• १३ साउन २०८१, आइतबार

मुसहर बालबालिका पढाइबाट वञ्चित

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ३० गते । सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीका श्यामपरी देवीका दुई छोरी र एक छोरा गरी तीन सन्तान छन्। नौ र सात वर्षकी छोरी र पाँच वर्षका छोरामध्ये उहाँका कुनै पनि सन्तान विद्यालय जाँदैनन्। जन्मदर्ता नबन्दा छोराछोरीलाई विद्यालय पठाउन नपाएको श्यामपरीले बताउनुभयो। जन्मदर्ता नभएकै कारण छोराछोरीलाई विद्यालयले भर्ना गर्न नमानेको उहाँको गुनासो छ। 

“हाम्रो नागरिकता नभएका कारण छोराछोरीको जन्मदर्ता बनेको छैन। जन्मदर्ता नहुँदा यिनीलाई विद्यालयले भर्ना लिएको छैन,” श्यामपरीले भन्नुभयो, “रहर हुँदाहुँदै पनि छोरा छोरीलाई पढाउन पाएका छैनौँ। विद्यालयले भर्ना लिइदिए बनिबुतो गरेर भए पनि पढाउँथ्यौँ।”

श्यामपरीजस्तै मुसहर बस्तीका अधिकांशको समस्या यस्तै छ। जन्मदर्ता नभएर र बुवा आमासँग मजदुर गर्न जानुपर्दा मुसहर बालबालिका पढाइबाट वञ्चित हुँदै आएका छन्। हरिपुर नगरपालिका–७, चिताइनकी कृतिकुमारी माझीले मुसहर समुदायमा अधिकांश बालबालिका विद्यालय भर्ना नहुने र भर्ना भएकाले पनि एक÷दुई कक्षा पढेर छाड्न बाध्य रहेका बताउनुभयो। कृतिकुमारी भने महावीर जनता माध्यमिक विद्यालयको कक्षा नौमा अध्ययनरत हुनुहुन्छ। 

चिताइनको मुसहर बस्तीबाट मुसहर बालबालिकामध्ये कृतिकुमारी मात्रै विद्यालय जानुहुन्छ। “यहाँबाट म जस्ता साथीहरू कोही पनि विद्यालय जाँदैनन्। यो पूरा बस्तीमा विद्यालय जाने म मात्रै हो,” कृतिकुमारीले भन्नुभयो, “अरू सबै आ–आफ्नो बुवा आमासँग इँटा भट्टालगायतका काम गर्न जाने गर्छन्।” मुसहर समुदाय हिउँदको छ महिना कामको खोजीमा घर बाहिर हुन्छन्। अभिभावक कामको खोजीमा जाँदा उनीहरूका बालबच्चा समेतसँगै जाने गरेका छन्। 

राष्ट्रिय मुसहर सङ्घ सर्लाहीका अध्यक्ष ऋतुराज ऋषिले जन्मदर्ता नभएका र बुवाआमासँग मजदुरी गर्न जानुपर्दा मुसहर बालबालिका पढाइबाट वञ्चित हुँदै आएको बताउनुभयो। “जन्मदर्ता पाउनुपर्ने बालबालिकाको नैर्सगिक अधिकार हो तर यहाँ त बुवाआमाको नागरिकता नभएको बहानामा मुसहर बालबालिकालाई जन्मदर्ताबाट वञ्चित गरिएको छ,” उहाँले भन्नुभयो, “जन्मदर्ता भएका पनि पेट पाल्नका लागि बुवाआमा मजदुरी गर्न जाँदासँगै जाने गरेका छन्। उनीहरूले चाहेर पनि पढ्न पाएका छैनन्।”

आमाबुवाको नागरिकता नभए वडाध्यक्षले सूचक बसेर जन्मदर्ता बनाइदिन सक्ने भए पनि वडाध्यक्षहरूले यसप्रति चासो देखाएका छैनन्। पछिल्लो समय मुसहरको क्षेत्रमा काम गरिरहेको साउथ एसिया पार्टनरसीप नेपाल (साप–नेपाल) नामक संस्थाको पहलमा जिल्लाको बरहथवा र हरिपुर नगरपालिकामा वडाध्यक्षलाई सूचक राखेर केही मुसहर बालबालिकाको जन्मदर्ता बनाइएको संस्थाका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो। 

जिल्लाको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मुसहर समुदायलाई लक्षित गर्दै वडावडामा जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता जस्ता व्यक्तिगत घटनादर्ताको शिविर सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो। “व्यक्तिगत घटनादर्ताका लागि टोलटोलमा घुम्ती शिविर गर्ने योजना छ,“ गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “कानुनअनुसार हामीले जन्मदर्ता र नागरिकता दिलाउन मिल्ने मुसहरलाई यो अभियानमार्फत जन्मदर्ता र नागरिकता दिलाउँछौँ।”

यस्तै हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पञ्जियारले मुसहर समुदाय र उनीहरूका बालबालिकाको उत्थानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। “हामीले सानोमा देख्दादेखि नै उहाँहरूको अवस्था यस्तै छ। अब हामीले अवस्था उकास्ने गरी काम गर्छौँ,” नगरप्रमुख पञ्जियारले भन्नुभयो, “मुसहर बालबालिकालाई जन्मदर्ता दिलाउनेदेखि अध्ययनको व्यवस्था मिलाउन पहल गर्न तत्पर छु।” लालबन्दीमा संस्थागत विद्यालय सञ्चालन गर्नुभएका नगरप्रमुख पञ्जियारले मुसहर समुदायबाट मेहनती र जेहेनदार एक जना विद्यार्थीलाई आफूले उच्च शिक्षासम्मको निःशुल्क अध्ययन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।