• ११ असोज २०८१, शुक्रबार

प्रदेश १ मा डेङ्गुको प्रभाव बढ्दो

blog

रङ्गेली समाचारदाता

विराटनगर, भदौ २९ गते । प्रदेश १ मा ३२० जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार अहिलेसम्म पहाडका जिल्लामा यसको प्रभाव बढी देखिएको हो। तथ्याङ्कअनुसार सबैभन्दा बढी तेह्रथुम जिल्लामा ११० जना, सङ्खुवासभामा ६६ जनामा देखिएको छ। यसैगरी झापा र भोजपुरमा २४/२४ जना, मोरङमा १९ जना, ताप्लेजुङ १६, धनकुटा १८, पाँचथर र सोलु तीन/तीन जना, उदयपुर नौ जना र सुनसरीमा २८ जनामा डेङ्गु सङ्क्रमण भेटिएको छ। 

डेङ्गुको सङ्क्रमण तराई भन्दा पहाडमा धेरै फैलिएका कारण त्यसको नियन्त्रणका उपाय बारे छलफल भइरहेको छ। स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतका अनुसार यो नियन्त्रणका लागि लामखुट्टेबाट जोगिनुपर्ने हुन्छ। लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गरेका कारण सचेत हुनुपर्ने बताइएको छ। 

एडिज प्रजातिको लामखुट्टे डेङ्गुका लागि जोखिमपूर्ण मानिन्छ। गर्मी र वर्षाको समयमा यस्तो लामखुट्टे फैलिने भय धेरै हुन्छ। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट सुरक्षित हुनुपर्ने हुन्छ। एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ। कुवा, इनार, खाल्टाखुल्टीमा जम्मा भएको पानी, नालाको पानीमा यस्तो लामखुट्टे हुर्कने सक्छ। त्यसैले यस्तो पानी जम्ने स्थान भए पुर्नु पर्दछ। 

डेङ्गुको सङ्क्रमणबाट नागरिकलाई सुरक्षित गर्न विराटनगर महानगरपालिकाले विभिन्न चरणका छलफल गरेको छ। हाल महानगरमा सात जना बिरामीमा डेङ्गु देखिएको छ। केहीको उपचारपछि डिस्चार्ज भइसकेको महानगर सहरी स्वास्थ्य शाखाका प्रमुख डा. विशालकुमार देवले जानकारी दिनुभयो।