई बेलायतको राजकुमारको उपाधि दिइएको थिएन र छोराछोरीको नाममा आफ्नो थर नजोडिने भन्ने बुझेपछि राजकुमार फिलिप रिसाउनुभएको थियो तर सन् १९६० मा उहाँलाई बेलायती राजकुमारका रूपमा स्वीकारिएको थियो भने उहाँका छोराछोरीमा उहाँ र एलिजाबेथ दुवैको थर माउन्टवेटन–विन्डसर प्रयोग गर्न पाउने सहमति भएको थियो। राजकुमार फिलिपको ९९ वर्षको उमेरमा गत वर्ष अप्रिल २०२१ मा निधन भइसकेको छ। महारानी एलिजाबेथका चार जना छोराछोरी भएका थिए। उहाँहरूमध्ये जेठो सन्तान राजकुमार चाल्र्स बेलायतको राजा हुनुभएको छ भने उहाँले चाल्र्स तृतीयका रूपमा शासन सम्हाल्नुहुने भएको छ।

सत्तरी वर्षे शासनकालमा एलिजाबेथ द्वितीयाले बेलायत तथा संसारकै इतिहासमा धेरै उतारचढाव र परिवर्तन देख्नुभयो। उहाँको विवाह हुँदा द्वितीय विश्वयुद्ध समाप्त भइसकेको थियो र संसारभर प्रभाव राख्न सफल बेलायतबाट यसका उपनिवेश क्रमशः स्वतन्त्र घोषित हुँदै गएका थिए। उहाँ आफ्नो जीवनभरमा ३२ वटा राज्यको राष्ट्रप्रमुख रहनुभयो भने निधन हुने समयसम्ममा पनि उहाँ १५ वटा राज्यको राष्ट्रप्रमुख रहनुभएको थियो। उहाँ अस्टे«लिया, न्युजिल्यान्ड, क्यानाडालगायतका कमनवेल्थ राज्यको राष्ट्रप्रमुख रहनुभएको थियो। उहाँ बेलायतको इतिहासमा आफ्नो शासनको प्लाटिनम् जुब्ली अर्थात् सत्तरीऔँ वार्षिकोत्सव मनाउने पहिलो राष्ट्रप्रमुख हुनुहुन्छ। उहाँको गद्दी आरोहणको ७०औँ वार्षिकोत्सव यही २०२२ को जुन महिनामा मनाइएको थियो। 

उहाँले आफ्नो जीवनकालमा द्वितीय विश्वयुद्धको सुरु र समाप्ति, अफ्रिकी राष्ट्रहरूको उपनिवेशबाट स्वतन्त्रता, भारत, पाकिस्तानको स्वतन्त्रताका साथै कमनवेल्थको स्थापना, विश्वयुद्धपछिको शीतयुद्ध पनि झेल्नुभएको थियो। उहाँकै समयमा युरोपेली युनियनको स्थापना र बेलायतको त्यसमा संलग्नता मात्र होइन, त्यसबाट भएको बहिर्गमन (ब्रेक्जिट) पनि देख्नुभयो तर उहाँ संवैधानिक राष्ट्रप्रमुख हुनुभएकाले विवादमा फस्नुभएन भने बेलायत  मात्र होइन, विश्वभर सबैको प्रिय भएर रहनुभयो। उहाँले आफ्ना उपनिवेश मात्र होइन, रुस, चीन, युगोस्लाभियालगायतका राष्ट्रको पनि भ्रमण गर्नुभएको थियो। उहाँले सन् १९७२ मा प्रथम पटक कम्युनिस्ट राष्ट्र युगोस्लाभियाको भ्रमण गर्नुभएको थियो। उहाँलाई विश्वविख्यात युगोस्लाभ नेता जोसेफ ब्रोज टिटोले बेल्ग्रेडमा स्वागत गर्नुभएको थियो। उहाँले सन् १९८६ मा चीनको र १९९४ मा रुसको समेत भ्रमण गर्नुभएको थियो। 

नेपाल र बेलायतबीच युगौँ पुरानो सम्बन्ध रहिआएको र प्रथम तथा द्वितीय विश्वयुद्धमा नेपालका गोर्खा फौजले बेलायतलाई सहयोग गरेकाले उहाँ नेपालसंग निकट हुनुहुन्थ्यो र नेपाललाई माया गर्नुहुन्थ्यो। यसैको फलस्वरूप उहाँले नेपालको दुई पटक भ्रमण गर्नुभएको थियो। उहाँको पहिलो भ्रमण राजा महेन्द्रको शासनकालमा सन् १९६१ मा भएको थियो भने दोस्रो भ्रमण सन् १९८६ मा राजा वीरेन्द्रको शासनकालमा भएको थियो। 

नेपाल भ्रमणका बेला उहाँले चितवन राष्ट्रिय निकुञ्जको पनि भ्रमण गर्नुभएको थियो। यसबीच बेलायतका राजकुमार चाल्र्स (हाल राजा चाल्र्स तृतीय)ले पनि नेपालको दुई पटक भ्रमण गरिसक्नुभएको छ। नेपालमा २०७२ मा गएको विनाशकारी भूकम्पबाट तहसनहस भएका बेला बेलायतका राजकुमार ह्यारीले नेपालको भ्रमण गर्नुभएको थियो। 

नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएदेखि बेलायतले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ भने विभिन्न समयमा उच्चस्तरका भ्रमण भएका छन्। यति लामो समयसम्म शासन गर्ने शौभाग्य प्राप्त गर्नुभएकी महारानी एलिजाबेथ अब स्मरणमा मात्र रहनुहुनेछ। उहाँका पुत्र नयाँ राजा चाल्र्स तृतीयको शासनकालमा नेपाल–बेलायत सम्बन्ध र सहयोग अझ प्रगाढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ।