• १३ साउन २०८१, आइतबार

‘घरघरमा डाक्टर’ अभियान

blog

बर्दिबास समाचारदाता

बर्दिबास, भदौ २९ गते । बर्दिबासस्थित आँखा उपचार केन्द्रले ‘घरघरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ। ग्रामीण भेगका गरिब तथा विपन्नको आँखाको समस्या पहिचान र उपचार गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको केन्द्रले जनाएको छ। नेपाल नेत्र ज्योति सङ्घ, पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम तथा सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा अभियान सञ्चालन गरेको केन्द्रका प्रमुख रमेश साहले बताउनुभयो। 

अभियानअन्तर्गत बर्दिबासमा सञ्चालन गरिएको आँखा शिविरमा मोतीबिन्दुबाट पीडित १६० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ। साहका अनुसार शिविरमा ८२ जना पुरुष र ७८ जना महिलाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। मङ्गलबार सोनमा गाउँपालिकाका ३८ पुरुष र २६ महिला गरी ६४ जनाको शल्यक्रिया गरिएको छ। केन्द्रले भदौ २२ गतेदेखि सञ्चालन गरेको ‘घरघरमा डाक्टर’ अभियानअन्र्तगत गाउँ टोलका विपन्न बस्तीमै पुगेर स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए। सोनमा गाउँपालिकाको खेसराहा, गौशाला नगरपालिकाको कान्ति बजार र बेलगाछी तथा भङ्गाहा नगरपालिकाको बिर्ता र मेघरौलमा पहिचान गरिएको मोतीबिन्दुका बिरामीको ‘एसआईसीएस’ प्रविधिबाट बर्दिबासमा शल्यक्रिया गरिएको हो। 

परीक्षणका क्रममा पहिचान भएका मोतीबिन्दुका बिरामीलाई उपचार, औषधि, आवास र यातायात जस्ता सबै सुविधा आयोजक बर्दिबास आँखा उपचार केन्द्रले निःशुल्क उपलब्ध गराएको थियो। औषधि मात्र ३२ हजार मूल्य बराबरको वितरण गरिएको केन्द्रका स्वास्थ्य कार्यकर्ता श्यामकुमार यादवले बताउनुभयो। 

शिविरमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका सर्जनसहित आठ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको छ। आयोजक केन्द्रका प्रमुख साहकाअनुसार ‘घरघरमा डाक्टर’ अभियानलाई सघाउन जर्मनी संस्था सीबीएमले वित्तीय सहयोग उपलब्ध गराएको थियो। 

शल्यक्रियापछि मोतीबिन्दुका बिरामीले खुसी र राहत व्यक्त गरेका छन्। सोनमा–४, खेसराहका ७५ वर्षीय सुखा रायले उपचारअघिको धमिलो संसार अब उज्यालो र प्रष्ट भएको बताउनुभयो। उहाँको दुवै आँखामा मोतीबिन्दु भएकाले लामो समयदेख कष्टकर जीवन बिताउनुपरेको बताउनुभयो। सोही ठाउँकी ८० वर्षीया मलकाइन देवीले खर्च अभावले उपचार गर्न नपाउँदा देवीदेवता भाकेर बसेको सुनाउनुभयो। ‘डाक्टर नै भगवान् रहेछ’ उहाँले खुसी प्रकट गर्नुभयो ‘खर्च नलागे पनि छर्लङ्ग देख्ने बनाइदिनु भयो।’