• ११ असोज २०८१, शुक्रबार

साल्मे सिस्नेरी पहिरोका कारण यात्रा कष्टकर

blog

फोटो : साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरो ।

सन्तोष राउत
सोलुखुम्बु, भदौ ३१ गते ।
 सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा गएको पहिरोका कारण यात्रा कष्टकर बनेको छ । लगातारको वर्षासँगै दैनिकजसो जाने पहिरोले दैनिक यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।

वर्षायाममा वर्षौदेखि दुःख दिइरहेको उक्त पहिरो पछिल्लो समय परेको लगातारको वर्षाले झनै झर्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेका छन् भने खुलेको समयमा पनि माथिबाट पहिरोको जोखिम रहेको चालकहरू बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णकुमार कटुवालले पानी पर्नासाथ माथिबाट आएको पहिरोको कारण बिहीबार दिउँसोदेखि शुक्रबार बिहानसम्म १६ घण्टाभन्दा बढी समय सवारी सञ्चालन ठप्प भएको जानकारी दिनुभयो ।


माथिल्लो भागबाट खसेको ढुङ्गा र लेदोसहितको पहिरो सडकमा थुप्रिएको र तल्लो भागबाट पनि पहिरो गएकाले खुलाउन निकै समय लागेको उहाँले बताउनुभयो ।

पानी पर्नासाथ सडक मार्ग बन्द भए पछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारी साधनहरू अलपत्र पर्ने गरेका छन् । जिल्लाबाट काठमाडौं, विराटनगर तथा छिमेकी जिल्लाहरूका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालवाहक तथा यात्रुबाहाक सवारी साधनहरू दैनिक घण्टौ रोकिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


यस क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु हाईड्रोपारले पहिरो पन्छाउन एक्स्काभेटर तथा अन्य जनशक्ति समेत सहयोग गर्दै आएको छ । जिल्ला भित्रिने एकमात्र सडक मार्ग बारम्बार अवरुद्ध भइरहँदा एकातिर यात्रा जोखिमपूर्ण बनिरहेको छ भने अर्कातिर समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन ।