• १६ भदौ २०८१, आइतबार

डेङ्गु सङ्क्रमण उच्च

कतै किट अभाव, कतै उपचारमा समस्या

blog

गण्डकी ब्युरो 

पोखरा, भदौ ३० गते । देशका विभिन्न स्थानमा केही दिनयता डेङ्गु सङ्क्रमण फैलिएको छ। यसले सर्वसाधारणलाई नराम्रोसँग थला पारेको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि डेङ्गुको सङ्क्रमण बढ्दो गतिमा छ। 

पोखरा समाचारदाताका अनुसार टाउको दुख्ने, एक्कासि ज्वरो आउने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी, हाडजोर्नी दुख्ने लक्षण लिई अस्पताल पुग्ने बिरामी बढ्दो छन्। यस्तो लक्षण देखिनासाथ तुरुन्तै स्वास्थ्य संस्थामा पुग्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेश कार्यालयले जनवरीदेखि नै डेङ्गु सङ्क्रमण देखिएको बताएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार नेपालमा सन् २००४ पछि २०१९ मा डेङ्गुका सबैभन्दा धेरै पुष्टि भएको छ। यसले प्रकोपको रूप लिएको थियो। अहिले पनि यसलाई सामान्य रूपमा लिनुहुँदैन। ज्वरो आयो भन्दैमा जथाभावी औषधि खानुहुँदैन। चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ।

त्यस्तै लामखुट्टे फैलनाका लागि ह्युमिडिटी (सापेक्षित आद्र्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन्।

कास्की समाचारदाताका अनुसार यस रोगको प्रकोप व्यापक भए पनि यतिखेर गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण दर केही कम हुँदै गएको छ। वर्षायाम अझै बाँकी भएकाले हेलचेक्र्याइँ गर्न नहुने चिकित्सकको भनाइ छ। “प्रदेशभरिको तथ्याङ्क हप्ता–हप्तामा लिने गरिन्छ। अघिल्लो हप्ता ५६ जनामा डेङ्गु देखिएको थियो भने यो हप्ता २९ जनामा झरेको छ,’’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले बताउनुभयो। 

प्रदेशभर डेङ्गु सङ्क्रमण रोकथामका लागि एमएम, रेडियो सन्देश, ब्रोसर बाँड्नेजस्ता जनचेतना कार्यक्रम भएको डा. श्रेष्ठले सुनाउनुभयो। डेङ्गुको सुरुवाती लक्षण ज्वरो भएकाले डाक्टरको सल्लाहबमोजिम मात्र औषधि खान उहाँले आग्रह गर्नुभयो। पोखरा महानगरपालिका स्वास्थ्य शाखाका अनुसार कोभिड, डेङ्गुलगायत सङ्क्रामक रोग नियन्त्रणका लागि महानगरपालिकाले ३५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। 

स्याङ्जा समाचारदाताका अनुसार स्याङ्जा जिल्लाका विभिन्न स्थानमा डेङ्गु रोगको जोखिम बढ्न थालेको छ। अहिलेसम्म डेङ्गु रोगको लक्षण २० जनामा देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ। यो रोगको लक्षण सबैभन्दा बढी गल्याङ नगरपालिकाको गल्याङमा १५, चापाकोटमा तीन र वालिङमा दुई जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताउनुभयो।

पालिकाहरूमा डेङ्गु रोगका लक्षण देखिन थालेपछि स्याङ्जावासीलाई यसबाट बच्न सचेतना अभियान सुरु गर्न लागिएको शर्माले बताउनुभयो। परीक्षणका लागि किट अभाव रहेको बताउँदै शर्माले विगतका वर्षहरूमा झैँ आर्थिक अभावले किट खरिदमा समस्या भएको बताउनुभयो। 

कावासोतीका समाचारदाता अनुसार पूर्वी नवलपरासीमा डेङ्गु रोग सङ्क्रमण बढेसँगै परीक्षण गर्ने किट अभाव भएको छ। मध्यबिन्दु जिल्ला अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थामा किट अभाव हुँदा बिरामी चितवन र निजी अस्पतालमा जान बाध्य छन्। अहिले स्वास्थ्य संस्थामा दैनिक ५० जना ज्वरोका बिरामी आउने र जसमध्ये १० जनालाई डेङ्गुसँग मिल्दोजुल्दो लक्षण देखापर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइले बताउनुभयो।