• १३ साउन २०८१, आइतबार

बालबालिकालाई सम्झाउने कला

blog

विद्यार्थीका लागि दशैँ तिहार, जाडोजस्ता लामो बिदा हुने समय नजिकै आउन लागेको छ। त्यतिखेर विद्यार्थी प्रायःजसो घरमै हुने भएकोले मोबाइलमा व्यस्त हुनुभन्दा पनि विद्यार्थीले घरबाट सिक्नुपर्ने अनेक सीप छन्। भनिन्छ किशोरावस्थाका केटाकेटीको सुत्ने कोठा सुँगुरको खोर समान हुन्छ। यसो हुनुमा सानैदेखि उनीहरूका सबै काम अभिभावकले नै गरिदिने हुँदा उनीहरूले आफ्नो काम आफैँ गर्नुपर्छ हेक्का नराख्नु हो। जापानका स्कुलमा सरसफाइको लागि एक जना पनि राखिएको हुँदैन भनिन्छ। विद्यार्थीले आफ्नो कक्षा कोठा आफैँ सफा गर्नेदेखि आफूले उत्पन्न गरेको फोहोर कता फाल्नुपर्छ भन्ने सबै आफँै गर्छन्। त्यसैले आफ्नो प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका जीवनोपयोगी कुराहरू हामीले पनि आफ्ना नानीबाबुलाई सानैदेखि सिकाउने हो भने हाम्रो गाउँसहर सफा बन्न कति नै समय लाग्छ र ? त्यसका लागि आफ्नो सुत्नेकोठा सफा राख्ने, कापीकिताब, आफ्ना लुगाहरू धुने, मिलाएर राख्ने, जुत्ता पोलिस गर्नेदेखि आफूले गर्नसक्ने आफ्ना कामहरू नानीबाबुहरूलाई आफैँ गर्न लगाउनु पर्छ। बाल मनोचिकित्सकका अनुसार, साना केटाकेटीलाई आफैँ खान दिनुपर्छ। चारैतिर पोखेर खान थालेको केही दिनमा विस्तारै उनीहरू राम्रोसँग नपोखीकन खान सिक्छन्। 

आमाबुवाका लागि सन्तान नै सबैथोक हुन्। देश, परदेशमा काम गरी ज्यानै जोखिममा राखेर जन्माएका, हुर्काएका सन्तान खुसी रहून् भन्ने चाहना प्रत्येक आमाबुवाको हुन्छ। त्यसैले प्रत्येक अप्ठ्यारालाई चुनौती दिँदै सन्तानको लालनपालन र उचित शिक्षाका लागि रातदिन नभनी काम गर्न तल्लीन हुन्छन्। यसरी दुःख गरी हुर्काएका सन्तानले उचित शिक्षा पाऊन् र असल मान्छे बनून् भन्ने प्रत्येक आमाबुवाको चाहना हुनु स्वाभाविक हो। तर आमाबुवाको सोचाइअनुसार के उनका सन्तानहरूले पनि काम गरिरहेका, पढिरहेका छन् त ? विगतमा आफ्ना नानीबाबुले के गरे र त्यसलाई कसरी आउँदो वर्षदेखि सुधार्दै लैजाने भन्ने कुरा अभिभावकका लागि सोचनीय हुनुपर्छ। पश्चिमा शैलीको प्रभावले केटाकेटीमा धेरै परिवर्तन आउन थालेको देखिन्छ। कक्षा आठदेखि नै कतिपय विद्यार्थी आफ्नो जन्मदिन घरमा बसेर आमाबुवासँग मनाउनुभन्दा पनि होटेल, रेस्टुराँमा साथीहरूसँग मनाउन थालेका छन्। 

स्कुल छुट्टी भएपछि घर जानुको सट्टा कक्षा आठदेखि माथिका विद्यार्थीहरू जोडी भएर गल्ली गल्ली हिँडेको देखिन थालिएको छ। झिसमिसेमा काम विशेषले बाहिर निस्कँदा कक्षा १० मा पढ्ने केटाकेटीहरू चुम्बन गर्दै हिँडिरहेको देखिन्छ। हात समाउँदै केटाकेटीहरू गल्लीतिर हिँडेको प्रशस्तै देखिन्छ। केटाकेटी रमाइलो गर्नु, कुरा गर्नु, साथी बन्नु हुँदैन भन्न खोजिएको होइन तर परिणाम के हुन्छ भन्ने थाहा नभएका उनीहरू धेरै नजिक हुँदा दुर्घटना निम्तिन सक्छ भन्न खोजिएको मात्र हो। अभिभावकले आफ्ना छोराछोरीसँग बसेर सल्लाह, सुझाव र परामर्श गरिरहनु पर्दछ। हुन त कतिपय अभिभावक मैले सकिन, छोराछोरी बिग्रिन थाले भनेर छोराछोरीलाई नबताइकन पनि स्कुलमा सुटुक्क भेट्न आउने गरेका छन्। कतिपय आमाबुवाको भने कुरा नमिल्दा धेरै दिनसम्म आफ्ना सन्तानसँग बोलचाल नभएको पनि पाइन्छ। यस्तोमा एकले अर्कोसँग तर्केर हिँड्नुभन्दा पनि सके अभिभावक र सन्तान बसेर नसके स्कुलका शिक्षकसहित तीनैथरी बसेर खास समस्या घरमा हो या स्कुलमा हो पहिल्याएर निकास दिनुपर्छ। 

बिहान विद्यार्थी स्कुल जानुभन्दा पहिला उनीहरूलाई घरमै छोडेर हिँड्ने र बेलुकी विद्यार्थीभन्दा ढिलो घरमा आइपुग्ने अभिभावक पनि प्रशस्त भेटिन्छन्। यस्तोमा विद्यार्थीलाई खाजा खानु भन्दै प्रशस्त पैसा छोडेर गएको देखिन्छ। विद्यार्थीहरू त्यो पैसाले आफूलाई फाइदा गर्ने खानाभन्दा पनि जिब्रोको स्वादका लागि चुइगम, लेज, कुरकुरेजस्ता पौष्टिक तìवरहित घातक रसायन मिसाइएका खानेकुरा बढी खाने गर्दछन्। विद्यार्थीहरू कतिखेर घर फर्किन्छन् भन्ने हेक्कासम्म यस्ता व्यस्त अभिभावकलाई हुँदैन। यस्ता विद्यार्थीहरू लामो समयसम्म बजार घुम्दै, रेस्टुराँ पस्दै साथीहरूसँगै ढिला गरी हिँडिरहेका देखिन्छन्। 

यसरी लामो समयसम्म घरमा एक्लै बस्ने विद्यार्थी पढाइमा ध्यान दिनुभन्दा पनि कुलतमा फस्न सक्ने सम्भावनासमेत देखिएको छ। सबै परिवारमा यस्तो नदेखिए पनि कतिपय अभिभावक घरमा समय दिन पाउँदिन, शिक्षकहरूले हेरिदिनु प¥यो, सम्झाइदिनु भन्ने खालका हुन्छन्। यसले आफ्ना सन्तान बिग्रनुमा उनीहरूलाई समय दिन नसक्नु पनि एउटा मुख्य कारण हो भन्ने हेक्का अभिभावकमा हुनुपर्छ। विषयगत ज्ञान बढाउनका लागि कतिपय कुरा शिक्षकले इन्टरनेटबाट खोजेर पढ्नु भनेको कुरालाई विद्यार्थीले दुरुपयोग गरी घन्टौँसम्म मोबाइलमा व्यस्त हुने गरेको पाइन्छ। अहिलेको समयअनुसार एउटा किताब मात्र पढ्ने साधन होइन। बृहत ज्ञानको भण्डार इन्टरनेटबाट आफूलाई चाहिने सम्पूर्ण कुरा पढ्न र हेर्न सकिन्छ तर कतिबेला, कति समयका लागि र के गर्नका लागि विद्यार्थीलाई मोबाइल दिने भन्ने कुरा अभिभावकको निगरानीमा हुनुपर्छ। घरबाट खासै रोकतोक नभएका विद्यार्थीहरू बाटोमा जोडी बनाएरसँगै हिँड्ने र घरमा पनि हातहातमा मोबाइल हुने भएकोले केटाकेटीलाई नजिक हुन सजिलो भएको छ। यसले केटाकेटीहरू मोबाइलबाटै कुरा गरेर घरबाट, छात्राबासबाट भाग्ने गरेको पनि पाइएको छ। घरमा पढ्न नमान्ने विद्यार्थीलाई बिहान बेलुकीका अतिरिक्त कक्षामा पढ्न पठाइएको हुन्छ। यस्तोमा आफ्ना नानीबाबुहरू कति बजे स्कुल पुग्नुपर्छ, स्कुल पुग्न कति समय लाग्छ, उनीहरूले बाटोमा कति समय बिताए सबै कुराको ज्ञान अभिभावकलाई हुनु जरुरी छ। आफ्ना नानीबाबुहरू असल र नैतिक चरित्रवान् बनून् भन्नका लागि अभिभावकले पनि उत्तिकै सङ्घर्ष गर्नु जरुरी छ। 

समुदायअनुसार विद्यार्थीको आनीबानी फरक हुन्छ। आफू अनुशासनमा रहने अभिभावकका सन्तानहरू घरबाहिर, घरभित्र, स्कुलमा सबैतिर अनुशासित हुन्छन्। घरमा रक्सी, चुरोट खाने, झैँभगडा गर्ने, छाडा शब्द बोल्ने आमाबुवाका सन्तानहरूले पनि त्यस्तै सिकेका हुन्छन्। आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि, अभिभावक पनि अनुशासित हुनु र घरमा केटाकेटीको आनीबानी थाहा पाएर त्यसैअनुसार निगरानी राख्नु आवश्यक भएको छ। 

एकचोटि एक जना विद्यार्थीले आफ्नो साथीको हातमा रगत नै आउने गरि टोके। किन यस्तो गरेको भनेर सोध्दा स्कुलमा शुल्क तिरेको छ नि त भन्ने जवाफ त्यो विद्यार्थीबाट आयो। स्कुलमा पढ्न शुल्क तिरेको छ भन्दैमा आफ्ना नानीबाबुहरूलाई कस्तो कुरा सिक्न प्रोत्साहित गर्नुपर्छ त्यो अभिभावकलाई पनि थाहा हुनु जरुरी छ। आफ्ना नानीबाबुहरूको अगाडि यो स्कुल राम्रो, त्यो नराम्रो, यो शिक्षक राम्रो त्यो नराम्रो भनेर सुनाइरहँदा विद्यार्थीमा स्कुलप्रति, पढाउने शिक्षकप्रति नकारात्मक दृष्टिकोण बन्छ जसका कारण ऊ स्कुल, शिक्षकबाट जीवनोपयोगी कुराहरू प्राप्त गर्नबाट चुक्छ। त्यसैले भनिन्छ विद्यार्थीको पहिलो स्कुल उसको घर र पहिलो गुरु उसका आमाबुवा नै हुन् जहाँबाट उसले असल र खराब आचरण सिक्दछ। 

पढाइबाहेक विद्यार्थीको ध्यान अनावश्यक कुरामा गयो भने यसले पढाइमा बाधा त पु¥याउँछ नै सँगसँगै विद्यार्थीको भविष्य पनि अन्योलग्रस्त बनाइदिन्छ। समयमा पढाइमा ध्यान दिन नसक्दा परीक्षाको समयमा चीट चोर्ने, साथीहरूको बाट सार्ने जस्ता घट्नाहरू पहिलेभन्दा निकै बढेको देखिन्छ। माध्यमिक परीक्षाका विद्यार्थीहरूले राम्रो परिणाम ल्याउन नसकी आवेशमा आएर आत्महत्यासम्म गर्न पुगेको देखिन्छ। विद्यार्थीको पढ्ने बानी कम हुँदै र अन्य पक्षमा बढी ध्यान गएकोले महसुस धेरैबाट गरिएको छ। 

पढाइलाई राम्रोसँग सुचारु गर्न नसक्दा बीचमै पढाइ छोडने, घर छोडेर भाग्ने, कुलतमा फसेका उदाहरणहरू हाम्रा वरिपरि देख्न सकिन्छ। गाली गर्दा, डराउँदा, पिट्दा कतिपय विद्यार्थीमा नराम्रो असर पर्न गई त्यसले दुर्घटनासमेत निम्त्याउन सक्छ। विद्यार्थीलाई कतिसम्म सम्झाउने र त्यसको असर उनीहरूमाथि कस्तो भइरहेको छ भन्ने पनि शिक्षक अभिभावकले हेक्का राख्नुपर्ने देखिएको छ।